जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नुपर्छ - मन्त्री ठकुरी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
377
Shares
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु सङ्कटको समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नु अति आवश्यक भइसकेको बताएका छन्। उनले अब प्रतीक्षा गर्ने समय नरहेकोमा जोड दिएका छन्।
मन्त्री ठकुरीले जलवायु परिवर्तनका कारण घटिरहेका घटनाहरूले हामीलाई स्पष्ट रूपमा सचेत गराएको बताए। उनले मुलुकभरका हिमाल, पहाड र तराई–मधेससम्म जलवायु सङ्कट प्रत्यक्ष देखिँदै गएको र भविष्यमा यो अझै भयावह हुने अवस्थामा रहेको जिकिर गरे। मन्त्री ठकुरीले ४७ वटा खतराजन्य हिमालहरूमध्ये २१ वटा उच्च जोखिममा रहेको जानकारी पनि दिए।
गत वर्ष सगरमाथा क्षेत्रको थामेमा भएको हिमताल विस्फोट, दोधारा चाँदनी र काठमाडौं उपत्यकामा वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबान, साथै जेठ २ गते हुम्लाको लिमी क्षेत्रको तिला गाउँमा भएको हिमताल विस्फोटजन्य बाढी–पहिरोजस्ता घटनाहरू जलवायु सङ्कटका स्पष्ट चेतावनीहरू भएको उनले बताए।
मन्त्री ठकुरीले जलवायु सङ्कटले मानव स्वास्थ्यमा मात्र नभएर खाद्य सुरक्षालाई नै खतरामा पार्दै गइरहेको पनि उल्लेख गरे।