पाकिस्तानले युद्धविराम लागू भएको तीन घण्टापछि नै गर्यो उल्लंघन
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २७ शनिबार
2.4k
Shares
नयाँदिल्ली । पाकिस्तानले भारतसँगको युद्ध विराम लागू भएको तीन घण्टामै युद्धविराम उल्लंघन गरेको छ । दुई देशबीच शनिबार साँझ ५ बजेदेखि युद्धविराम लागू भएको थियो ।
तर त्यसको ३ घण्टापछि पाकिस्तानले युद्धविराम उल्लंघन गरेको हो । स्थानीय समयअनुसार राति ८ बजेदेखि जम्मू कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएस पुरा, साम्बा, उधमपुरमा पाकिस्तानी पक्षबाट गोलीबारी भइरहेको छ ।
राजौरीमा गोलाबारी (तोप र मोर्टार) गरिएको थियो । त्यस्तै उधमपुरमा ड्रोन आक्रमण भएको थियो ।
गोलीबारीपछि जम्मू–कश्मीर, राजस्थान, पञ्जाब र गुजरातका सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गरिएको छ ।
अप्रिल २२ देखि मे १० सम्म पाकिस्तानी गोलीबारीमा चार भारतीय सैनिकको निधन भएको छ भने ६० सैनिक घाइते भएका छन् । साथै १७ जना सर्वसाधारणको पनि मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।
जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले ‘यो कस्तो प्रकारको युद्धविराम हो ? श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका छन्’ भनी प्रतिक्रिया दिएका छन् ।