arrow

तीतो बहस

जेलेन्स्कीमाथि ट्रम्पको हप्कीदप्की, जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको ट्रम्पको आरोप

अमेरिकाकै बलमा रुससँग लडेको युक्रेनलाई ट्रम्पको अचानकको आक्रोशले अन्योलमा युक्रेनको शान्ति प्रक्रिया, टेलिभिजनमा प्रत्यक्ष प्रशारण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १७ शनिबार
trump-zelensky-2025.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभल अफिसमा कसैले पनि अपेक्षा नगरेको घटना भएको छ । शान्ति सम्झौताको बारेमा भइरहेको वार्ता अचानक वाकयुद्धमा परिणत भयो ।

ट्रम्प र जेलेन्स्की एकअर्कासँग बहस गर्दै र एकअर्कालाई दोषारोपण गर्दै गरेको देखियो । परिस्थिति यस्तो बिन्दुमा पुग्यो कि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न र सम्झौता तयार भएपछि मात्र वार्तामा आउन भने । 

यो सम्पूर्ण घटनाका कारण युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुन सकेन र युक्रेन अमेरिकाबाट खाली हात फर्कनु पर्यो । यद्यपि सामाजिक सञ्जाल एक्समा उनले ट्रम्पलाई उनको समर्थनको लागि धन्यवाद दिए र भने, ‘युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति चाहिन्छ।’

युक्रेन–अमेरिका वार्ता असफल भएपछि, युक्रेनी राष्ट्रपतिले फक्स न्यूजलाई एक विशेष अन्तर्वार्ता दिए । यसमा उनले विवादको लागि माफी मागेनन् तर उनले यो प्रकरणलाई दुवै पक्षको लागि राम्रो ठानेनन् । 

यद्यपि जेलेन्स्कीले यदि अमेरिकाले आफ्नो हात फिर्ता लियो भने आफूहरुलाई युक्रेनलाई रूसबाट जोगाउन गाह्रो हुने बताए । उनले सम्पूर्ण घटना टेलिभिजनमा देखाइएकोमा दुःख व्यक्त गरे ।  उनले भने, ‘म विनम्र हुन चाहन्छु । म राष्ट्रपतिलाई सम्मान गर्छु । म अमेरिकी जनताको सम्मान गर्छु ।’

ओभल अफिसमा भएको बैठकमा जेलेन्स्कीमाथि ट्रम्पले आक्रोश पोखेका थिए । उनले जेलेन्स्कीलाई लाखौँ मानिसको जीवनसँग खेलेको भन्दै आलोचना गरे । ट्रम्पले जेलेन्स्कीको कार्यले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्नेसमेत बताए । यसपछि जेलेन्स्की अचानक अमेरिकासँगको महत्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर नगरी ह्वाइट हाउसबाट निस्किए । ट्रम्पले युक्रेनलाई भविष्यमा सहयोग गर्न यो एक शर्त भएको भन्दै सम्झौताको खोजी गरेका थिए ।

ट्रम्प, जेलेन्स्की र प्रतिनिधिमण्डलले दिउँसो लन्च गर्नेसमेत बताइएको थियो । यो व्यवस्था क्याबिनेट कोठा बाहिर गरिएको थियो तर तनावपूर्ण बहसपछि स्थगित भएको थियो ।

ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र जेलेन्स्कीले लगभग ४५ मिनेट वार्ता गरे । जसमध्ये अन्तिम १० मिनेट तीन जनाबीच चर्को बहस भएको थियो । आफ्नो पक्ष प्रस्तुत गर्दै जेलेन्स्कीले रुसको कूटनीति प्रतिको प्रतिबद्धतामाथि शंका व्यक्त गरेका थिए । यसका लागि मस्कोले तोडेका प्रतिबद्धताहरूलाई उनले उद्धृत गरेका थिए ।

यो तनावपूर्ण अवस्था उपराष्ट्रपति भान्सले जेलेन्स्कीलाई यसो भनेपछि शुरु भएको थियो, ‘मलाई लाग्छ कि तपाईं ओभल अफिसमा आएर अमेरिकी मिडियाको अगाडि यो मुद्दा चलाउन खोज्नु अपमानजनक छ । म यो कुरा पूर्ण सम्मानका साथ भन्दैछु ।’

जेलेन्स्कीले आपत्ति जनाउन खोजे, जसको जवाफमा ट्रम्पले ठूलो स्वरमा भने, ‘तिमी लाखौँ मानिसहरूको जीवनसँग खेलिरहेका छौ । तिमी तेस्रो विश्वयुद्धको निम्तो दिइरहेका छौ र जे गरिरहेका छौ, त्यो देशप्रति अत्यन्तै अनादरपूर्ण छ ।’

बैठकको शुरुमा ट्रम्पले अमेरिकाले युक्रेनलाई सैन्य सहयोग प्रदान गरिरहने तर धेरै सहयोग प्रदान नगरिने बताएका थिए । 

यो सबै घटनाक्रमपछि जेलेन्स्कीको अमेरिका भ्रमण कुनै सम्झौता बिना सकिएको छ ।  यसअघि हुने भनिएको खनिज सम्झौतासमेत हुन सकेन । जेलेन्स्कीले पुटिनले सधै सहमतिको उल्लंघन गरेको र युद्ध पनि उनैले शुरु गरेको हुनाले सुरक्षा ग्यारेन्टी बिना कुनै सहमति नगर्ने अडान लिएको देखिएको छ । 

राष्ट्रपति ट्रम्प र उनको प्रशासनले भने जेलेन्स्कीमाथि दबाब बढाएर खनिज सम्झौता गर्ने र पुटिनलाई खुशी नै राखेर युद्धविराम गराउने रणनीति बनाएको बुझेपछि जेलेन्स्की झस्किएको मिडिया रिपोर्टमा उल्लेख छ । 

उक्त वार्ताको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । जसप्रति जेलेन्स्कीले असन्तुष्टि जनाएका थिए । तर विश्वले भने ट्रम्पको योजना स्पष्ट बुझ्ने मौका पाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ