लुम्बिनीले नीति तथा कार्यक्रम ल्याउँदै, उत्पादनशील क्षेत्रमा लगानीको खाका
नारायण वली,
प्रकाशित २०८२ जेठ ५ सोमबार
706
Shares
तस्बिर – फाइल ।
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।
दिउँसो १ बजे बस्ने प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सरकारको नीति तथा कार्यक्रम सम्बोधनमार्फत् सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सरकारले यसपालिको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, तथा नवप्रवर्तनका क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।
यथार्थ धरातललाई केन्द्रमा राखेर तयार गरिएको नीति तथा कार्यक्रमले अगाडि बढाइएका तर अधुरा रहेका योजनाहरुलाई सम्पन्न गर्ने उद्देश्य राखेको जनाइएको छ ।
साथै प्रदेश सरकारले जनताको जीवनस्तर उकास्ने योजनालाई अनिवार्यरुपमा जोड्ने, स्थानीय उत्पादनको वृद्धि गर्ने, अर्गानिक खेती प्रणालीको विस्तार गर्नेजस्ता विषयहरुलाई प्राथमिकतामा राख्ने बताइएको छ ।
नीति तथा कार्यक्रममार्फत् प्रदेशमा समावेशी, दिगो र परिणाममुखी विकास सुनिश्चित गर्ने प्रयास गरिने उल्लेख छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनले नीति तथा कार्यक्रमले लुम्बिनी प्रदेशको समग्र आर्थिक रुपान्तरणमा योगदान पुर्याउने अपेक्षा गरिएको बताए ।