भ्रष्टाचारले थिचियो वीर अस्पताल, कार्यालय सहयोगीसमेत नाइके
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
817
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । देशकै पुरानो र ठूलो अस्पताल वीर अस्पताल भ्रष्टाचारी र मेडिकल माफिया कर्मचारीका कारण निकै नहुने गरी थला परेको छ । वर्षौँदेखि भ्रष्टाचारको चपेटामा परेको वीरका बारेमा भ्रष्टाचार विरुद्धमा काम गर्ने झण्डै डेढ दर्जन निकायलाई पनि थाहा छ ।
तर औपचारिकता पूरा गर्ने गरी छानबिन हुन्छ अनि काण्ड सेलाउँछ । एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड आइसकेको हुन्छ । प्रधानमन्त्री कार्यालयदेखि लिएर स्वास्थ्य मन्त्रालयसम्म र अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय सतर्कता केन्द्रसम्म सबैलाई थाहा छ ।
कोही किन कार्बाही गर्दैन भन्नेमा इमानदार कर्मचारीहरु अचम्ममा छन् । एक कर्मचारीले भने, 'हामीले धेरै पटक धेरैका बारेमा प्रमाणसहित सम्बन्धित निकायमा पुर्याउँछौँ । हामीलाई कारबाही होला तर भ्रष्ट र मेडिकल माफियालाई कारबाही भएन ।'
यही कारणले वीर अस्पताल खोक्रो हुँदै गएको छ । बिरामीले उपचार पाइरहेका छैनन् । सम्पत्तिका नाममा केही पनि नभएका निमुखालाई निःशुल्क उपचारसमेत हुँदैन ।
अरु त छाडौँ सरकारले नै ल्याएको स्वास्य बिमा कार्यक्रमबाटसमेत बिरामीले सुबिधा पाएका छैनन् । त्यहीँकै चिकित्सकले औषधि लेखिदिन्छन् तर त्यहीँ नै औषधि हुँदैन ।
सस्तो औषधिमात्र राखिन्छ । महँगो औषधि बाहिर पसलमा किन्नुस् है भनिन्छ । यसको जानकारी सबैलाई छ । कारबाही गरी व्यवस्थित बनाउने आँट कसैले गरेनन् ।
हाकिम राम्रो छ भनेर भट्टाउने र मन्त्रीसमेतलाई पनि सबै ठीक छ भनेर ब्रिफिङ गर्ने तर मन्त्री स्वयंले आफ्नो टोली खटाएर छड्के जाँच नगर्दा पीडा भोग्ने तिनै बिरामी हुन् ।
सिनियर चिकित्सक नहुनु अनि देशका कुनाकुनाका अस्पतालबाट सिफारिस गरेर पठाएका बिरामीलाई सिकारुले औषधि लेखेर पठाउँदा वीर आफै उपचार गर्ने अवस्थामा पुगेको निश्चित हो ।
कार्यालय सहयोगीसमेत नाइके
वीरका जुनसुकै डाक्टर वा कर्मचारीसँग कुरा गर्ने हो भने आफूमाथिका सबै भ्रष्ट भन्ने रोग छ । तलकाले काम गरेनन् माथिकाले खान छोडेनन् भन्ने रोग जुनसुकै विभागमा छ । आफूमात्र ठीक भएको अरु ठीक छैनन् भनेर नै पन्छिने गरेका छन् डाक्टर र कर्मचारीहरु ।
अचम्म लाग्ला भ्रष्टाचारी र मेडिकल माफियालाई माथिबाटैसमेत संरक्षण भएको दाबी कर्मचारीहरु नै गर्छन् । कसैको एक जना कार्यकर्तालाई जागिरमा लगाइदिने हो भने सबै संरक्षण । अनि उसैमार्फत भइरहेको हुन्छ मेडिकल माफियागिरी ।
यतिसम्मकी कार्यालय सहयोगीसमेत भ्रष्टाचार र मेडिकल माफियाको नाइके भइदिन्छ । कार्यालय सहयोगी आफैँमा केही होइन । तर उसलाई माथिबाट संरक्षण भएपछि उसले जस्तासुकै काम गर्न पछि पर्दैन ।
ती मध्येका एक हुन् कार्यालय सहयोगी नवराज धिताल । कार्यालय सहायक धिताल ५ वर्ष देखि मेडिकल स्टोरमा छन् । उनी राजनैतिक दलका संगठित सदस्य हुन् ।
नवराज धिताल
प्रतिष्ठान नियम, स्वास्थ्य सेवा ऐन नियम, अक्तियारको कानून, राजनैतिक दल सम्बन्धी कानून अनुसार उनी कर्मचारी बन्न योग्य छैनन् । अस्पताल निर्देशकले तत्काल बर्खास्त गर्नुपर्छ भनी अन्य कर्मचारीहरुले आवाज उठाएका पनि हुन् ।
तर उनलै वीर सहकारी सञ्चालन गरी अस्पतालका कर्मचारीको ३५ लाख भन्दा बढी रुपैयाँ अपचलन र ठगी गरेको पीडितहरु बताउँछन् ।
धितालले मेडिकल स्टोरमा बसेर अनियमितता गर्दै अकुत सम्पत्ति आर्जन गरेका हुन् । उनी अस्पतालमा उपकुलपति र निर्देशकलाई धम्काउँदै पैसा लिँदै कर्मचारी भर्नामा आफू निकटलाई जागिर खुवाउने गरेको कर्मचारीहरु बताउँछन् ।
मेडिकल स्टोरमा निःशुल्क आएको सामान बिल बनाई भुक्तानी गराइ कमिशन खाने गरेको आरोपसमेत उनीमाथि छ । स्टोरको मौज्दात खर्च बढी देखाई घोटाला गर्ने गरेकोसमेत गुनासो छ ।
केही समय अगाडि मेडिकल स्टोरमा आएको रु १० लाखको सर्जिकल ग्लब्स लाजिम्पाटका ब्यापारीले गाडिमा डाइभरसहित पठाएको र डाईभरले सामान खसाली सर्जिकल भवनको स्टोरमा धिताललाई जिम्मा दिएका थिए तर पछि समान नबुझेको भनी सो सामान गायब बनाएको एक कर्मचारीले बताए ।
उनले अस्पतालमा व्यापारीसँग र लेखाका कर्मचारीसँग मासिक कमिशन उठाउने गरेको अस्पतालमै व्याप्त छ । एक ब्यापारी भन्छन्, 'धितालको असुली धन्दा विगत ५-६ वर्षदेखि छ । उनको विषयमा अख्तियार, सर्तकता केन्द्र, स्वास्थ्य मन्त्रालय लगायतमा छानबिन र कारबाहीका लागि पटक पटक उजुरी परेको छ । हालसम्म कुनै कारबाही भएको छैन ।'
अर्का हुन् इलेक्टिसियन (लिफ्टम्यान) बैकुण्ठ लुइँटेल । उनी जनरल स्टोर प्रमुख हुन् । उनको सेवा प्रवेश गर्दाको शैक्षिक योग्यता र तालिम नभइ नक्कली रहेको अस्पताल प्रशासन स्रोत बताउँछ ।
छत्रे देउराली धादिङका लुइँटेलले मंगलोदय माध्यमिक विद्यालय थानकोटबाट २०४८ सालमा एसएलसी पास गरे । उनका काका बा जुँगे बा भन्ने वीर अस्पतालको निर्देशक कार्यालयमा सहयोगीको रुपमा काम गर्थे ।
बैकुण्ठ लुइँटेल
सोही समयमा लुइँटेलले २०५४ असार २६ मा वीर अस्पताल विकास समितिका निर्देशक डा. माधव दाहाललाई लिफ्ट असिस्टेन्टमा म्यादी नियुक्ति पाउँ भनी निवेदन दिए ।
सो निवेदन दर्ता नं ४५९५ मा दर्ता भई ज्यालादारीमा नियुक्ति भई काम गर्न थालेका हुन् । सो पदका लागि आवश्यक तालिमसमेत उनले लिएका थिएनन् । सोही पदमा उनले बिना तालिम र योग्यता २०६३ चैतसम्म वीर अस्पताल मर्मत सम्भार शाखामा रही काम गरे ।
२०६३ चैतमै वीर अस्पतालले स्थायी विज्ञापन खुलायो । उनले पदपूर्ति समितिलाई प्रभाव मा पारी बिना तालिम र योग्यता वीर अस्पतालको विविध सेवा, इलेक्ट्रिक मेकानिक्स, द्वितीय, प्राविधिक पदमा २०६४ चैतमा स्थायी नियुक्त भई मर्मत सम्भार शाखामा काम शुरू गरे ।
सो पदमा स्थायी हुन न्यूनतम शैक्षिक योग्यता भनेको एसईई (पहिलेको एसएलसी) पास र सम्बन्धित विषयमा कम्तीमा एक वर्ष नेपाल सरकारबाट मान्यताप्राप्त संस्थाबाट तालिम प्राप्त गरेको हुनुपथ्र्यो । तर उनीसँग त्यो तालिमप्राप्त योग्यता थिएन र पनि उनलाई स्थायी नियुक्ति दिइयो ।
उनले जनरल स्टोरमा करोडौँ अनियमित गरेको कर्मचारीहरु नै बताउँछन् । उनीविरुद्ध पनि उजुरी छन् । उनले वीर अस्पताल सहकारीको लाखौँ रुपैयाँ अनियमितता गरेको आरोप छ । अस्पताल जनरल स्टोरमा फर्निचर,सोफा, कुर्सी, सरसफाइ सामान, कागज, डटपेन, कार्पेट, पर्दा खरिदमा गुणस्तरहिन मगाएर करोडौँ कमिशन खाएको आरोप छ ।
लुइँटेलले अस्पतालमा कर्मचारी नियुक्तिमासमेत पैसा उठाउने गरेको पीडितहरुको भनाइ छ । एक कर्मचारीले अलि रिसाउँदै भने, 'जनरल स्टोरमा व्यापक छानबिन गर्न लगाउनुस् न उनको अनियमितता सबै देखिन्छ । उनको अकुत सम्पत् माथि छानबिन गरेमा सबै थाहा हुन्छ ।'
धिताल र लुइँटेलले अस्पताल क्यान्टिन (गुजेश्वरि होटल), गार्ड (के फोर्स) र सरसफाइको टेन्डर स्वीकृत गराउँदा झन्डै एक करोड ६५ लाख भन्दा बढी घुस लिएको अस्पतालमा ठूलै चर्चा छ ।
अस्पताल कर्मचारीदेखि दर्जनौँ व्यापारीले समेत यिनीहरुलाई कारबाहीको माग गरेका छन् । तर उनीहरुलाई नै छहारी दिएकाहरु कारबाहीका लागि तयार नभएको कर्मचारीहरुको आरोप छ ।
पछिल्लो समय यी दुईले गत फागुन ४ गतेदेखि रिक्त वीर अस्पतालको निर्देशकमा आफू निकटलाई ल्याउन शक्ति केन्र मा पैसा बुझाउन पर्छ भनी व्यापारीहरुसँग पैसा मागिएको एक व्यापारीले बताए ।
उनलाई नयाँ निर्देशक आएपछि ठेक्कापट्टाको काम दिउँला र पुराना व्यापारीलाई पुरानो भुक्तानी चाँडै गराइदिन्छु भन्दै रकम उठाइरहेको उनले बताए ।
इमानमा टिक्न नसकेका व्यापारीहरुलाई पनि समस्या छ । एकले बताए, 'नदिउँ काम नदेलान् भन्ने चिन्ता अनि पुरानो भुक्तानी नहोला के गर्ने दिनै पर्यो ।'
स्रोतका अनुसार यी दुईमाथि कोरोनाकालदेखि नै अक्सिजन खरिद, क्यारेन्टाइन होटल बास खर्च, उपकरण खरिद, कर्मचारी भर्नामा असुली धन्दा, मेडिसिन खरिदमा अनियमितता, दलको सदस्य रहेको, सहकारी ठगी, स्टोरमा अनियमितता लगायतका विषयमा छानबिन समिति बनाएर अस्पतालसँग कागजात मागी सतर्कता केन्द्रले छानबिन गरिरहेको छ ।