जलवायु परिवर्तनमा नेपाललाई सघाउन मल्दोभालाई आग्रह, विदेशमन्त्री पोपसोई नेपाल आउँदै
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ५ मंगलबार
652
Shares
काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोईसँग आज नयाँदिल्लीमा भेटवार्ता गरेकी छिन् । भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज सो भेटवार्ता भएको हो ।
सो भेटका क्रममा नेपाल–मल्दोभा सम्बन्ध र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा राणाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै यस समस्यासँग जुध्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गरेकी थिइन् ।
त्यस अवसरमा मन्त्री डा राणाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपालले तयारी गरिरहेको र त्यसपछि नेपाललाई आवश्यक पर्ने सहायताका बारेमा पनि जानकारी दिएकी थिइन् ।
साथै उनले नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्य लगायतमा दिएको उम्मेदवारीका बारेमा जानकारी दिँदै त्यसमा मल्दोभाको सहयोगका लागि आग्रह पनि गरेकी थिइन् ।
मन्त्री डा राणाले यसै हप्ता हुन लागेको विदेशमन्त्री मिहाइ पोपसोईको नेपाल भ्रमणबाट पनि दुई देशबीचको सम्बन्धलाई थप गतिशील बनाउन सहयोग पुग्ने धारणा राखेकी थिइन् ।