arrow

स्ववियू निर्वाचन दलहरुका लागि जनमत नाप्ने ब्यारोमिटर : प्रधानमन्त्री

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
Pm-student-sang.jpeg

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन जनमत नाप्ने ब्यारोमिटर हुने बताएका छन् । अनेरास्ववियू क्रान्तिकारीको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले यसो भनेका हुन् ।

बैठकमा दाहालले भने, ‘लामो समयदेखि स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नहुँदा विद्यार्थी राजनीतिमा गतिरोध पैदा भएको छ । गतिरोधको अन्त्य गर्न र विद्यार्थी राजनीतिमा नयाँ पुस्ता र सोंचको विकासका लागि पनि स्ववियू निर्वाचन गर्न आवश्यक छ ।’

प्रधानमन्त्री दाहालले अगाडि थपे, ‘हामी स्थानीय निर्वाचनको दिशामा जाँदैछौं, स्थानीय निर्वाचनपूर्व हुने स्ववियू निर्वाचन दलहरुका लागि जनमत नाप्ने ब्यारोमिटर हो, त्यही सोंच र जिम्मेवारीबोध सहित निर्वाचनको तयारी गर्नुस् ।’

स्ववियू निर्वाचनमा क्रान्तिकारीको एजेण्डाले जितेको स्मरण गराउँदै प्रधानमन्त्रीले दाहालले भने, ‘स्ववियू निर्वाचनमा २८ वर्षे उमेर हद तपाईहरुको एजेण्डा हो, त्यही उमेर हदको व्यवस्थासहित निर्वाचन हुँदैछ । एजेण्डामा तपाईहरुले जित्नुभएको छ । अब जनमतमा जित्न अझै मेहेनत गर्नुस्, तपाईहरुको मेहेनतको प्रतिफल सुखद् नै हुन्छ भन्ने मलाई विश्वास छ ।’

बैठकमा क्रान्तिकारीका नेता नरेन्द्र न्यौपाने, अनिल शर्मा, रामचन्द्र अधिकारी, मदन अर्याल, रञ्जित तामाङ, बीरेन्द्र बस्नेत लगायतका नेताहरुले विद्यार्थी राजनीतिको अवस्था र स्ववियू निर्वाचनबारे जानकारी प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ