arrow

तस्करका लागि बारा आकर्षक

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
santosh-tamang-sp-bara.jpg
तस्बिर – प्रहरी उपरीक्षक सन्तोष तामाङ।

कलैया। मधेस प्रदेशका जिल्लाहरुमध्ये तस्करहरुको लागि सबैभन्दा आकर्षक जिल्ला अहिले बारा बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा घर भएका र उनको सुरक्षा दस्ताको कुनै बखत नेतृत्वसमेत गरेकोले सधैं आकर्षक ठाउँमा पोस्टिङ हुँदै आएका प्रहरी उपरीक्षक सन्तोष तामाङ बाराको प्रहरी प्रमुख भएर आएपछि सधैं शक्तिको भक्तिमा रहने तस्करहरु आकर्षित भएको एक तस्करले बताए । 

अहिले बारा जिल्लाभित्र थाना चौकीको प्रमुख भएर जानेहरूको लागि एसपी तामाङले नयाँ दररेट कायम गरी कबुलेकाहरूलाई थाना चौकीको जिम्मा दिने गरेको आरोप छ। 

एक जुनियर अधिकृतका अनुसार अमलेखगंजमा २ लाख, पथलैयामा ३ लाख, जीतपुरमा १ लाख, मुशहरवामा ३ लाख, छतवामा १ लाख, मटीअर्वामा १ लाख, पथलवाघाटमा ५० हजार, कचोर्वामा ५० हजार, खजानीमा ५० हजार, दक्षिण झिटकैयामा ५० हजार, बसतपुरमा ३० हजार, तेलकुवामा ५० हजार, लंगडा चौकमा ३० हजार, शिक्षा अफिसमा ५० हजार, बसपार्कमा ५० हजार, जोधपुर गम्हरियामा ३० हजार, बरियारपुरमा ५० हजार, गंजभवानीपुरमा ५० हजार, जैतापुरमा ५० हजार र डुम्बरवाना प्रहरी चौकीमा ३० हजार महिनावारी कायम गरिएको छ।

तोकिएको महिनावारी रकम प्रत्येक महिनाको १ देखि ५ गतेभित्र बुझाउनु पर्ने र अवधि तीन महिनाको हुने तथा सेवा सत्कार राम्रोसँग गरेमा तीन महिना थप हुने गरेको अघोषित नियम रहेको ती अधिकृतले बताए ।

बारा जिल्लाको इलाका प्रहरी कार्यालयहरुको दरबन्दीमा माथिबाट नै पठाउने गरेको भए पनि सिस्टम अनुसार उनीहरूले पनि जिल्ला प्रमुखको सेवा सत्कार गर्नै पर्ने हुन्छ।

बाराका अधिकांश नाकाहरूबाट कपडा, सुर्ती, चाइनीज स्याउ, कुखुराको चल्ला, माछा र किराना आइटमको व्यापक तस्करी हुने गरेको छ। बारा जिल्लाका एसपी प्रधानमन्त्री निकट रहेकोले हल्ला सबैतिर फैलिएकोले यहींको नाकाबाट तस्करी गर्दा फाइदा हुने देखेर अन्य जिल्लाका तस्करहरूसमेत कलैयामा डेरा जमाएर बस्ने गरेको स्रोत बताउँछ ।

प्रहरी उपरीक्षक तामाङले झापा जिल्लाकै आफ्ना छिमेकी प्रहरी निरीक्षक खेमप्रसाद नेपाललाई बोलाएर बारा जिल्लाको अपराध शाखाको जिम्मा दिएका छन् । 

प्रहरी निरीक्षक नेपाल अर्का एक असई बलबहादुर तामाङलाई बोकेर दिनभरि असुलीमा हिँड्ने गरेको स्रोतको दाबी छ । 

प्रहरी स्रोतका अनुसार निरीक्षक नेपाल एक पटक सुन तस्करी गरेको अभियोगमा बर्खास्तीमा परेर उम्केका थिए ।

प्रमुख तामाङसँग भने पटक पटक मोबाइलमा सम्पर्क गर्न खोज्दा पनि सम्पर्क भएन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ