झापा । नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्रद्वारा धुलाबारीस्थित श्रद्धेय आश्रममा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ जारी छ। वैशाख १७ गतेदेखि शुरु भएको यो धार्मिक अनुष्ठान वैशाख २३ गते समापन हुनेछ।
मेची क्षेत्रका महात्मा सुवर्ण बाइजीले वैदिक सनातन धर्मको पुनर्जागरण, धार्मिक पर्यटनको प्रवर्द्धन र पितृहरूको मोक्षको कामनासहित महायज्ञ आयोजना गरिएको बताइन्।
पण्डित बालकृष्ण अर्यालको कथा वाचन र पण्डित प्रदीप दवाडीको सहवाचन रहेको यस महायज्ञमा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको छ। यसअघि बुधबार पातालगंगाबाट कलश यात्रा सुरु भई काँकडभिट्टा हुँदै धुलाबारी बजार परिक्रमा गरी आश्रममा आइपुगेको थियो।
धुलाबारी आश्रमले यसअघि पनि यस्ता धार्मिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। मेची क्षेत्रका अध्यक्ष दशरथ राईका अनुसार महायज्ञको अन्तिम दुई दिन, वैशाख २२ गते विशेष लक्ष्यवर्ती प्रज्वलन गरिनेछ भने समापनको दिन वैशाख २३ गते बिहान होमादी तिलक प्रसाद वितरण कार्यक्रम रहेको छ।