काठमाडौं । सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पदमुक्त गर्न आदेश दिएको छ । उनको योग्यताको विषयमा प्रश्न उठाउँदै उनी विरूद्ध परेको रिटमाथि भएको लामो बहस पछि आईतबार सर्वाेच्चले प्रमुख आयुक्त कार्कीको नियुक्ति बदर गर्ने फैसला सुनाएको होे । कार्की अख्तियारको प्रमुख हुन अयोग्य भएको अदालतको ठहर छ ।
अदालतको यो फैसलासँगै लोकमान सिंह कार्कीको विपक्षमा वकालत गर्दै आएकाहरुले सन्तुष्टिको सास फेरेका छन् । तर, धेरैमा यो पनि चासोको विषय बनेको छ कि सर्वाेच्चको यो फैसला नै अन्तिम फैसला हो, या त लोकमानले फेरि यो फैसला विरूद्ध पुनरावेदन गर्न सक्छन् ? यदी लोकमान सिंह कार्कीले पुनरावेदन गर्न पाउने हो भने उनी अहिले तत्कालै पदमुक्त हुनु नपर्ने अवस्था पनि आउन सक्छ भन्ने धेरैको बुझाई रहेको छ ।
तर, सर्वाेच्चले भने अब यो फैसलाको विषयमा पुनरावेदन नलाग्ने स्पष्ट पारेको छ । सर्वाेच्च अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले यो फैसला पुनरावेदन गरेको मुद्दाबाटै गरिएको भन्दै अब यो फैसलाको विरुद्ध अर्काे पुनरावेदन गर्नसक्ने कुनैपनि कानूनी आधार नरहेको स्पष्ट पारे । आईतबार हाम्राकुरासँग कुरागर्दै पौडेलले भने ‘यो पुनरावेदनकै फैसला भएकोले यसमा अब अर्काे पुनरावेदन दर्ता हुन सक्दैन ।’
सर्वाेच्चले दिएको जानकारी अनुसार अब लोकमान सिंह कार्की कुनैपनि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा रहन सक्दैनन् ।
कार्कीको योग्यता माथि प्रश्न उठाउँदै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वाेच्चमा रिट दायर गरेका थिए । अर्यालले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको थियो । पछि प्रधानन्यायाधीश सुशीला कार्कीसहितको बेन्चले निर्णय उल्ट्याउँदै पुनरावलोकनको आदेश दिएपछि कार्कीविरुद्ध मुद्दा चलेको थियो ।