- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश वैद्यनाथ उपाध्यायले अवकाश पाएका छन् । उपाध्यायले उमेर हदका कारण शुक्रबाट अवकाश पाएका हुन् । सर्वोच्चले उपाध्यायको विदाई गरेको छ । विदाई कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले माया चिनो दिँदै न्यायाधीश उपाध्यायलाई विदाई गरिन् । सर्वोच्च अदालतका न्यायाधीश, कर्मचारीले फूलमाला लगाएर विदाइ गरे ।
विदाइमा प्रधानन्यायाधीश कार्कीले अवकाश पछिको जीवन सुखमय रहोस् भनिन् । आवश्यक परेका बेलामा आफूहरुले परामर्श लिने समेत प्रधानन्यायधीश कार्कीले भनिन् । वरिष्ठतम् न्यायाधीश उपाध्याय पुनरावेदन अदालत राजविराज र पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश हुँदै २०६८ साल मङ्सिर २० गतेबाट सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । सर्वोच्च अदालतमा न्यायाधीशको उमेरको हद ६५ वर्ष तोकिएको छ ।
उपाध्यायका दुई जना दाई विश्वनाथ उपाध्याय र केदारनाथ उपाध्यायले सर्वोच्च अदालतका प्रधानन्यायाधीश भएर अवकाश लिएका थिए । यद्यपि, उमेर हदले वैद्यनाथ प्रधानन्यायाधीश हुन सकेनन् । यस्तै, विहिबार राति अबेर सम्म बसेको न्यायपरिषद् बैठकले प्रादेशिक संरचनाको उच्च अदालतका दागि भन्दै शुक्रबार मात्रै दलीय भागबण्डाका आधारमा ८० जना न्यायाधीश सिफारिस गरेको छ । न्यायाधीश सिफारिस भएकै दिन उपाध्यायले अवकाश पाएका छन् । सर्वोच्चले केही समय अघि मात्रै ११ जना न्यायाधीश नियुक्त गरेको थियो ।