arrow

सहकारी पीडित

सहकारी दर्ता भएको भन्ने आधार र व्याजको प्रलोभनमा परी बचत जम्मा

नियमन र अनुगमन सदस्यहरुले मात्र गर्न सक्दछन्, ऐन कानूनअनुसार दर्ता, नियमन तथा अनुगमन गर्ने जिम्मेवारी पाएका स्थानीय तह, प्रदेश तह र सहकारी विभागबाट सहकारीको बचत सुरक्षित हुने अवस्था छैन

logo
नारायण वली,
प्रकाशित २०८२ वैशाख १० बुधबार
basanta dhakal.jpg
तस्बिर – लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव वसन्तप्रसाद ढकाल ।

लुम्बिनी । बैंक, वित्तीय क्षेत्रको कुल निक्षेपमा सहकारी क्षेत्रको बचत अनुपात करीब १० प्रतिशत छ । समग्र सहकारी संस्थाको करिब ४० प्रतिशत प्रारम्भिक संस्था बचत तथा ऋण सहकारी छन् । 

बुटवल लगायत शहरी क्षेत्रमा सञ्चालित सहकारीहरु मूलतः बचत तथा ऋणको कारोबारमा केन्द्रित छन् । तर पछिल्लोसमय अधिकांश सहकारी संस्थामा तरलता अभाव देखिएको र बचतकर्ताको रकम हिनामिना गरेर फरार हुने प्रवृत्तिले नागरिक ठगिँदै गएका छन् भने राज्यको नियन्त्रण कदम र फितलो सहकारी नीतिले नैराश्यता छाउँदै गएको छ । सहकारीको समस्यालाई समाधान गर्न खेलाचीँ गरियो भने कुनै पनि बेला ठूलै वित्तीय संकट सृजना हुने अवस्था प्रवल देखिन्छ । कतिपय सहकारीले सदस्यको बचत फिर्ता नगरेको, सञ्चालकहरु फरार भएको वा सहकारी संस्था डुबेको जस्ता समाचार प्रकाशन तथा प्रशारण हुँदासमेत सम्बन्धित निकाय चीरनिद्रामा जस्तै छ । किन र कसका कारण सहकारी संस्थाहरु समस्यामा पर्दै गएका छन् ? यसै विषयमा आधारित रहेर लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव वसन्तप्रसाद ढकालसँग हाम्राकुराकर्मी नारायण वलीले  गरेको कुराकानीको अंश । 

नेपालमा सहकारीबाट जो कोही पनि ठगिन सक्ने देखिए है ?
सहकारीमा विकृति देखिनुमा धेरै कारणहरुमध्ये प्रमुख कारण सहकारीका निर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिका सदस्यहरुले सहकारीको रकम नियम विपरीत आफैँले व्यापार व्यवसाय तथा घर जग्गामा प्रयोग गरेको तथा सहकारी आफैँले नै विभिन्न क्षेत्रमा प्रयोग गरेको पाइन्छ । विकृति देखिएका सहकारीहरुमा विभिन्न कारणले बचत राख्ने सदस्यहरुले सहकारीले रकम के कसरी प्रयोग गरेको छ हेर्ने गरेको पाइँदैन । सहकारी दर्ता भएको भन्ने आधार र व्याजको प्रलोभनमा परी बचत जम्मा गरेको पाइन्छ ।  नेपालको अहिलेको अवस्थामा सहकारीलाई सदस्यहरुले मात्र बचाउन सक्दछन् । नियमन र अनुगमन सदस्यहरुले मात्र गर्न सक्दछन् । ऐन कानून अनुसार दर्ता, नियमन तथा अनुगमन गर्ने जिम्मेवारी पाएका स्थानीय तह, प्रदेश तह र सहकारी विभागबाट सहकारीको बचत सुरक्षित हुने अवस्था छैन । 

२. कसरी बढ्यो सहकारीमा विकृति  ?
सहकारीमा अनुशासनहीनता हुनु नै मुख्य कारण हो । सहकारीहरु आवश्यक भन्दा बढी भए । जसको कारण अनुगमन गर्ने निकायहरुले अनुगमन गर्न सकेन । दक्ष जनशक्तिहरु पलायन हुँदै गएका छन् । सहकारीलाई आवश्यक भन्दा बढी ऐन राखियो । राजनीतिबाट अछुतो राख्न सकेनन् । नेताहरुले आफ्नो कर्मथाले बनाउने प्रयास गरे । महासंघहरु समस्याको बारेमा एउटै आवाज उठाउन सकेनन् । जसको कारण सरकार कुनै कुराको कार्यान्वयन नहुँदै अरु निर्देशनहरु थप्दै गयो । उद्देश्यविहीन संस्थाहरुले बचत तथा ऋणको कारोबार गर्न थाले । 

विकृति हटाउन के गर्नुपर्ला ? 
सहकारीमा विकृति भित्रिनुका धेरै कारणहरु छन् । सहकारीमा शेयर खरिद गर्ने, बचत र ऋणको कारोबार गर्ने सबैले सहकारीमा विकृति भित्रिने कारणहरु बुझ्न अत्यन्त जरुरी छ । ऐन, नियम र निर्देशनहरुलाई ठीक ढङ्गले लागू गर्न पर्दथ्यो । राज्यका तीनै तहका सरकार र संघसंस्थाहरु बिचमा तालमेल हुनुपर्ने थियो । विशेष गरेर प्रदेश स्तरबाट खोलिएका केही सहकारीबाट लुटतन्त्र मच्याइएको छ । यसको लागि राज्यको तर्फबाट तुरुन्तै त्यस्ता सहकारीको खारेजीको गर्नुपर्छ । आमसमुदाय पनि सचेत हुनुपर्ने देखिन्छ । नेतृत्व र भूगोल नमिलेको सहकारीमा सदस्य बन्नु भएन । बचत रकमको बढी ब्याजदरको लोभ राख्नु भएन । राज्य र संघहरुको तर्फबाट अधिकार प्राप्त संयुक्त कमिटी बनाएर अनुगमन तथा कारबाहीलाई अगाडि बढाउन जरुरी छ । 

महासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय संघहरु, प्रदेश संघहरु र जिल्ला संघहरु मिलेर देशभरिकै सहकारीको वर्गीकरण गर्न आवश्यक कार्यदलहरु गठन गर्ने । उत्तमलाई नियमित अनुगमन, सन्तोषजनकलाई सतर्क, खराब उन्मुख र खराबलाई बचत लिन र नयाँ ऋण दिन रोक लगाउने र संकटग्रस्तलाई खारेजी गर्नेतर्फ कारबाही चलाउने । ऋण अपचलन गर्नेको चल अचल सम्पति रोक्का राखी बिक्री गर्न लगाई बचत फिर्ताको कार्य गर्ने र यसको लागि सहकारी संस्था र संघहरुले स्थानीय तहको सहयोग लिने गर्नु पर्दछ ।

नियन्त्रण प्रणाली विकास गर्न मध्यकालिन कार्यको रुपमा सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा व्यवस्था भएको कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधीकरण, कर्जा तथा बचत सुरक्षण कोष, र सहकारी प्रवद्र्धन कोषको सञ्चालन गर्न नियमकारी निकायलाई महासंघ, राष्ट्रिय सहकारी बैंक र संघहरुले बहस पैरबीमार्फत दबाब दिने गर्नु पर्दछ । दीर्घकालीन रुपमा नियमन र अनुगमन प्रणाली मजबुद बनाउन राष्ट्रिय सहकारी विकास बोर्डलाई ऐन कानून संशोधन गरेर वित्तीय कारोबार गर्ने सहकारीको नियमन र अनुगमनको प्राधिकरणमा परिणत गर्ने वा अलगै स्वतन्त्र निकायको गठन गर्नु उचित हुन्छ । 

सहकारी दर्ता गर्ने स्थानीय तह र प्रदेश सरकारले कर्मचारी अभाव देखाएर अनुगमनबाट पन्छिन मिल्छ ? सहकारीमा बेथिति मौलाउँदै जानुमा यी निकायको कमजोरी  जिम्मेवार छ कि छैन  ? 

सहकारी दर्ता गर्ने बेलामा विना आवश्यक्ता कुनै अध्ययन नगरी नातागोता, राजनीतिक सम्वन्ध, आर्थिक प्रलोभनमा परी दर्ता गर्ने, अनुगमन गर्ने बेलामा कर्मचारी अभाव देखाउन मिल्छ ? यो सरासर लाचारी, असक्षमताको पराकाष्ठा हो । सहकारीमा यो अवस्था आउनुमा सबैभन्दा राज्यका कर्मचारीको कमजोरी हो । सहकारीमा समुदायहरुले स साना बचत नियमित जम्मा गर्दछन र यसरी जम्मा भएका बचतहरुलाई नियमित बचत गर्ने सदस्यहरु मध्येबाट ऋणको आवश्यक पर्नेलाई ससाना ऋण दिने गरिन्छ । तर यहाँ त नियमित बचत नगर्नेसँग व्याजको प्रलोभन देखाई एकमुष्ठ ठूलो बचत लिने र सञ्चालकहरु आफै वा कुनै निश्चित व्यक्तिलाई ठूलो ऋण दिइन्छ । सुप्रिम सहकारी, आयाम बहुउद्देश्यीय, सुनौलो, मञ्जुश्री बहुउद्देश्यीय, सप्तदीप, स्टार, सार्थक बहुउद्देश्यीय, मार्ग दर्शन, साइन, विश्व विराट, उपकार, उपदेश, शिव शिखर, आगन्तुक र सनराइज बहुउद्देश्यीय सहकारीहरुमा विकृति हुनुका प्रमुख कारणहरु यिनै देखिन्छन् ।

अन्त्यमा, नीति र कार्यविधि विपरीत चलेका सहकारीको दर्ता खारेज र बचतकर्ताहरुको रकम सुरक्षित गर्न बचत संघले के कस्ता नीति अबलम्वन गरेको छ ? 

हामीहरुले बारम्बार भन्ने गरेका छौं नीति र कार्यविधि विपरीत काम गरेका कर्मचारीहरुको अनुगमन कारबाही गर्ने अधिकार संघलाई दिएमा त्यसलाई परिणामुखी बनाउन हामीले सक्दछौं । अहिले देखिएको सहकारी अराजकताको स्थितिबाट ठीक बाटो ल्याउन सक्दछौँ । यसको लागि जिल्ला, प्रदेश, केन्द्रीयस्तरका संघहरु तयार छौँ । यसका साथसाथै हामीहरु आफ्नो दायित्व, कर्तव्य पालना गर्दै संघहरुलाई मौखिक एवं गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रमबाट बारम्बार भनेका छौँ । केही सहकारीहरु ठगी उद्योगबाट आएका छन् । त्यसबाट होसियार रहनु होला । जीवनभर कमाएको पैसा दुई चारजना व्यक्तिले पैसा जम्मा गरेर फरार हुने क्रम बढ्दै गएको देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ