सोसल मिडियालाई अङ्कुश लगाउनु नै आजको आवश्यकता देखे सञ्चारमन्त्रीले [भिडियो]
तीन वटा शक्ति धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक तरिकाले सोसल मिडियाको प्रयोग गरेर प्रहार गर्ने जुन परिपाटी बढेको छ, यसले प्रेसलाई बदनाम गर्ने काम भइरहेको छ
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २७ शनिबार
680
Shares
काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रूपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अङ्कुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन् । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको भन्दै धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक किसिमबाट सामाजिक सञ्जालको प्रयोग हुने गरेको बताए ।
यसले प्रेसलाई बदनाम गर्ने काम गरिरहेको उल्लेख गरे । प्रेस स्वतन्त्रता बलियो भए मात्रै प्रजातन्त्र बलियो हुने बताए । मन्त्री गुरुङले जलवायु परिवर्तनको असर बढ्दै गएको भन्दै समयमै सचेत हुनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रेस जगतको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै प्रेस जगतले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र यसले विकास निर्माण र समाजमा पारेको असरबारे आम नागरिकलाई सुसूचित गर्नुपर्ने बताए ।
उनले आजको दुनियाँमा खाली विकास मात्र भन्ने तर प्राकृतिक तौरतरिकामा कुनै मान्यता नराखिनु दुर्भाग्यपूर्ण भएको स्पष्ट पारे । विकास कुनै व्यक्तिको सनकमा भइरहेकाले अबको दश वर्षपछि त्यसले निम्त्याउने समस्या कस्तो होला भनेर सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बेला आएको मन्त्री सुब्बाको भनाई थियो ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र भन्दा राजतन्त्र पो राम्रो हो कि भन्ने मानेमा युवाहरु भड्किरहेका छन् । राजतन्त्रभन्दा गणतन्त्र नै ठिक हो भनेर यसलाई संस्थागत गर्न प्रेस जगतको महत्त्वपूर्ण भूमिका छ । जहाँ गणतन्त्र बलियो हुन्छ, त्यहाँ प्रेस स्वतन्त्रता बलियो हुन्छ । प्रेस स्वतन्त्रताले जनतालाई के दियो र व्यवस्थालाई के दियो ? तर आज अनलाइनको माध्यमबाट जुन किसिमको अफवाह फैलाइरहेको छ । तीन वटा शक्ति धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक तरिकाले सोसल मिडियाको प्रयोग गरेर प्रहार गर्ने जुन परिपाटी बढेको छ । यसले प्रेसलाई बदनाम गर्ने काम भइरहेको छ । त्यसैले सोसल मिडियालाई अङ्कुश लगाउनु नै आजको आवश्यकता हो । प्रेस स्वतन्त्रता जहाँ बलियो हुन्छ त्यहाँ प्रजातन्त्र बलियो हुन्छ । अर्को कुरा जलवायु परिवर्तनले संसारभर घण्टी बजाइरहेको छ । त्यसबाट उत्पन्न समस्याले विकास निर्माण र समाजमा पारेको असरबारे भाषण मात्र नभई काम नै गर्नुपर्ने अवस्था आएको छ । आजको दुनियाँमा विकास मात्र भन्ने तर नेचुरल कन्जरभेसनमा कुनै मान्यता नराखिनु दुर्भाग्यपूर्ण हो । जहाँ विकास निर्माणका काम हुन्छन् त्यहाँ वातावरण प्रदूषणलाई पनि ध्यान दिनुपर्ने आजको आवश्यकता हो । जलवायु परिवर्तनले अबको १० वर्षपछि उत्पन्न हुने समस्या समाधानमा जोड दिनुपर्ने बेला आएको छ ।’