arrow

सडक भत्काउने शंकर ग्रुपको हिल्टन होटललाई दोहोरो कारबाही गरिने

यस्तै घटनामा रोटरी क्लबलाई ४ वर्ष अघि पनि गरिएको थियो जरिवाना

logo
सुदर्शन अर्याल/ गाेविन्द अधिकारी,
प्रकाशित २०७३ पुष २४ आइतबार
Hilton-Hotel.jpeg
काठमाडौं । शंकर ग्रुप तथा प्रसिद्ध अन्तराष्ट्रिय पाँचतारे होटल हिल्टनको समेतको सहयोगमा काठमाडौंको नक्सालमा निर्माणाधीन सडक आईतबार विहान भासिए पछि स्थानीयहरु आक्रोसित बनेका छन् । मूलबाटोको आधा भन्दा बढी भाग भत्किएकोले अझै पनि त्यस सडकमा सवारी सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । हिल्टनको निर्माणाधीन स्थलको पूर्वी किनारामा भासिएको सडकका कारण अहिलेसम्म नक्साल भगवती बहालदेखि टेलिकम चोकसम्मको सडक अवरूद्ध भएको हो । 
 
कुनै पनि भवन निर्माण गर्नुपूर्व निर्माण कम्पनीले स्थानीय निकायसँग अनुमति लिनुपर्ने हुन्छ । यो होटलको हकमा पनि नक्सापास गरेर काठमाडौं महानगरपालिकासँग पूरा स्वीकृति लिएपछि मात्रै घरको जग हाल्ने काम सुरू गर्न सकिन्छ । यसरी महानगरपालिकाले स्वीकृति दिँदा त्यसको कति क्षेत्रसम्म मात्रै खन्न दिने ? त्यसको वरिपरी रिटेनिङ वाल राख्नु पर्ने नपर्न ? त्यसले आसपासका भवनहरुलाई कत्तिको असर गर्न सक्छ ? लगायत सबै शर्त तथा बन्देजहरु पूरा गरेर मात्रै महानगरपालिकाले भवन निर्माणको अनुमति दिने गरेको छ । यसलाई समयसमयमा अनुगमन तथा निरीक्षण गर्ने काम पनि महानगरपालिका कै कार्यक्षेत्रभित्र पर्दछ । 
 
तर सडक छेउमा रहेको यति थोरै क्षेत्रफलमा बनाउन लागिएको होटललाई जमिनमुनी  ३ तल्लासम्म खन्न दिनुमा महानगरको समेत गल्ती रहेको जानकारहरु बताउँछन् । सडक विभागका उपमहानिर्देशक दयाकान्त झाले सडकसँग जोडिएको र यत्ति थोरै क्षेत्रफलमा बन्न लागेको भवनलाई जमिनमुनी ३ तल्लासम्म खन्ने अधिकार महानगरपालिकाले कसरी दियो ? भनेर प्रतिप्रश्न गरे । 
 
यस्तो घटनामा अन्य जरिवानाको व्यवस्था नभएको भएपनि भत्किएको सडक भने भत्काउनेले नै बनाईदिनुपर्ने झाको भनाई थियो । करिब ४ वर्ष अघि काठमाडौंको थापाथलीमा रोटरी क्लबले निर्माण गरेको भवनका कारण सडक भत्किँदा पनि क्लवलाई सडक निर्माणको लागि लाग्ने सम्पूर्ण खर्च तिराईएको थियो । अहिले पनि निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालयले कारबाही गर्ने झाले जानकारी दिए । 
 
कसरी दिईयो ३ तल्ला सम्म खन्ने अनुमति ?
नक्साल भगवतीबहालमा करिब ५ रोपनी क्षेत्रफल ओगट्ने गरी १ सय ६० बेड क्षमताको होटल निमार्ण गर्न लागेको उक्त समूहलार्इ मूल सडकको छेउमा कसरी यत्ति धेरै गहिरो खन्ने ठाउँ दिईयो त ? काठमाडौं महानगरपालिका नक्सा विभागका प्रमुख राम थापा यसमा महानगरपालिकाको केही दोष नरहेको बताउँछन् । उनी नक्सा पास गर्ने बेलामा होटलले सबै शर्त तथा बन्देजहरु पूरा गरेको भन्दै काम गर्ने क्रममा इन्जिनियर तथा सब इन्जिनियरहरुको लापरबाहीले यस्तो भएको हुन सक्ने दाबी गर्दछन् । 
 
कम्पनीलाई दोहोरो कारबाही
महानगरपालिकाले सडक भत्किएको विषयमा कम्पनिीलाई दोहोरो कारबाही गर्ने जनाएको छ । विभागप्रमुख थापाले निर्माण कम्पनीलाई सडक बनाउन र वरिपरीका स्थानीयको घरमा समेत पुगेको क्षतिको आधारमा आवश्यक क्षतिपूर्ति भराईने आश्वासन दिए । ‘काम गर्दा गर्दै इन्जिनियरहरुको गल्तिका कारण यस्तो भएको देखिन्छ ।’ उनले हाम्राकुरासँग भने ‘तर पनि हामी सडम बनाउनेको अलावा पनि कम्पनीलाई कारबाही गर्नेछौं ।’ उनले यस विषयमा थप अध्ययन गरेर शर्त बमोजिम काम नगरेको भेटिए थप कारबाही गर्ने जानकारी पनि दिए ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ