काठमाडौँ । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्व तयारी शुरु गरेको छ । आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले पूर्व तयारी शुरु गरेको जानकारी दिएको हो । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विगतका वर्षमा मनसुनजन्य विपद्बाट उच्च जोखिम व्यहोरेकाले यस वर्ष छिट्टै पूर्व तयारी शुरु गरेको बताए ।
उनले हरेक वर्ष मौसमसम्बन्धी पूर्वानुमान घोषणा भएपछि पूर्व तयारी शुरु गर्ने गरिएकोमा यस पटक भारतले गरेको पूर्वानुमानको आधारमा पूर्व तयारी शुरु गरेको बताए । उनले सुरक्षा निकाय तथा विभिन्न एजेन्सीहरूलाई पूर्वतयारीका साथ रहन आग्रह गरिएको बताए ।
उनले भने, ‘आजको मूलभूत विषय चाहिँ मनसुन छिट्टै आउँछ भनेर र यो वर्षको मनसुन अरू वर्षको भन्दा अझै ठूलो हुन्छ कि भनेर साउथ एसिएन मनसुन वाचले डिसिजन गर्यो पुनेमा अस्ति त्यो सहित हामी अलि अगाडिदेखि मनसुनको तयारी गर्दै थियौँ । पूर्व तयारी के कस्तो छ र पूर्वतयारीलाई कसरी द्रुतगतिमा अगाडि बढाउने यही कुरा प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारका अरू निकायसम्म कसरी पुर्याउने र यो वर्ष कसरी प्रतिकार्य गर्ने भन्ने बारेमा छलफल गर्यौँ । यो हरेक वर्षको प्रक्रिया हो पहिले नेपालको फरकास्ट आएपछि पूर्व तयारी गर्थ्यौँ तर यो पटक फरकास्ट आउन बाँकी छ । अझै एक हप्ता लाग्छ होला । तर हामीले पोहोर साल दुःख पाएको हुनाले यो वर्ष अलि पहिलादेखि तयारी गर्यौँ र सम्बन्धित सङ्घ संस्थाहरू जस्तो सुरक्षाकर्मी, अरू एजेन्सीहरू, जिल्ला विपद् समितिहरूको कामहरू पनि स्पेसिफिक गरेर कुन ठाउँमा कुन कुराहरू राख्नुपर्ने हो त्यो बेला चाहिने कुन लेबलको फरकास्ट एक हप्ता पछि आउँछ भने त्यसका लागि आवश्यक टेम्पलेट बनानेदेखि लिएर रिलेसनहरूमा संस्थाहरूलाई राख्ने काम शुरु गरेका छौँ ।’