मोबाइल व्यवसायी महासङ्घको चौथो साधारणसभा हेटौँडामा
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
592
Shares
काठमाडौं। नेपाल मोबाइल व्यवसायी महासङ्घको चौथो साधारणसभा बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ। वैशाख २७ गते हेटौँडामा हुने साधारणसभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्ने मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो।
महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा साधारणसभा मूल आयोजक समितिका संयोजक छतेन्द्र आचार्यले साधारणसभामा देशभरबाट करिब एक हजार मोबाइल व्यवसायी सहभागी हुने जानकारी दिए।
साधारणसभामा देशभरका ६० जिल्ला, ७ प्रदेश र महासङ्घ केन्द्रीय नेतृत्व गरी करिब एक हजार व्यवसायी सहभागी हुने छन्।´ आचार्यले पत्रकार सम्मेलनमा भने।
हेटौँडा साधारणसभामा मोबाइल व्यवसायीका साझा समस्याका रूपमा रहेका विषयलाई एजेन्डाको विषय बनाइने केन्द्रीय उपाध्यक्ष तथा आयोजक समितिका संयोजक आचार्यले जानकारी दिए। उनका अनुसार मोबाइल खरिदबिक्री, सेकेन्ड ह्यान्ड कारोबार, मर्मत लगायतमा देखिएका नीतिगत समस्याका विषयमा साधारणसभामा छलफल हुनेछ। यसैगरी मोबाइल विक्रीमा देखिएको अस्वाभाविक प्रतिस्पर्धा र यसले व्यवसायमा पारेको असर तथा समाधानका उपायहरूबारेमा पनि खुला र बन्द सत्रमा छलफल हुनेछ।
हेटौँडा साधारणसभामा मोबाइल कम्पनी तथा एसोसरिज कम्पनीहरू गरी विभिन्न १० वटा स्टल रहने छन्। राभोज मोबाइल, साओमि मोबाइल, बीएन ट्रेडर्स, अल्टिमा, माई पावर, आरती चार्जर उद्योग र नोइज लगायतका कम्पनीहरूको स्टल रहनेछ। ती स्टलबाट सामान बुक गर्दा कम्पनीहरूले देशभरका व्यवसायीलाई विशेष सहुलियतसहितका अफर दिने तयारी गरेका छन्।