arrow

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति

सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप

समितिको वार्षिक प्रतिवेदनमाथि पनि असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
krishi-samiti-05-02.jpg
तस्बिर फाइल

काठमाडौं। सगरमाथा संवादमा सम्बन्धित संसदीय समितिका सदस्यहरूलाई सहभागी नगराइएको भन्दै सांसदहरूले सोमबार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा चर्को असन्तुष्टि व्यक्त गरेका छन्।

समितिका सभापति कुसुमदेवी थापाले तीन जना सदस्यलाई मात्रै संवादमा बोलाइएको जानकारी गराएपछि सांसदहरूले आफूलाई मनपर्ने व्यक्तिलाई मात्रै बोलाएर सभापतिले पक्षपात गरेको आरोप लगाइन्।

नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले सगरमाथा संवादका लागि कृषि समिति हकदार हुँदा पनि सीमित सदस्यलाई मात्रै बोलाइएकोमा आपत्ति जनाइन्। उनले पूर्वाधार विकास समिति पनि हकदार भए पनि त्यहाँबाट पनि सांसदहरूलाई नबोलाइएको गुनासो गरिन्।

बैठकमा सभापति थापाले वन मन्त्रालयलाई पटक-पटक आग्रह गर्दा पनि सरकारले सगरमाथा संवादमा समिति सदस्यहरूको सहभागितालाई बेवास्ता गरेको बताइन्। उनले धेरै पटकको आग्रहपछि मात्रै तीन जना सदस्य सहभागी हुन पाउने जानकारी आएको बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले सगरमाथा संवादमा सभापति थापाले आफूलाई मन परेका व्यक्ति छानेर सहभागी गराएको आरोप लगाउँदै सभापतिको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिन्। उनले छिमेकी राष्ट्रका उच्च पदाधिकारीहरूको अनुपस्थितिमा नेपालको स्तर मापन भएको टिप्पणी गरिन् र कामको जिम्मेवारी वहन गर्न नसकेको भन्दै सभापति थापाको राजीनामा माग गरिन्।

नेकपा एमालेकी सांसद सम्झना थपलियाले सगरमाथा संवादबारे सांसदहरूसँग छलफल नै नगरी सभापति थापाले निर्णय गरेको भन्दै आपत्ति जनाइन्। उनले सदस्य छनोटको प्रक्रिया पारदर्शी नभएको बताइन्।

बैठकमा सांसदहरूले समितिको वार्षिक प्रतिवेदनमाथि पनि असन्तुष्टि जनाए। सांसद कठायतले प्रतिवेदन काम नलाग्ने भएको टिप्पणी गरेपछि सांसद सुब्बाले त्यस्तो भए जलाइदिनुपर्ने सुझाव दिइन्। जवाफमा सभापति थापाले प्रतिवेदन समितिको सम्पत्ति भएको र मन नपरे जलाउन सक्ने जवाफ दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ