arrow

अब अस्पतालको स्वीकृती लिएर पनि निजी क्लिनिकमा काम गर्न नपार्इने

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
doctor.gif.gif
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई अस्पतालको स्वीकती लिएर पनि निजी अस्पतालमा काम गर्न रोक लगाइने भएको छ । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निजी क्लिनिकमा केन्द्रित हुदाँ अस्पताल नै अस्तव्यस्त बनेपछि अस्पताल सुधार्ने अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरुप अस्पतालमा यो व्यवस्था लागू गर्न लागिएको हो । 
 
अस्पताल सञ्चालक समितिले छिट्टै निर्णय गरेर यो व्यवस्था लागू गर्ने सञ्चालक समितिका अध्यक्ष डा प्रकाश न्यौपानेले बताए। मन्त्रिपरिषद्ले हिजो मात्रै रिक्त छ जना सदस्य मनोनयन गरेपछि क्यान्सर अस्पतालको सञ्चालक समितिले पूर्णता पाएको छ ।
 
क्यान्सर अस्पतालका चिकित्सकले निजी अस्पतालमा काम गर्दा अस्पतालको सेवा खस्किएको आरोप लाग्ने गरेको छ । यसअघि अस्पतालको अनुमति लिएर काम गर्न पाउने व्यवस्था गरिएको थियो । मानवीय जनशक्तिको कारण सेवा प्रभावित भएको भन्दै अनुमति लिएकाको पनि तुरुन्त खारेज गर्न मन्त्रालयले निर्देशन दिएको छ । 
 
निजी क्लिनिकमा जान रोक लगाएसँगै अस्पतालको विस्तारित सेवा (इएचएस) लागू गर्ने तयारी भएको छ । क्यान्सर अस्पतालको २०५५ सालमा बनेको नियमावलीले निजी क्लिनिकमा काम गर्न बन्देज लगाएको भए पनि २०६१ सालमा सञ्चालक समितिले समितिको स्वीकृति लिएर निजी क्लिनिकमा काम गर्नसक्ने निर्णय गरेको थियो । 
 
मन्त्रालयले त्यो निर्णयलाई बदर गर्दै स्वीकृति नदिन सञ्चालक समितिलाई निर्देशन दिएको अध्यक्ष न्यौपानेले बताए । मन्त्रालयको निर्देशनको पालना गर्दै निजी क्लिनिकमा काम गर्न दिएको अनुमति खारेज गरेर यो व्यवस्थाको अन्त्य गर्ने अध्यक्ष न्यौपानेले बताए । 
 
कार्यालय समयभन्दा बाहेक स्वीकृति लिएर अन्य अस्पतालमा सेवा दिन जाने चिकित्सकले अस्पतालले दिने गरेको प्रोत्साहन भत्ता आधा मात्रै कटौती हुन्छ । 
 
एकजना वरिष्ठ चिकित्सकले १९/२० हजार रूपैयाँसम्म प्रोत्साहन भत्ता पाउँछन् । बाहिर गएर काम गर्दा त्योभन्दा कयौँ गुणा बढी कमाइ हुने भएपछि आधा प्रोत्साहन भत्ता छोडेर निजी क्लिनिकमा काम गर्न थालेका हुन । अस्पतालको नाम देखाएर बिरामी निजी क्लिनिकमा तान्ने गरेको आरोपसमेत क्यान्सर अस्पतालका चिकित्सकमाथि लाग्ने गरेको छ । 
 
क्यान्सर अस्पतालकै चिकित्सकको लगानीमा भरतपुरको चौबिस कोठीमा र अस्पताल अगाडि ठूला साना अस्पताल, पोलिक्लिनिक, प्याथोलोजीलगायतका सञ्चालनमा आइरहेका छन् । अस्पताल समयमा समेत क्यान्सर अस्पतालका चिकित्सक लुकिछिपी निजी अस्पताल जाने गरेपछि स्थानीय प्रशासनले निगरानी राख्दै आएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ