जलवायु परिवर्तनको मारमा मनाङका परम्परागत माटाका घर: बर्खामा जोखिम बढ्दै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
669
Shares
मनाङ। हिमाली क्षेत्रमा हिउँले पानीको आवश्यकता पूर्ति गर्ने र वर्षा नहुने भन्ने कथन अब फेरिएको छ। पछिल्लो समय हिमाली जिल्ला मनाङमा औसतभन्दा अधिक वर्षा र लगातार झरी पर्न थालेपछि यहाँका माटाका छानो भएका परम्परागत घरहरू मासिन थालेका छन्, जसले गर्दा बर्खायाममा ती घरहरू डरैडरमा रहेका छन्।
परम्परा र मौलिकता झल्कने गरी रैथाने सीप, ज्ञान र प्रविधिको प्रयोगबाट बनाइएका यी घरहरूको छत माटोले बनाइएको हुन्थ्यो। तर, जलवायु परिवर्तनको चेपुवामा परेर यी घरहरू अब कङ्क्रिटका बन्न थालेका छन्। विगतमा वर्षा नै नहुने माथिल्लो मनाङमा अहिले भारी वर्षा हुँदा माटोले बनाइएका परम्परागत घरको छतले धान्न नसकेको र पानीले भिजेर चुहिन थालेको छ।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले विशेषगरी नार र फुमा रहेका पुरातन सांस्कृतिक शैलीमा निर्माण गरिएका घरहरू वर्षाका कारण नासिँदै गएको बताए। "प्रकृतिसँग जुध्न सकिँदैन। प्रकृतिलाई फेर्न पनि सकिँदैन। जलवायु परिवर्तनले प्रत्यक्ष रूपमा प्रभाव पारेको देखिन्छ। परम्परागत तथा मौलिकता नै मासिने अवस्थामा पुगेको छ। यसका साथै परम्परागत संस्कृतिलाई समेत असर गरेको महसुस हुन्छ," उनले भने। विगतमा माथिल्लो मनाङमा वर्षा नहुँदा यस्ता घर नै पहिचान बनेकामा अहिले यो अवस्था फेरिएको उनको भनाइ छ।
परम्परागत संरचना र संस्कृतिमा असर
सदरमुकाम चामेमा पुराना परम्परागत घरहरू देखिन छाडेका छन्। विकासको क्रमसँगै आधुनिकताले छोप्दै जाँदा नासोँ तथा चामे गाउँपालिकामा अधिकांश घर आरसिसी गरी निर्माण भएका पाइन्छन्। तर, मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा भने अझै पनि पुरातन शैलीका सांस्कृतिक सम्पदाहरू देख्न सकिन्छ।
पूर्वजले बनाएका ऐतिहासिक सम्पदा, स्मारक, गुम्बा, छोर्तेन तथा देवस्थलको अस्तित्व नासिँदै जान थालेका छन्। एकातिर जलवायु परिवर्तनको प्रभावले घट्दो हिमपात, बढ्दो तापक्रम र वर्षाले मानिस तथा पशुचौपायाको स्वास्थ्य, सामाजिक, सांस्कृतिक धरोहर नासिने, रैथाने सीप, पहिचान तथा ज्ञान नासिने गरेको छ भने अर्कोतर्फ जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा हानी पुर्याएको छ। हिउँ र पानी कम पर्ने चक्र फेरिएपछि हिमाली जीवनशैली र संस्कृतिमा पनि असर परेको अध्यक्ष लामाले बताए।
"पर्यटकको 'हब'का रूपमा परिचित मनाङमा आउने विदेशी पर्यटक तिलिचो जान मात्रै आउँदैनन्। उनीहरू यहाँको जीवनशैलीको अध्ययन गर्न पनि आउँछन्, हामीले गुम्बा, छार्तेन, माटाका घरलगायत मौलिक पहिचान बनेको मनाङवासीको संस्कृति संरक्षण गर्नुपर्छ," नार्पाभूमिका अध्यक्ष लामाले भने। उनले नार्पाजातिको संस्कृति, रीतिरिवाज संरक्षण गर्न प्रतिबद्ध रहेको पनि बताए।
परिवर्तनको बाध्यता र संरक्षणको चुनौती
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले अधिक वर्षा हुँदा यहाँका बासिन्दाले कङ्क्रिटका घर बनाउन बाध्य भएको बताए। "विगतमा जस्तो पानीको आवश्यकता हिउँले पूरा गर्दैन। भारी वर्षा हुन्छ। जसले चिसो ठाउँ भएकाले वर्षाबाट बच्न माटाको घर फेरिन बाध्य भएका छौं," उनले भने, "चामे–५ मा केही परम्परागत मौलिक घर थिए। अहिले ती पनि नासिँदै गएका छन्। जति वर्ष फेरिन्छ, त्यति वर्षा बढ्दा समस्या भएको छ।"
बाक्लो गारो भएको माटोको घरभित्र बस्दा जाडोमा न्यानो र गर्मीमा शीतल महसुस हुन्छ। यस्ता घरमा बस्दा जाडोयाममा चिसोजन्य रोगले छुँदैन। तर, आधुनिकताले छोपेपछि आरसिसी घर बन्ने क्रम जारी छ। यस्ता घरमा गर्मीमा बढी गर्मी र जाडोमा बढी जाडो हुन्छ।
विज्ञका अनुसार, माटोले बनेका घरले तातो चिसो सोसेर राख्छ, जसले गर्दा जाडोमा न्यानो र गर्मीमा शीतल हुन्छ। यी पुराना सम्पदाको संरक्षणका लागि तीनै तहका सरकारका साथै सम्बन्धित निकाय सचेत हुन आवश्यक छ। विशेषगरी जलवायु परिवर्तन न्यूनीकरण तथा हरित वृद्धिमा सरकारले चासो दिन सकेमा यहाँको जीवनशैलीलाई मुख्य रूपमा टेवा पुग्नेछ।