पाँचथर । पाँचथरको फिदिम नगरपालिका ८ चोकमागुकी २१ वर्षिया आशा तुम्बापोको उपचारको लागि तुम्बापो सेवा समाज दक्षिण कोरियाले २९ लाख २५ हजार बोन अर्थात् २ लाख ७७ हजार २ सय नेपाली रुपैंयाँ सहयोग गरेको छ ।
आशाको ठूलो आन्द्रामा ट्युमर पलाई आन्द्रा कुहिएर छिनेको अवस्थामा झापाको ओमसाई अस्पताल भद्रपुरमा आकस्मिक अप्रेशन भई अहिले थप उपचार भइरहेको छ । आशाको उपचारमा हालसम्म ३ लाख खर्च भइसकेको र अझै ५ देखि ६ लाखसम्म खर्च हुने डाक्टरको भनाई रहेको आशाका बाबु देशहाङ तुम्बापोले बताए ।
आशाको जीवन बचाउन दक्षिण कोरियामा रहेका नेपाली दाजुभाई तथा दिदीबहीनिहरुबाट सहयोग रकम संकलन गरी पठाइएको तुम्बापो सेवा समाज दक्षिण कोरियाका प्रतिनिधि अर्जुन तुम्बापोले बताए ।
कमजोर आर्थिक अवस्था भएको आशाको परिवारलाई थप सहयोग गर्न आफूहरु पनि लागिरहेको तुम्बापो सेवा समाजका केन्द्रीय सदस्य सुबास तुम्बापोले जानकारी दिए । उनका अनुसार आशाको उपचारको लागि विभिन्न स्थानबाट सहयोग रकम प्राप्त हुने क्रम जारी छ ।