arrow

रोकिएन सहकारीको ठगी

सनराइज बहुउद्देश्यीय सहकारीमा ताला, अध्यक्ष र कोषाध्यक्ष सम्पर्कविहीन, बचतकर्ता बिचल्लीमा

तीनै तहका सरकार सहकारीको नियमन र कारबाही प्रक्रियामा जिम्मेवार भएर जवाफदेही हुनुपर्ने

logo
नारायण वली,
प्रकाशित २०८२ वैशाख ३ बुधबार
sunrise sahakari-3.jpg

लुम्बिनी । ०७८ सालमा लुम्बिनी प्रदेशमा दर्ता भएको बुटवलस्थित सनराइज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष आकाश भट्टराई र कोषाध्यक्ष वसन्त भट्टराई सम्पर्कविहीन भएपछि चैत ३१ गतेदेखि सहकारीमा एक सूचना टाँस गर्दै बन्द भएको छ ।

सहकारी दर्ता भएपछि ०७९ सालमा साधारण सभा गरेको पाइएको छ भने त्यसयता सम्बन्धित निकायमा सम्पर्कमा नआएर बजारबाट चार वर्षदेखि निरन्तर पैसा उठाउँदै आएकाले सो सहरकारीले नागरिकबाट कति रकम उठाएर ठगी गर्याे भन्ने यकिन छैन । 

बुटवल उपमहानगर वडा न-११ देवीनगरमा सञ्चालित सहकारीले बचतकर्ताको रकम कुम्लाएर कार्यालय बन्द गरेपछि अहिले बचतकर्ताहरु बिचल्लीमा परेका छन् ।

सहकारीले गत चैत ३१ गतेसम्म बजारबाट रकम उठाएर सोही दिन नै एक सूचना टाँस गरी सहकारी बन्द रहने जानकारी गराएको छ । कार्यालयको भित्तामा टाँसिएको सूचनामा सहकारीका अध्यक्ष आकाश भट्टराईले आर्थिक अपचलन गरी केही समयदेखि सम्पर्कमा नआएको, अध्यक्षको खोजी जारी रहेको र पछिल्लो समयमा कर्मचारीको भरमा बजारलाई चलायमान बनाउनका लागि बचतकर्ताबाट असहज परिस्थिति सृजना भएको भन्दै गत चैत ३१ गतेको मितिमा सूचना टाँसिएको पाइएको छ । 

सूचनामा बचतकर्तालाई अध्यक्षको खाजी गर्न आवश्यक पहल गर्नसमेत अपील गरिएको छ । सहकारीले कार्यालयमा सूचना टाँस गरी सहकारी बन्द गरेको आन्तरिक रुपमा हल्ला भएपछि आफ्नो बचत रकम लिनका लागि कार्यालयमा आएकी बुटवल उपमहानगरपालिका वडा न ७ दीपनगरकी स्मृती पाण्डे पौडेलले छोराछोरीको स्कूलको नास्तालाई कटौती गरी दैनिक जम्मा गरेको रकम लिन आउँदा सहकारी नै बन्द भएको देख्दा निकै पीडा भएको दुखेसो सुनाइन् ।

स्मृती जस्तै बुटवल उपमहानगर वडा न-११ देवीनगरकी तारा विश्वकर्माले पेटभरी खाई नखाई बचत गरेको रकम आवश्यक परेकोले लिन आउँदा कार्यालय नै बन्द गरिएको र पैसा उठाउने बहिनीहरुले समेत फोन उठाउन छाडेको दुखेसो पोखिन् ।

सहकारीले सूचना जारी गरी फरार भएको सम्बन्धमा लुम्बिनी प्रदेश सरकारका सहकारी रजिष्ट्रार मधुकृष्ण पौडेलले प्रदेश स्थापना भएपछि प्रदेशमा दर्ता भएका सहकारीहरुले ठगी गर्दै आएको बताउँदै नियत नै गलत राखेर सहकारी संस्था प्रदेशमा दर्ता हुने गरेको बताए । 

लुम्बिनी प्रदेशमा १ सय ३० वटा सहकारी प्रदेशमा दर्ता भएको र प्रदेशका १२ वटा जिल्लामा गरी प्रदेश सरकार अन्तर्गत सहकारी रजिष्ट्रारको कार्यालयले नियमन गर्ने ८ सय ४८ सहकारी रहेको तर कर्मचारी न्यून भएकाले अनुगमन र नियमन कार्य प्रभावकारी हुन नसकेको रजिष्ट्रार पौडेलले बताए ।

सनराइजबाट ठगिएका स्मृती र तारा एक उदाहरणका पात्र मात्रै हुन् । उक्त सहकारीले कति रकम उठाएर फरार भयो भन्नेसमेत कहिँकतै अभिलेख भेटिँदैन । मंगलबार सहकारीमा पैसा लिन आएका बचतकर्ताहरु रित्तो हात फर्किन पुगेका छन् । 

सनराइज सहकारी बुटवल उपमहानगर वडा न-११ मा दर्ता भएर शुल्क लिएको छ, दर्ता गर्ने तर कुनै अभिलेख राख्ने स्थानीय तहका कारण पनि सहकारीको ठगी धन्दा मौलाउँदै गएको पीडितहरु बताउँछन् ।

सनराइज सहकारीका अध्यक्ष आकाश भट्टराई र कोषाध्यक्ष वसन्त भट्टराई मोबाइल अफ गरेर सम्पर्कविहीन रहेका छन् भने सहकारीका उपाध्यक्ष रमेश भट्टराई र सचिव लक्ष्मी अधिकारीले आफूहरुलाई सहकारीको बारेमा केही जानकारी नभएको केवल नातेदारले नागरिकताको फोटोकपी मागेकाले दिएको बाहेक अन्य कुरा थाहा नभएको गैरजिम्मेवारीपूर्ण जवाफ दिए ।  

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालले जिल्ला भन्दा बाहिर दर्ता भएर आएका बहुउद्देश्यीय सहकारीमा रकम जम्मा नगर्न अपिल गर्दै प्रदेशमा २३ वटा सहकारीमा समस्यामा रहेको जसमध्ये १३ वटा बहुउद्देश्यीय र ९ वटा बचत तथा ऋण सहकारी रहेकोमा सनराइज बहुउद्देयीय पनि थपिन पुगेको बताउँदै दर्ता गर्ने कार्यालयले अनुगमनमा कडाई गर्नसमेत अध्यक्ष नेपालले सुझाए । 

जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष तथा प्रदेश बचत संघका महासचिव बसन्त प्रसाद ढकालले बहुउद्देश्यीय सहरकारीको दर्ता प्रक्रिया स्थानीय तहमा दिन नहुने उल्लेख गर्दै बहुउद्देश्यीय सहरकाीको ठगी गर्ने नियतबाहेक अरु नभएको र केही बचत ऋण सहकारीले पनि बदमासी गर्दै गएकाले सम्बन्धित निकायले दर्ता लिँदा लिने तर समस्या आएपछि पन्छिने प्रवृति गलत भएको बताउँदे जिम्मेवार भएर नागरिकको पैसामा खेलबाड नगर्न जिकिर गरे । 

उनले भने, 'बाहिरी जिल्लामा दर्ता भएर शाखा सञ्चालन गरेका सहकारीहरुमा समस्या देखिदै आएको छ । म आमनागरिकलाई जिल्लाभन्दा बाहिर दर्ता भएका सहकारीमा रकम बचत नगर्न आग्रह गर्छु । तथापि तीनै तहका सरकारले सहकारीको नियमन र कारबाही प्रक्रियामा जिम्मेवार भएर जवाफदेही हुनुपर्छ ।

लुम्बिनी प्रदेशमा उजुरी परेर कारबाही प्रक्रिया रहेका आयाम बहुउद्देश्यीय, सुनौलो, मञ्जुश्री बहुउद्देश्यीय, सप्तदीप, स्टार, सार्थक बहुउद्देश्यीय, मार्ग दर्शन, साइन, विश्व विराट, उपकार, उपदेश, शिव शिखर र सनराइज र बचत ऋण सहकारीमा सुप्रिम र आगन्तुक रहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ