arrow

यमनमा शान्तिवार्ताकै बीच हिंसा भड्कियो सेना र विद्रोहीगरी ६८ को मृत्यु

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
tempur20dis.transformed.jpg.jpeg
आदेन । यमनमा हालैमात्र सुरु भएको युद्धविराम र त्यसपछिका सरकार र विद्रोहीबीचको वार्ताका कारण शान्तिको आशा पलाएको बताइरहेका बेला शनिबार अकस्मात हिंसा भड्किएको समाचार छ । शनिबार राति भएका सरकारी सेना र हुथी विद्रोहीबीचको झड्पमा परी कम्तीमा पनि ६८ जनाको ज्यान गएको छ । 
 
सरकारी र हुथी विद्रोहीका प्रतिनिधिबीच स्वीट्जरल्याण्डमा जारी वार्ता हिंसाका कारण अवरुद्ध हुने त्रास नागरिकमा बढेको छ । सो हिंसामा परी २८ जना सैनिक मारिएका छन् । बाँकी मारिनेमा हुथी विद्रोहीहरु परेका छन् । युद्धविराम सुरु भएको हप्तादिन पुगेको छ । तर अहिले नै यसको उल्लङ्घन भएको छ । 
 
जारी युद्धविरामको उल्लङ्घनमा एकले अर्काेलाई दोषारोपण गरेका छन् । शनिबार भएको सो भिडन्तमा पनि एकले अर्काेलाई पहिला आक्रमण गरेको बताएका छन् । यसैहप्ता सुरु भएको दुवै तर्फको युद्धविराम प्रभावकारी भएको समाचारमा जनाइएको थियो । सो युद्धविराम सात दिनको लागि भनिएको थियो र त्यसबीचमा जारी शान्तिवार्ताका क्रममा सहमतिका आशाहरु पनि उब्जिएका सरकारी अधिकारीहरुले नै जनाएका थिए । साउदी अरेबियाको समर्थन रहेको यमनी सरकार र सिया हुथी समूहबीच देशको युद्धग्रस्त प्रान्तहरुमा सो युद्धविराम उल्लङ्घन भएको सरकारी अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । 
 
जारी शान्तिवार्ता संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको हो । यमनका हुथी विद्रोहीहरु शान्तिवार्तामा इमान्दार देखिएको अधिकारीहरुको भनाई थियो । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि स्माइल ओल्ड चेख अहमदले सो युद्धविरामको उल्लंघनले आफुलाई स्तब्ध बनाएको बताउनुभएको छ । उहाँले भन्नुभयो– शान्ति प्रक्रिया नियमित र आशालाग्दो रुपमा अघि बढिरहेको बेला यसरी हिंसा फैलिनु कसैको पक्षमा पनि नरहेको बताउनुभयो । 
 
वार्ताको सफलताका लागि यो हप्तायतामात्र धेरै नै काम भएका थिए । त्यहाँका विद्रोही र सरकारी वार्ताटोलीबीच भएको सहमति बमोजिम गएको बिहीबार उनीहरुले एक आपसका बन्दीहरु पनि रिहा गरिसकेका छन् । विद्रोहीले आफ्ना बन्दी रिहा गरिनुपर्ने माग गरेपछि सरकारले पनि त्यसमा समर्थन जनाएको थियो । सरकारका पनि केही समर्थकलाई उनीहरुले बन्दी बनाएकोमा तिनीहरुलाई विद्रोहीले पनि रिहा गरिदिएका छन् । 
 
सरकारतर्फका वार्ता टोलीका सदस्यले हालैमात्र स्वीट्जरल्याण्डमा बोल्दै यस पटक यमनमा विद्रोहीहरु युद्धविरामप्रति इमान्दार हुने अपेक्षा गरेको जनाएका थिए । हुथी विद्रोहीहरुको विद्रोहको रुप बढ्दै गएपछि राष्ट्रपति अबेद रब्बोले नै वार्ताको पहल गर्नुभएको थियो । उहाँले युद्धविरामपछि गरिने वार्ताका लागि वार्ता समिति पनि गठन गरिसक्नु भएको छ । यमनमा मार्चदेखि हालसम्म भएका हिंसाहरुमा पाँच हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । 
 
सो सङ्ख्यामा आधा भन्दा बढी सर्वसाधारण रहेका बताइएको छ । हुथी विद्रोहीहरुले त्यहाँका प्रहरी एवम् सेनालाई लक्ष्य गरेको बताएको भएपनि यसमा परी सर्वसाधारण पनि मारिएका छन् । युद्धविराम उल्लङ्घनको अनुगमन गर्न दुवै पक्ष सहमत यसैबीच स्वीट्जरल्याण्डमा जारी रहेको वार्ता पनि असफल हुने आशङ्काका बीच विद्रोही पक्ष सो युद्धविराम उल्लङ्घनको अनुगमन गर्न सहमत भएको छ । 
 
वार्तामा सहभागी सरकारी र विद्रोही पक्षबीच यस्तो सहमति भएको हो । उनीहरु शनिबार रातिको युद्धविराम उल्लङ्घनका कारणले शान्ति वार्तालाई अहिले नै अन्त्य गर्ने नभई त्यसको अनुगमन गरिने बताएका हुन् । यसका लागि सरकारी र विद्रोही दुवै पक्षबाट सैनिकहरु सम्मिलित एक अनुगमन समिति गठन गरी त्यसको छानबीन पनि गर्ने भएको बताइएको छ । 
 
स्वीट्जरल्याण्डको उत्तरपश्चिमी सहर बेलमा जारी रहेको वार्ता आइतबार पाँचौ दिन अघि बढाउने कि नबढाउने भन्ने बारेमा दुविधा भएको बताइएको छ । दुवै तर्फका वार्ता टोलीका सदस्यले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी मध्यस्थकर्ता समूहका साथै सो युद्धविराम अनुगमन समूहको पनि घोषणा गरिने जानकारी सरकारी वार्ताटोलीका एकजना सदस्यले जनाएका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ