रामेछापमा फौजी कीराको प्रकोपले मकैबाली नष्ट, किसान चिन्तित
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
563
Shares
मन्थली (रामेछाप) । रामेछाप जिल्लाका अधिकांश खेतबारीमा लगाइएको मकैबालीमा फौजी कीराको प्रकोप देखिएपछि किसानहरू चिन्तित भएका छन्। यस कीराले मकैको पात खाने र बिस्तारै गुबो नै खाइदिने गरेपछि मकैको उत्पादनमा गम्भीर असर पर्ने देखिएको छ।
किसानहरूका अनुसार, फौजी कीराले मकैको गुबोबाट निस्कने धानचमरा र डाँठमा निस्कने बेला भएको सुत्लालाई समेत निस्कन दिएको छैन। केही धानचमरा निस्किहाले पनि त्यसले काम नगर्ने, घोगा नलाग्ने, र पात ठुटो पारेर खानेजस्ता समस्या देखिएका छन्।
मन्थली नगरपालिका–७ की किसान सरिता ढुङ्गेलले फौजी कीराको नियन्त्रण नगरेमा मकैबाली पूरै सखाप हुने अवस्था आएको बताएकी छन्।
यो प्रकोप मन्थली नगरापालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगङ्गा, खाँडादेवी गाउँपालिकालगायत विभिन्न पालिकाका खेतबारीमा लगाइएको मकैमा देखिएको हो।
मन्थली नगरपालिकाका कृषि विकास शाखाका प्रमुख कृष्ण भुजेलले फौजी कीराले मकैबालीलाई दुःख दिएको जानकारी आफूलाई भएको र पालिकामार्फत त्यसको नियन्त्रणका लागि आवश्यक पहल भइरहेको बताएका छन्। यद्यपि, यसको नियन्त्रण निकै चुनौतीपूर्ण रहेको उनको भनाइ छ।