योगेश भट्टराई भन्छन्- मेरो कार्यकालमा अनियमितता भए अख्तियारमा बयान दिन जान्छु
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
607
Shares
काठमाडौँ । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले आफ्नो कार्यकालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कुनै अनियमितता भएको पाइएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेमा आफू बयान दिन जाने बताएका छन्।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले अख्तियारले आवश्यक छानबिन गरेर यथार्थ विवरण समितिमा पठाउनुका साथै आवश्यक कारबाही गर्न नहिचकिचाउनुपर्ने बताए। निर्णय प्रक्रियामा आफ्नो पार्टीको कोही संलग्न भएको भए कारबाहीको दायरामा आउने प्रतिबद्धता पनि उनले जनाए।
"यसमा आवश्यक छानबिन गरीकन यथार्थ विवरण यहाँ पनि पठाउनुपर्छ अख्तियारले। साथै आवश्यक कारबाही पनि गर्नुपर्छ," उनले भने, "यो निर्णयको प्रक्रियामा मेरो पार्टीको पनि कोही संलग्न छौँ, छन् भने कारबाहीको दायरामा हामी आउँछौँ। म टोटल मिडियाको अगाडि भन्छु। मेरो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको अख्तियारले छानबिन गर्छ भने म बयान दिन जान्छु। अर्को पर्यटनमन्त्री पनि जाओस्।"
सांसद भट्टराईले कसैलाई लुकाउन वा छिपाउन कसैले पनि नखोजेको स्पष्ट पारे।