राप्रपाको हुँकार, खास लडाइँ भोलिबाट, ५० ठाउँबाट निस्कने
नियन्त्रणमा परेका कमल थापासहित छ जना भद्रकाली प्रहरी परिसरमा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
3.7k
Shares
काठमाडौँ । राजावादी आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि उनका आन्दोलनका मुख्य सहयोगी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आक्रोशित भएका छन् । अध्यक्ष थापालाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरी लगेपछि लिङदेन आक्रोशित भएका हुन् ।
‘हामी शान्तिपूर्ण प्रदर्शन गरिरहेका छौँ, आज प्रहरीले दमन गरेको छ, यो सह्य छैन’, थापा पक्राउ परेपछि लिङदेनले भने, ‘खास लडाइँ अब भोलिबाट शुरू हुन्छ, हामी एक ठाउँमा जम्मा हुँदैनौँ, ५० ठाउँबाट जुलुस निकाल्छौँ ।’
नारायणचौर, नक्सालमा जम्मा भएर बालुवाटारतर्फ जान लाग्दा प्रहरीले प्रदर्शनकारीमाथि हस्तक्षेप गरेको हो । सो प्रदर्शनमा प्रहरीले लाठी चार्ज गर्दा केही घाइतेसम्म हुन पुगेका छन् ।
कमल थापालाई भद्रकालीमा राखियो
निषेधित क्षेत्र तोड्न खोजेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना राजावादी पक्राउ परेका छन् । नक्साल, नारायणचौरवाट बालुवाटारतर्फ जान खोज्दा थापासहित ६ जना राजावादी पक्राउ परेका हुन् ।
राप्रपा नेपालका अनुसार यसरी पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् ।
उनीहरूलाई काठमाडौँ जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।