ममाथि लागेको आरोपको अनुसन्धान होस् - प्रा.डा. सङ्ग्रौला [भिडियो]
यौन दुर्व्यवहारको आरोपको अनुसन्धान गर्न जाँचबुझ समिति गठन
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
774
Shares
काठमाडौँ । प्राध्यापक डाक्टर युवराज सङ्ग्रौलाले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न माग गरेका छन् । आइतबार काठमाडौं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उनले आफूलाई लागेको यौन दुर्व्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको बताए ।
उनले कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्तरुपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाएकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले यदि साँच्चिकै पीडित हो भने सामाजिक सञ्जालमा लेख्नुभन्दा अनुसन्धान गर्ने राज्यको निकायमा जानुपर्ने बताए । कसैले सञ्जालमा लेखेको विषयलाई मिडियाले ट्रायल गर्ने हो भने राम्रा मान्छेहरू पीडित हुने उनको भनाइ छ ।
उनले भने, ‘मेरो ३७ वर्षको इन्टिग्रेटीमा राज्यको कुनै अनुसन्धान निकायले त्यस्तो सूचना प्राप्त गर्छ र अनुसन्धान गर्छ भने मलाई हत्गडी लगाएर लैजान सक्छ । तर कुनै एउटा व्यक्तिले सामाजिक सञ्जालमा आफू कुन अवस्थामा छ भन्ने पनि राम्रोसँग नबुझी सामाजिक सञ्जालमा आएर गाली व्यज्यति गर्छ, आमाचकारी बोली बोल्छ, म तँलाई मार्छु, तेरो छोरी मार्छु भन्छ र उ आफै के भन्छ भने म पीडित होइन अरूको पीडाको लागि बोलेको छु । यो देशमा खुल्ला र स्वतन्त्र न्यायपालिका छ, अनुसन्धान गर्ने प्रहरी प्रशासन छ जसमाथि मेरो विश्वास छ । अनुसन्धान गर्ने महान्यायाधिवक्ता कार्यालय छ त्यसमाथि पनि मेरो विश्वास छ । त्यहाँ जाँदैन तर अमुक व्यक्तिको नाम लिएर त बलात्कारी होस् भन्छ । आरोप के भने क्लासमा पढाउँदा तैँले महिलाको शरीरका बारेमा कुरा गर्छस्, एलजिबिटिक्यूआइको विरोध गरिस् भन्ने आरोप लगाउँछ । र यस्तै एउटा अमुक व्यक्तिले सामाजिक सञ्जालमा राखेको कुरालाई स्रोत मानेर यदि देशमा बहस हुन थाल्यो भने सञ्चारका साधनहरूमा बहस हुन थाल्यो भने र मिडिया ट्रायल हुन थाल्यो भने युवराज सङ्ग्रौला मात्रै समाप्त हुँदैन, तर नराम्राहरूको त उन्नति हुँदै जाला तर राम्राहरू जति सिद्धिन्छन् ।’
प्रा.डा. युवराज सङ्ग्रौलामाथि लगाएको यौन दुर्व्यवहारको आरोपको अनुसन्धान गर्न काठमाडौं स्कुल अफ लको व्यवस्थापनले डा. श्रीकृष्ण भट्टराईको संयोजनमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामीसहितको जाँचबुझ समिति गठन गरेको छ ।