arrow

सुदूरपश्चिममा बल्ल जुट्दै तिहारको माहोल, शनिबार काग तिहार

logo
प्रकाशित २०७३ माघ १ शनिबार
kag-tihar.jpeg
बैतडी । सुन्दै पनि अचम्म लाग्नसक्छ कात्तिकमा मनाउनु पर्ने तिहार सुदूरपश्चिमेलीहरुले भने शनिबार धुमधामका साथ मनाउने गरेका छन् । यसैको प्रचलन अनुरुप शनिबार उक्त भेगका विभिन्न स्थानहरुमा काग तिहार मनाइँदैछ । यमपञ्चकको पहिलो दिन काग तिहार मनाईएपनि यहाँको काग तिहार मनाउने शैली भने अलिक भिन्न हुने गरेको छ । स्थानीय भाषामा ‘नरहरि’ भनिने यस चाडलाई माघे सङ्क्रान्ति पनि भन्ने गरिन्छ । ‘नर’ भनेको मानिस र ‘हरि’ भनेको भगवानमा लीन हुनु अथवा उपासना गर्नु हो । महिनाको सुरुआत भएकाले माघे सङ्क्रान्तिलाई नरहरि भनिएको बताइएको छ । 
 
अन्य भेग तिर मनाईने तिहार र यो तिहारमा कुनै भिन्नता रहेको त छैन । तर उनीहरुले यसलाई पुषे तिहारको रुपमा मनाउने गरेका छन् । यस दिन कात्तिके तिहारमा जस्तै विभिन्न प्राणिहरुलाई मिष्ठान्न भोजन गराउने गरिएको छ । पुष मसान्तमा हरेक घरमा सबैभन्दा पहिले पकाईएको सेलरोटी माघ १ गते बिहानै नुहाइधुवाइ गरी ‘का कौवा का का मेरो रोटी खा’, ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन छ । 
 
धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्छन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पं जयानन्द भट्टले बताउनुभयो । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनविश्वास अहिले पनि छ । उहाँले भन्नुभयो “काग तिहारमा भने यी सबै नकारात्मक मान्यतालाई बिर्सिएर कागको पूजा गरिन्छ ।” 
 
कागलाई यमराजको सन्देशवाहकका रुपमा पनि पूजा गरिन्छ । त्यही भएर चर्को आवाज निकालेर कराउने यस चरालाई काग तिहारबाहेक अरु बेला भने अशुभ र अशुद्ध पक्षीका रुपमा लिइन्छ । आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन छ । कागले पुस १५ गते तीर्थमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको जनविश्वास छ । 
 
काग अत्यन्तै चलाख सर्वभक्षी प्राणी हो । काग तिहारमा कागलाई पुज्नुका विभिन्न महत्व र कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता । अर्कातर्फ यसले अन्नबालीमा लाग्ने किरा–फट्याङ्ग्रा र सबै प्रकारका मांसजन्य फोहर खाइदिने हुनाले सर्वगुणी पक्षीका रुपमा मानिन्छ । 
 
त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागले लगेर लुकाएको रोटीलाई मानिसले ब्याउने गाईलाई खुवाए बाच्छी सप्रिने समेत विश्वास गरिएको छ । 
 
माघे सङ्क्रान्तिमा कागलाई मीठा खानेकुरा खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता छ । पार्वतीले शिवलाई पति पाऊँ भनेर माघ महिनामा व्रत बसेकी हुनाले पनि यस महिनालाई धार्मिक महिना मान्ने प्रचलन रहेको पं भट्टले बताए । माघ महिना धार्मिक महिना भएकाले माछा मासु पनि खानु हुँदैन भन्ने पुस्तौँदेखिको प्रचलन छ । पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन भएकाले यस पर्वलाई ‘पुसको पाक्य माघको खाक्य’ पनि भन्ने गरिएको छ । 
 
सुदूरपश्चिमेलीले मनाउँदै आएका मौलिक चाड पर्वमध्येको एक चाड माघे सङ्क्रान्तिअर्थात् पुसे तिहारका लागि कामको सिलसिलामा घरबाहिर रहेका मानिस घर फर्किने गर्छन् भने विवाहित महिला माइत जाने गर्छन् । पुसे तिहारअर्थात् माघे सङ्क्रान्तिलाई आफन्त एवम् इष्टमित्रसँग भेटघाट गर्ने पर्वका रुपमा लिइने गरिएको श्रीकोटका बासिन्दा हेमराज गिरीले बताए। पुस्तौँदेखि मनाइँदै आएको पुसे तिहारको महत्व सुदूरपश्चिममा अझै उत्तिकै रहेको पाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ