arrow

पदीय गरिमा

निलमले बिर्सिन् मर्यादा, गभर्नर पौडेलसँग पोखिन् तुस

गभर्नर पौडेललाई असहयोगको खतरा, प्रधानमन्त्री ओलीलाई पाठ 

logo
सोमराज पोखरेल, 
प्रकाशित २०८२ जेठ ७ बुधबार
bishwanath-poudel-governor-82-2-7.jpg

काठमाडौँ । मुलुकले मंगलबार अर्थविद् डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको अठारौँ गभर्नरको रूपमा पाएको छ । पौडेलले बुधबार पद तथा गोपनियताको शपथ सँगसँगै बुधबारै कार्यभारसमेत सम्हालेका छन् । 

राष्ट्र बैंकमा पुगेर कार्यभार सम्हालेका डा पौडेललाई पहिलो गासमै ढुङ्गा लागेको छ । उनलाई कायममुकायम गभर्नरको जिम्मामा रहेर काम गरेकी वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनाले संस्थाको गरिमा र प्रोटोकल विपरीत अमर्यादित व्यवहार गरेसँगै पहिलो गासमा ढुङ्गा लागेको हो । 

सामान्यतया गभर्नरलाई डेपुटी गभर्नरले स्वागत गर्ने चलन राष्ट्र बैंकमा रहेको छ । सोही अनुसार डेपुटी गभर्नर बमबहादुर मिश्र स्वागतमा गए पनि निलम भने पौडेलको स्वागत कार्यक्रममा सहभागीसमेत भइनन् । 

डा पौडेलले आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरिसकेपछि ढिलो गरेर पुगेकी निलमले पौडेललाई नमस्कारसमेत पनि गरिनन् । उनले शिष्टाचार र मर्यादा बिर्सिन् । स्वभावत सिनियरको स्वागतका लागि उठ्ने चलन हुन्छ । 

यतिसम्म कि डा पौडेलले गरेको नमस्तेसमेत उनले फर्काइनन् । कूटनीतिभन्दा बाहिर गएकी उनले संस्थाको गरिमालाई जोगाउने भन्दा पनि बदनाम गर्ने काम गरिन् । साथै प्रोटोकलसमेत मिचिन् । 

उनले फूलको गुच्छासमेत दिइनन् । बैंककै एक कर्मचारीले गभर्नर पौडेललाई दिन भन्दै निलमलाई दिएको फूलको गुच्छा पनि उनले समातिनन् । उनले ती कर्मचारीलाई उक्त फूलको गुच्छा (बुके) टेबुलमा राख्न भनिन् । 

नवनियुक्त गभर्नर विश्वनाथ पौडेल र वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना, तस्बिर विकाश न्यूजबाट ।

किन यस्तो भयो ?
उनी मंगलबार साँझ मन्त्रिपरिषद् बैठकले गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त नगर्दासम्म गभर्नरकी प्रतिस्पर्धी थिइन् । 

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि उनलाई कायममुकायम गभर्नरको जिम्मा दिइएको थियो । 

त्यसयता उनी आफू नै गभर्नर बन्ने होडमा थिइन् । त्यो स्वभाविक पनि थियो । मुलुकले पहिलो महिला गभर्नर पाउने सम्भावना प्रचूर थियो । 

त्यसको लबिङ पनि तीव्र रूपमा गरेकी थिइन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलेसमेत विभिन्न सार्वजनिक कार्यक्रममा नेपालले पहिलो महिला गभर्नर पाउने भन्दै आएका थिए । 

जसले गर्दा उनको जोश थप बढेको थियो । तर उनलाई पनि राम्रोसँग थाहा हुनुपर्दथ्यो कि सत्ता साझेदार दलहरु एमाले र नेपाली कांग्रेसबीच गभर्नर कांग्रेसको सिफारिसमा र अन्य पदमा एमालेको सिफारिसमा पद बाँडफाँट भएको थियो । 

यसरी बाँडफाँट भएर सहमति गरिए पनि ओलीले निलमको पक्षमा बोल्न भने छोडेनन् । जुन यथार्थ भन्दा टाढाको विषय थियो । 

आफूलाई केपी ओली (एमाले नेता कार्यकर्ताको सम्मानित सम्बोधन ‘केपी बा’) को आशीर्वाद भएपछि कसैले पनि गभर्नर हुन रोक्न नसक्ने विश्वासमा निलम थिइन् । 

कांग्रेसले सिफारिस गर्न पाउने भएपछि उसको रोजाइमा राष्ट्र बैंककै निर्देशक गुणाकर भट्ट परे । उनले आफू कांग्रेसको सिफारिसमा परेपछि गभर्नर बन्ने आशामा निर्देशकबाट राजीनामा दिए । 

भट्टले राजीनामा दिए पनि निलमले उक्त राजीनामा स्वीकृत गरिनन् । उनको राजीनामा अहिले पनि स्वीकृत भएको छैन । भट्ट भने आफू गभर्नर बन्ने सम्भावना रोकिएको भन्दै चिन्तित भएर ‘रिफ्रेस’ हुन भन्दै बाहिर गए । उनले चाँडै फर्किने सन्देशसमेत दिएका छन् । 

भट्टको राजीनामा स्वीकृत गरेको भए उनी नै गभर्नर बन्ने थिए । तर ओलीको आडमा निलमले राजीनामा स्वीकृत गरिनन् । 

ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको कुराकानीमा देउवालाई भट्टको विकल्प छान्न भनियो । भट्ट बाहेकको विकल्पका रूपमा अचानक डा विश्वनाथ पौडेल आए । 

अर्थविद् उनलाई कांग्रेसले कुनै पनि हालतमा गुमाउन चाहँदैन थियो । विदेशको जागिर छाडेर नेपाल ल्याएर योजना आयोगको उपाध्यक्ष बनाइएका उनलाई कांग्रेसले काबिल अर्थविद्का रूपमा परिचित गराइरहेको छ । 

जबकि पौडेल अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित गभर्नर छनोट समितिका सदस्य थिए । पौडेलद्वयबीच सम्बन्ध पनि राम्रो नै छ । 

आफूलाई कांग्रेसले गभर्नरका रूपमा अगाडि सार्ने भएपछि विश्वनाथले उक्त छनोट समितिबाट राजीनामा दिए । 

तर उनीविरुद्ध अदालतमा मुद्दा चलाइयो । जुन मुद्दाको कुनै अर्थ नदेखी सर्वोच्च अदालतले दरपीठ गरिदियो । दरपीठ विरुद्धको मुद्दा पनि सदर भयो । तब खुल्यो उनलाई गभर्नर बन्ने कानूनी बाटो । 

विष्णु पौडेल नेतृत्वको समितिले विश्वनाथ पौडेलसहित तीन जनाको नाम गभर्नरका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेर पठायो । 

त्यसमा निलम ढुङ्गाना तिम्सिना र दिनेश भट्टराई पनि रहेका थिए । निलम गभर्नर बन्न पाइनन् । जसको तुस उनले आफू अमर्यादित भएर पौडेल सामु पोखिन् । 

गभर्नर पौडेललाई असहयोगको खतरा 
जब गभर्नरमाथि पहिलो दिन नै अभद्र व्यवहार भयो त्यो भोलिका दिन झनै बढ्ने निश्चित जस्तै छ । किनकि निलमले केपी ओलीले तोडेको भरोसाको भँडास पौडेलमाथि पोखेकी छिन् । 

यसले भोलिका दिनमा पौडेललाई उनीबाट काममा सहयोग हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । जसले गर्दा पौडेलका चुनौतीका दिन शुरु भइसकेका छन् । 

नेतृत्वलाई आफू मातहतका सबैको सहयोग रहेमात्र उसले सफलता हासिल गर्न सक्छ । तर निलमको व्यवहारले उनलाई सहयोग हुने भन्दा पनि असहयोग हुने आधार बनेको देखिन्छ । 

त्यतिमात्र होइन एमालेभित्रको एक उच्च सूत्रका अनुसार अर्थमन्त्री पौडेल र गभर्नर पौडेलबीचको सम्बन्धका कारण एमालेको एक खेमालाई चित्त बुझेको छैन । 

यसले कतै एमालेभित्र पनि विष्णु पौडेल हावी हुन सक्ने आँकलनसहित विश्वलाई नभइ निलमलाई नै गभर्नर बनाउनु पर्छ भन्ने लबिङ चलेको थियो । 

त्यही एमालेको पक्षले हालका गभर्नरलाई असहयोग गर्नका लागि कुनै षड्यन्त्र रच्ने हो भने यसअघि अर्थमन्त्री पौडेललाई अर्थविद्का नाताले सल्लाह र सुझावसमेत दिँदै आएका गभर्नर पौडेलमाथि घात नहोला भन्न सकिन्न । 

यति भन्दै गर्दा जुन ‘पीडा’ उनले भोग्नु परेको छ त्यसको भर्पाइ नहोला । सबैको चाहना माथिल्लो पदमा पुगेपछि नेतृत्व सम्हाल्ने हुन्छ नै ।

निलमले गरेको प्रयासलाई नकारात्मक लिनु उचित हुन्न । तर उनले गुमाएको धैर्यले भने उनलाई नै असर पारेको छ । 

भोलिका दिनमा गल्ती स्वीकारेर उनले गभर्नर पौडेलसँग निकट भएर काम गरिन् भने पनि आश्चर्य नमाने हुन्छ । किनकि पाठ गल्तीबाटै सिक्ने हो । 

प्रधानमन्त्री ओलीलाई पाठ
नवनियुक्त गभर्नरमाथि भएको यो घटनालाई सहजै बिर्सन सकिँदैन । किनकि यसले ठूलो पाठ सिकाएको छ । 

यसलाई सहजै पचाइदिने हो भने भोलिका दिनमा आफूभन्दा माथि आउने सिनियरलाई जुनियरले गर्ने व्यवहार यसरी नै बढ्दै जान्छ । 

प्रधानमन्त्री केपी ओलीले जसका लागि लड्न खोजेका थिए त्यसरी नै उनकी मान्छेले संस्कार सिक्नुपर्ने देखियो । 

प्रधानमन्त्रीका लागिसमेत यो घटना आँखा खोलिदिने दृष्टान्त बनेको छ । 

हिजोका दिनमा विश्वराजसँग प्रतिस्पर्धी भए पनि आजदेखि उनले स्वागत गर्नुपर्नेमा बेवास्ता गर्दा उनीबाट भोलिका दिनमा गभर्नरलाई असहयोग हुने खतरा छ । 

त्यस्तै प्रधानमन्त्री आफैँले नियुक्त गरेका गभर्नरलाई आफ्नै पार्टीका कोही कसैबाट असहयोग भयो भने त्यसले हानि उनलाई पनि हुने नै छ । 

अर्कातर्फ केपी ओली पाका व्यक्ति हुन् । अनुभवी व्यक्ति हुन् । कुनै गैरराजनीतिक कार्यक्रममा गए वा विद्यार्थीहरुमाझ गए भने उनी ‘मोटिभेसनल स्पिकर’ पनि हुन् । 

उनले साना साना विद्यार्थी बालबालिकालाई दिएका आशीर्वचन निकै फलदायी सावित भएका छन् । 

उनी विद्यार्थी बालबालिकाको ध्यानाकर्षण गर्न निकै सिपालु पनि छन् । उनको भनाइ उनीहरु सिरोपर पनि गर्दै आएका छन् । 

केपी ओलीलाई सञ्चारमाध्यमले ‘तिमी’ शब्दको प्रयोग गरेको कत्ति पनि मन पर्दैन । अर्थात् उनले अंग्रेजीको उल्था गरेर तिमी बनाइएको भन्दै असन्तुष्टि पोख्दै आएका छन् । 

आफूभन्दा ठूलालाई आदर गर्नुपर्ने उनको जिकिर छ । ठूलासँग मर्यादा राख्नुपर्ने उनको भनाइ छ । त्यो त भाषामात्र हो । व्यवहारमा मिडियाले मर्यादा नाघेका छैनन् । 

तर के मिडियालाई पाठ पढाउन खोज्ने ओलीले निलमलाई सम्झाउन सक्लान् त ? होइन भने मर्यादाको पाठ त सिक्नै पर्ने भयो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ