arrow

हाकिम सरुवा भइरहने निगम कार्यालयको कामकाज ध्वस्त

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
news-oil-nn.jpeg

सप्तरी  । पूर्वाञ्चलको १२ जिल्लामा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने जिम्मेवारी पाएको आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुखको पटक–पटक सरुवा हुँदा त्यहाँ कामकाज प्रभावित हुने गरेको छ ।

विगत एक दशकदेखि एक वर्ष बित्न नपाउँदै अधिकांश कार्यालय प्रमुखको सरुवा हुँदै आएको छ । यसरी तोकिएको समयभन्दा अघिनै कार्यालय प्रमुखको सरुवा हुँदा कामकाज प्रभावित हुने गरेको कर्मचारी तथा पेट्रोेलियम व्यवसायीको गुनासो छ ।

दैनिक तीन लाख लिटर पेट्रोल तथा सात लाख लिटर डिजेल बिक्री वितरण गर्ने सो कार्यालयमा एक दशकमा आधा दर्जन बढी प्रमुखको सरुवा भइसकेको छ । कार्यालयका अनुसार अहिलेसम्म दुई वर्ष नपुग्दै जगन्नाथ घिमिरे, भुवन रेग्मी, वीरेन्द्र गोइत, पुष्कर दत्त, सीताराम पोखरेललगायत प्रमुखको तोकिएको समयभन्दा अगाडि नै सरुवा भएको छ ।

सरकार परिवर्तनसँगै कार्यालय प्रमुखको सरुवा गर्ने प्रचलनका कारण आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयको व्यवस्थापन चुस्त दुरुस्त हुन नसकेको लहानका पम्प व्यवसायी रामचरित्र भगतले बताए ।

प्रमुखको सरुवा मात्र हुने तर कार्यालय सहायकको सरुवा नहुने तथा वर्षौंदेखि एकैठाउँ बस्ने परिपाटीले विभिन्न प्रशासनिक तथा प्राविधिक समस्या हुने गरेको ट्याङ्कर ढुवानी सङ्घका पदाधिकारीसमेत बताउँछन् ।

हाल त्यहाँ कार्यालय परिसरमा एक करोड ६० लाखको लागतमा ट्याङ्कर पार्किङ, शौचालय, चालक विश्रामस्थल, पेट्रोलियम पदार्थ भण्डारण तथा वितरण गर्ने स्थलमा पक्की नाला र ग्राभेल गर्ने कार्य भइरहेको छ । आयल निगमको विनियममा सरुवा भएर गएका प्रमुखलाई दुई वर्ष बस्नुपर्ने प्रावधान छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ