arrow

बङ्गलादेशमा राजनीतिक अस्थिरताले जनजीवन अस्तव्यस्त, सडक प्रदर्शन जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
bangladesh-agitation-24-8-5.jpg

ढाका । बङ्गलादेशको राजधानी ढाका गत वर्ष अगस्टमा भएको विद्रोहपछि राजनीतिक उथलपुथलको चपेटामा परेको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाको सत्ताच्युतिपछि यहाँको दैनिक जनजीवन निरन्तरको प्रदर्शन र आन्दोलनका कारण अस्तव्यस्त बनेको छ। वर्तमान सरकार र सत्ता सम्हालेको समूहविरुद्ध आन्दोलनरत विभिन्न पक्षहरूले सडकमा प्रदर्शन गरिरहेका छन्।

हसिनाको १५ वर्ष लामो शासन विरुद्ध विद्यार्थी नेतृत्वको विद्रोहले उनी सत्ताबाट हटाइएसम्म तत्कालिन प्रशासनले विपक्षीका आवाजहरूलाई दबाएर राखेको थियो। त्यसयता करिब १७ करोड जनसङ्ख्या रहेको यो दक्षिण एसियाली राष्ट्रमा राजनीतिक अस्थिरता कायम छ।

राजधानी ढाकामा एकै दिन आधा दर्जन प्रदर्शन
दुई करोडभन्दा बढी जनसङ्ख्या भएको ढाकामा बुधबार मात्र विभिन्न समूहका गरी कम्तीमा आधा दर्जन प्रदर्शनहरू भएका छन्। राजनीतिक र्‍याली, प्रतिरोध प्रदर्शन, मजदुर हडताल, र एक इस्लामी नेताको मृत्युदण्डबाट रिहाईको उत्सवसहितका प्रदर्शनहरू ढाकाका विभिन्न भागमा एकै दिनमा सम्पन्न भएका हुन्।

देशको प्रमुख इस्लामिक पार्टी जमात–ए–इस्लामीका वरिष्ठ नेता एटीएम अजहरूल इस्लामलाई सर्वोच्च अदालतले मृत्युदण्डको सजाय उल्टाएर युद्ध अपराधबाट सफाइ दिएपछि बुधबार मध्य ढाकास्थित कारागारबाट रिहा गरिएको थियो। हजारौं समर्थकहरूलाई हात हल्लाउँदै इस्लामले भने, "चौध वर्षसम्म जेलमा बसेपछि आज बिहान रिहा भएँ।" भीडले जयजयकार गर्दै उनलाई स्वागत गरेको थियो। इस्लामले विगतमा अदालतमा राजनीतिक प्रभाव रहेको स्वीकार गर्दै आगामी दिनमा जनताले न्याय पाउने कुरा सुनिश्चित हुने आशा व्यक्त गरे। उनको रिहाइको विरोधमा बामपन्थी पार्टीहरूले प्रदर्शन गर्ने बताएका छन्।

यसैबीच, नयाँ पल्टन नजिकै रहेको रम्ना पार्कमा बङ्गलादेश नेसनल पार्टी (बीएनपी) को समर्थनमा निकालिएको र्‍यालीमा हजारौं मानिसहरूले सडक जाम गरेका थिए।

दैनिक जीवन र सुरक्षा चुनौती
दशौं हजार मानिसहरू आफ्ना मागहरू लिएर दैनिक ढाकाका प्रमुख चोकहरूमा भेला हुने गरेका छन्, जसका कारण सर्वसाधारण ट्राफिक जामले भरिएका सडकहरूमा घण्टौं लगाएर यात्रा गर्न बाध्य छन्। कुखुरा व्यापारी जकिर हुसेनले बुधबार भने, "दिनको समयमा सबै मुख्य सडकहरू अवरुद्ध हुन्छन्। हामीले आफ्नो तालिका परिवर्तन गर्नुपरेको छ। म अहिले मध्यरातमा काम सुरु गर्छु, यद्यपि कानून र व्यवस्थाको स्थिति हरेक दिन बिग्रँदै गइरहेको छ र लुटपाटहरू सामान्य भइसकेका छन्।"

गत वर्ष हसिनालाई सत्ताच्युत गर्ने विरोध प्रदर्शनलाई दबाउन प्रहरीले गरेको असफल प्रयासले हिंसात्मक रूप लिएको घटना सम्झेर धेरै नागरिक चिन्तित छन्। एक ४३ वर्षीया गृहिणीले आफ्नो नाम नबताउने शर्तमा भनिन्, "स्थिति अकल्पनीय छ, कुनै पनि बेला विरोध प्रदर्शनले हिंसात्मक रूप लिन सक्छ। म कहिल्यै पनि मेरो पतिलाई धेरै फोन गर्दिनथेँ, तर अहिले म फोन गर्छु। अफिसबाट घर आउन अलि ढिला भयो भने मेरो दिमागमा सबै खाले नराम्रा विचार आउँछन्।"

निर्वाचनको तयारी र अन्तरिम सरकारको चेतावनी
बङ्गलादेशका अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसले निर्वाचन नभएसम्मका लागि कामचलाउ सरकारको प्रमुख सल्लाहकारका रूपमा नेतृत्व गरिरहेका छन्। अन्तरिम सरकारले सन् २०२६ को जुन महिनाभित्र निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, जसको तयारीमा राजनीतिक दलहरू जुटेका छन्।

यद्यपि, सरकारले शनिबार 'अनुचित माग' र अवरोधले आफ्नो काममा निरन्तर बाधा पुर्‍याइरहेको चेतावनी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ