प्रम ओलीको अडान - द्वन्द्वकालीन अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन [भिडियो]
माफी दिन सकिने घटनाहरूलाई मेलमिलापको बाटोबाट अन्त्य गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
906
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वका समयमा भएका जघन्य अपराधका घटनालाई माफी दिन नसकिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले द्वन्द्वको समय भएका अमानवीय तथा चरम यातना जस्ता जघन्य अपराधका घटनामा संलग्नमाथि छुट दिन नमिल्ने बताए । उनले माफी दिन सकिने घटनाहरूलाई मेलमिलापको बाटोबाट अन्त्य गरिने बताए ।
उनले सत्य निरूपण तथा मेलमिलाप आयोगले द्वन्द्व पीडितलाई न्याय दिलाउन सरकारले काम गरिरहेको बताए । उनले अहिले द्वन्द्वको अन्त्य र पीडितलाई न्याय दिने समय भएकाले कसैले पनि अन्यायमा पर्न नपर्ने बताए । पीडितलाई परिपूरणको माध्यमबाट सरकारले न्याय दिने उनको भनाइ छ ।
उनले भने, ‘द्वन्द्व पीडित दाजुभाइ दिदीबहिनीहरूलाई म भन्न चाहन्छु । शान्ति प्रक्रियालाई अन्तिम रूप दिँदा वा सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्दा आयोगले काम गरेर निष्कर्ष निकालेर यसलाई अन्तिम नियकर्षमा पुर्याउँदा पीडितहरूलाई न्याय दिएर यो ट्रान्जिसनल जस्टिकको समय भनिन्छ यसलाई यो सङ्क्रमणकालीन न्यायको समय भनिन्छ । सङ्क्रमणकालीन या द्वन्द्वको अन्त्य गर्ने समयको कुनै पीडा दिने समय होइन, यो न्याय दिने कुरा हो । सङ्क्रमणकालीन न्यायको कुरा हो, त्यसकारण तपाईंहरुलाई न्याय दिनका लागि आयोगहरू बन्ने र तपाईँहरूलाई न्याय दिइन्छ म तपाईँहरूलाई र देशभर रहेका द्वन्द्व पीडितहरूलाई भन्न चाहन्छु । द्वन्द्व पीडितलाई न्याय दिने यो नै उद्देश्य हो । अहिलेका आयोगहरूको न्याय दिने नै काम हुने गरेका छन् । र न्याय दिइन्छ । द्वन्द्वकै सबन्धमा केही दिनअघि मैले भनेको थिएँ एभरेष्ट होटलमा आयोजित कार्यक्रममा कि अमानवीय, चरम अपराधहरू त्यस्ता अपराधहरू जघन्य अपराधहरू त्यस्ता कुरालाई छुट हुँदैन । त्यस्तालाई माफी दिन सकिँदैन । त्यस्तो कुराहरूको सन्दर्भमा कारबाहीको विषय बन्छ । र अरू कुराहरू जुन माफी दिन सकिने खालका छन् त्यसमा माफी दिने मेलमिलाप दिने बाटो हुन सक्दछ । र पीडितहरूलाई परिपूरण जस्ता कुराहरूबाट सम्बोधन हुने कुराहरू पनि हुनेछन् ।’
प्रधानमन्त्री ओलीले द्वन्द्व पीडितहरूको न्यायका लागि वर्तमान सरकार र सरकारमा रहेका नेपाली काँग्रेस र नेकपा एमाले लागिपरेको बताए । द्वन्द्व पीडितको न्यायका लागि सबै दलहरूको साथ रहेको उनको भनाइ छ ।