arrow

उपत्यका सडक विस्तारको विरोध, पीडितलाई क्षतिपूर्तिको माग

logo
प्रकाशित २०७३ पुष २५ सोमबार
news--birodh.jpeg

काठमाडौँ  । काठमाडौँ उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समितिले उपत्यकामा सडक विस्तारका क्रममा पीडित नागरिकलाई उचित क्षतिपूर्तिको माग गर्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ ।

उपत्यकाका २६ स्थानका पीडित समूहले सो स्थानमा भेला भई संयुक्त रुपमा सार्वजनिक हितका लागि व्यक्तिको सम्पत्ति कानुनले निर्धारण गरेअनुसार उचित क्षतिपूर्ति र न्यायिक मुआब्जाको माग गरेका हुन् । जग्गा प्राप्ति तथा पुनर्वास नीति २०७१ लागू गर्न र संविधानप्रदत्त बसोबास गर्ने स्वतन्त्रता र आवासको हकको संरक्षण गर्न पीडितले सरकारलाई आग्रह गरेका छन् ।

विरोध प्रदर्शनमा सहभागीले अदालतको आदेश पालन गर्नुपर्ने, आवास अधिकारको प्रत्याभूत गर्नुपर्नेलगायत लेखिएका तुल बोकेका थिए । समितिका संयोजक सुमन सायमीले पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीलाई सडक सुधार तथा विस्तार गर्ने नाममा विस्थापित गर्न नहुने र त्यसको विकल्प खोज्नुपर्ने बताए । देशमा पूर्वाधार तथा विकास निर्माण गर्ने क्रममा सम्बन्धित नागरिकले भोगचलन गरिरहेको अचल सम्पत्ति (जग्गा जमिन) अधिग्रहण गर्दा समयसापेक्ष मुआब्जा दिनुपर्नेमा जोड दिए  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ