हार्छु भन्दा पनि जिल्ला अधिवेशन नगरिदिने पार्टी काँग्रेस
सोलुका नेता केन्द्रीय कार्यालयमा रिले अनशन बस्दै
प्रकाशित २०७३ माघ २ आइतबार
3.7k
Shares
काठमाडौं । तत्काल जिल्ला अधिवेशनको मिति तोक्न र पार्टीको आन्तरिक लोकतन्त्र सुरक्षित गर्न दबाब दिन सोलुखुम्बुका काँग्रेस नेताले पार्टी केन्द्रीय कार्यायलमै रिले अनशन सुरु गर्दै छन् । हुनै लागेको अधिवेशन पटक–पटक हुन नदिएको भन्दै सोलुका जिल्ला नेताहरु रिले अनशन बस्न लागेका हुन् ।
पार्टी नेतृत्व र पदाधिकारीलाई पटक–पटक जिल्ला अधिवेशन तोक्नका लागि लिखित मौखिक दुवै अनुनय विनय गर्दा पनि नसुनिएकाले आन्दोलित हुनु परेको जिल्ला सचिव एवं संचार समिति प्रमुख चन्द्र आचार्यले हाम्राकुरालाई बताए । आचार्यले भने, ‘जिल्ला अधिवेशनको मिति तोक्न भनि हामीले पछिल्लो समय दिएको अल्टिमेटमको समय आइतबार सकिएको छ । सोमबार मध्यान्हबाट हामी पार्टी केन्द्रीय कार्यालयमा रिले अनशन सुरु गर्छौं ।’
जिल्ला अधिवेशन गराउन भन्दै जिल्लाका पूर्व पार्टी सभापतिहरु सबै, कार्यसमिति, भ्रातृ संस्था लगायत सबैले जोड बल गरेका छन्, आचार्यले भने, ‘आन्दोलनमा यी सबैको साथ छ ।’ सबैले लोकतान्त्रि पद्दतिबाट वैधानिक कार्यसमिति बन्नु पर्छ भनेका छन् । एक वर्ष अघि तत्कालिन पार्टी सभापति सुशील कोइरालाको निधनको शोकले रोकिएको जिल्ला अधिवेशन, पछि पटक–पटक गर्न खोजिएको र नभएको आचार्यले जानकारी दिए ।
कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले सर्वसम्मत भएको भन्दै जिल्ला कार्यसमितिको खाका केन्द्रीय निर्वाचन समितिलाई बुझाएको र केन्द्रीय निर्वाचन अधिकृत राधेश्याम अधिकारीले त्यसलाई स्वीकृत गर्ने सम्मको वद्मासी भएको बताइएको छ । असन्तुष्टहरुले त्यो कार्यसमितिलाई वैधानिकता दिए पार्टीको विधानको औचित्य समाप्त हुने बताएका छन् ।
हार्छु भन्दा पनि जिल्ला अधिवेशन नगरिदिने पार्टी : काँग्रेस
आचार्यले गुनासो गर्दै भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र धरापमा छ । हामीले चुनाव हार्छु, भन्न अधिवेशन गराइँदैन । यो अवस्थामा प्रतिपक्षि सामुन्ने हाम्रो वद्नाम भइसक्यो ।’ बाहुबलका आधारमा कागजमा कार्यसमिति बनाइनु दुःखद् भन्दै आचार्यले भने, ‘हाम्रा क्षेत्रीय प्रतिनिधिको मताधिकार हनन गरियो । हार्छु भन्दा पनि अधिवेशन गराइएन । जिल्लाका सबै नेताहरु निराश छन् ।’ लोकतन्त्रको मूल्य मान्यता विपरीत भइरहेका गतिविधिलाई गम्भीरताका साथ नहेर्ने पार्टी नेतृत्वप्रति नै कार्यकर्ता आजित छन् ।
यस्तै हो भने स्थानीय निकायको निर्वाचन जान्नौं
आचार्यले यही विवाद लिएर आफुहरु स्थानीय निकायको निर्वाचनमा जान नसक्ने बताएका छन् । सबै दलले स्थानीय निकायको निर्वाचनका लागि संगठन परिचालन गरिसकेका छन् । हाम्रो वैधानिक जल्ला कार्यसमिति नै बन्न सकेको छैन, आचार्यले भने, ‘पार्टीको विधान अनुसार लोकतान्त्रिक पद्दतिबाट तत्काल वैधानिक कार्यसमिति बन्नु पर्छ ।’ अन्यथा निर्वाचनमा जान सकिँदैन । सबै साथीहरु निराश छन् ।