गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुस् - वर्षमान पुन [भिडियो]
संसदमा माओवादीले माग्यो गृहमन्त्री लेखकको राजीनामा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
709
Shares
काठमाडौँ । प्रतिनिधि सभामा नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणको छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। पुनले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने चेतावनीसमेत दिएका छन्।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख गृहमन्त्रीले नै सरुवा गरेको व्यक्ति रहेको र गृहमन्त्रीको सचिवालय पनि यस प्रकरणमा जोडिएको आरोप लगाए। पुनले भने, "स्वयं गृहमन्त्रीज्यूले नै सरुवा गर्नुभएको व्यक्ति कार्यालय प्रमुख रहेका छन्। उहाँको सचिवालय यसमा जोडिएको छ।"
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा सेटिङ गरेको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लिई उनीहरूका डिभाइस अनुसन्धानका लागि पठाएको सन्दर्भमा पुनले 'ठूलो माछा को हो' भन्दै प्रश्न उठाएका छन्। उनले थपे, "अख्तियारले अपरेशन सुरु गरेको छ। उसलाई सानो माछा भनेर दुई दिनमै छोडिरहेको छ। ठुलो माछा को हो? अहिले नै हामी कसैलाई आरोपित गर्न चाहँदैनौँ। यसका लागि गृहमन्त्रीज्यूले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुस् भनेर हाम्रो विनम्र अनुरोध छ।"
प्रमुख प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेपछि संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ।