भारत र पाकिस्तानबीच शुरु भएको युद्धभित्रका तथ्यहरू
बद्रीप्रकाश ओझा,
प्रकाशित २०८२ वैशाख २७ शनिबार
1k
Shares
पूर्वीय दर्शनका लागि विश्वमा दुई ओटा स्थान महत्वपूर्ण मानिन्छन् । एउटा हो तिब्बत र अर्को हो कश्मीर । यी दुवै युद्धले क्षतविक्षत बनायो । यही नै पूर्वीय दर्शनको अन्त्य मानिन्छ ।
कश्मीरको स्वतन्त्रताको विषयमा कुरा गर्दा बलुचिस्तानको स्वतन्त्रतालाई पनि भुल्नुहुँदैन । करिव तीन लाख ४८ हजार वर्गकिलोमिटर क्षेत्रफल रहेको बलुचिस्तानले पाकिस्तानको ४४ प्रतिशत भूभाग ओगट्छ ।
यो क्षेत्र पाकिस्तानको सबैभन्दा बढी खनिज, ग्यास रहनुका साथै समुद्री नाका रहेको क्षेत्र भएकाले उसको स्वतन्त्रता आन्दोलनलाई दबाउँदै आएको छ ।
१४ अगस्ट सन् १९४७ मा पाकिस्तान स्वतन्त्र भएपछि त्यसको ६ महिनापछि मार्चको अन्तिम सातामा पाकिस्तानले बलुचिस्तानमाथि आक्रमण गरी पाकिस्तानमा मिलायो । त्यतिबेला बलुचिस्तान पनि कश्मीर जस्तै स्वतन्त्र राज्य थियो ।
स्वतन्त्रता गुमाएपछि बलुचीहरू स्वतन्त्रताका लागि लडिरहेका छन् । सबैभन्दा लामो समयसम्म सन् १९७० देखि ७७ सम्म पाकिस्तानी सेनाले बलुचिस्तानमा केन्द्रित रही कारबाही गर्दा धेरै मानिसको ज्यान गयो ।
मानव अधिकारको हदैसम्मको हनन् भएको अधिकारवादीहरूको ठहर छ । अहिले पनि बलुचीहरू स्वतन्त्रताको लडाइँमा जुटेकै छन् । तर उनीहरूको आवाज आतकंवादीको नाममा दबाइएको छ ।
कश्मीर सम्बन्धी तथ्य
१३ औँ शताब्दीतिर कश्मीर शैवधर्म तथा संस्कृत शिक्षाको केन्द्र मानिन्थ्यो । मल्ल राजाहरू कश्मीरबाट नै नेपाल आएको विश्वास गरिन्छ । विस्तारै बौद्ध तथा मुस्लिमधर्मीहरू बढे । कतिपयले जिसस क्राइस्ट पनि कश्मीरमै आएको बताउँछन् । बीबीसीले पनि यसबारे वृत्तचित्र तयार पारेको छ ।
शिखहरूको शासन आयो तर इस्ट इन्डिया कम्पनीले आक्रमण गरेपछि सन् १८४६ मा अमृतसरको सन्धिबाट ७५ लाख रुपैयाँमा गुलाब सिंहले बेलायतसँग जम्मू तथा कश्मीर राज्य खरीद गरे । यसमा गिलगिट पनि संलग्न थियो । यसरी सिंहहरू कश्मीरका राजा बने । कश्मीरका अन्तिम राजा हरि सिंह गुलाबका नाति थिए ।
सन् १९४७ मा पख्तुनहरूले आक्रमण गरेपछि राजा हरि सिंहले भारतको सहयोग मागे । उनी हिन्दू थिए तर बहुमत जनता मुसलमान थिए । उनी भारतमा मिले । यस अर्थमा आफ्ना हजुरबुबाले खरीद गरेको राज्य भएकाले उनलाई देश कसलाई सुम्पिने भन्ने अधिकार थियो भन्न सकिन्छ ।
सन् १९४७ मा भारत र पाकिस्तानबीच युद्ध भयो र संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युद्ध समाप्त गरियो ।
कश्मीरको दुई लाख २२ हजार वर्ग किलोमिटरमध्ये भारतले ५५ प्रतिशत, पाकिस्तानले ३० प्रतिशत र चीनले १५ प्रतिशत भू–भाग ओगटेका छन् ।
२१ अप्रिल १९४८ मा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्रस्ताव नम्बर ४७ पारित गरी प्लेबिसाइट (जनमत संग्रह जस्तै) मार्फत जनताले जे चाहन्छन्, कता जाने भारततर्फ कि पाकिस्तान ? वा स्वतन्त्र राज्य बन्ने ? भन्ने विषयमा निर्णय गर्ने अधिकार प्रदान गर्ने मौका दियो ।
विश्वव्यापी मानवअधिकार र जनताको स्वनिर्णयको अधिकार सम्बन्धी सिद्धान्तमा आधारित वा अन्य कुनै उपयुक्त मापदण्ड अन्तर्गत रही विश्वव्यापी शान्ति प्रादुर्भावका लागि मुलुकहरूबीच मित्रवत् सम्बन्ध विस्तार गर्नका लागि भन्ने संयुक्त राष्ट्रसंघको वडापत्रको धारा १ को उपधारा २ बमोजिमको व्यवस्था अन्तर्गत उक्त प्रस्ताव पारित गरिएको थियो । यसमा तीन वटा विषय समावेश छन्ः
–मुलुकहरूबीच मैत्रीपूर्ण सम्बन्ध
–मानवअधिकार र जनताको स्वनिर्णयको अधिकार
–विश्वव्यापी शान्ति प्रादुर्भाव
पाकिस्तानले सेना फिर्ता गरेन । भारतले पनि राजा हरि सिंह भारतमा मिलेकाले उनको देश स्वतः आफूमा समाहित भएकाले प्राप्त गरेको भूमि हो भन्ने दाबी गर्यो ।
भारत र पाकिस्तानले सन् १९७२ मा सिमला सन्धि गरे । जसले संयुक्त राष्ट्रसंघीय प्रस्तावलाई बेवास्ता गर्यो, यो मान्नु पाकिस्तानको कमजोरी थियो । उसले बलुच जनताको स्वतन्त्रताको पक्षमा समेत संयुक्त राष्ट्रसंघले प्रस्ताव पारित गर्ने त्रासले सिमला सम्झौतामा हस्ताक्षर गरेको अनुमान गरिन्छ ।
यस कार्यले कश्मीरी र बलुचीको दुवै जनताको सार्वभौम अधिकार अन्धकारमा गयो ।
अर्को प्रश्न पनि उठेको छ । पहलगाम सीमाबाट सय किलोमिटरभित्र भारततर्फ पर्छ । एक सय किलोमिटर भित्र आतंकवादी घुस्दा भारतीय सेनाले के हेरेर बस्यो ? यी विषयहरूलाई सम्बोधन नगरी कश्मीर मामिला समाधान हुँदैन । (लेखक ओझा किसानहरुको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्)