क्यानाडाद्वारा नाटोको रक्षा खर्च लक्ष्य यसै वर्ष पूरा गर्ने घोषणा, अमेरिकामा निर्भरता घटाउने
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
1.7k
Shares
काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार टोरन्टोमा क्यानडाले यसै वर्ष नाटोको रक्षा खर्चको दुई प्रतिशत लक्ष्य पूरा गर्ने घोषणा गरेका छन्। उनले वर्तमान विश्वव्यापी परिस्थितिहरू अझ जटिल र चुनौतीपूर्ण हुँदै गएकाले क्यानडाले अमेरिकामा निर्भरता घटाएर आफ्नो सुरक्षा व्यवस्था सुदृढ बनाउनु आवश्यक रहेको औँल्याए।
प्रधानमन्त्री कार्नीले भने, “म आज घोषणा गर्न चाहन्छु कि क्यानडाले नाटोको दुई प्रतिशत रक्षा खर्चको लक्ष्य यस वर्ष नै पूरा गर्नेछ, जुन तय भएको समयभन्दा पाँच वर्ष छिटो हो।” उनले थपे, “हामीमाथि खतराहरू बढिरहेका छन्।”
यो घोषणा अन्य देशहरूले पनि यस्तै घोषणा गरेपछि आएको हो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सदस्यहरूलाई आफ्नो रक्षा खर्च बढाउन निरन्तर दबाब दिइरहेका छन्।
कार्नीले भने, “यो संसार कठिन र प्रतिस्पर्धात्मक हुँदै गएको छ। त्यसैले क्यानडाको नेतृत्व हाम्रो मूल्य र शक्ति दुवैबाट देखिन्छ।”
उनले अमेरिकाको विश्व नेतृत्व बदलिँदै गएको बताउँदै, “संयुक्त राज्यले आफ्नो बजारमा पहुँचका लागि शुल्क लिँदैछ र हाम्रो सुरक्षा सहयोग घटाइरहेको छ।” यसैले क्यानडाले आफ्नो रक्षा खर्चको धेरै हिस्सा अमेरिका पठाउन बन्द गर्नुपर्ने उनको भनाइ थियो।
कार्नीले रूस र चीनबाट पनि नयाँ खतरा देखिएको बताउँदै क्यानडाले आफ्नो सुरक्षा बललाई बलियो बनाउनुपर्नेमा जोड दिए।
अप्रिलमा ३२ सदस्यमध्ये २२ ले दुई प्रतिशत रक्षा खर्च पूरा गरिसकेका नाटोले जनाएको छ। रूसले सन् २०२२ मा युक्रेनमाथि हमला गरेपछि युरोपेली देशहरूले आफ्नो सैनिक खर्च बढाएका छन् र नाटोले दुई प्रतिशत रक्षा खर्चलाई न्यूनतम मानक बनाएको छ।