arrow

गृहमन्त्रीको राजीनामा आउँदैन, समिति बन्न सक्छ: प्रवक्ता गुरुङ [भिडियो]

अवरुद्ध प्रतिनिधि सभाको बैठक चाँडै सुचारु हुने विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
pritivi-28.jpg

काठमाडौँ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक चाँडै सुचारु हुने विश्वास व्यक्त गरेका छन्। बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आज वा भोलिसम्म (बुधबार वा बिहीबार) बैठक सुचारु हुने बताएका हुन्।

विपक्षी दलहरूले 'भिजिट भिसा' प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन्। तर, प्रवक्ता गुरुङले अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरु गरेको अवस्थामा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पारे। उनले एउटा कर्मचारीमाथि छानबिन हुनेबित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने तर्क गरे।

हाल पनि संसदको अवरोध खुलाउने बारेमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल जारी रहेको बताउँदै गुरुङले गृहमन्त्रीले राजीनामा नदिने तर संसदीय छानबिन समिति कसरी बनाउने भन्नेमा छलफल भइरहेको जानकारी दिए।

उनले सदनमा उठेका प्रश्नको जवाफ गृहमन्त्रीले संसदमा दिने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्दै बजेटसम्बन्धी छलफलको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए। "संसद अवरुद्ध भएको धेरै दिन भइसकेको छ। अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरु गरेको छ। गृहमन्त्रालयको एउटा कर्मचारीमाथि। एउटा कर्मचारीमाथि छानबिन हुनेबित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्दैन। धेरै हिसाबले अनुपयुक्त थियो," मन्त्री गुरुङले भने, "अहिले संसद जसरी अवरुद्ध भइरहेको छ, सत्तापक्ष र प्रतिपक्षको बीचमा लामै छलफल चलिरहेको छ। आज सम्भवतः संसद खुल्न सक्ने सम्भावना छ। गृहमन्त्रीले राजीनामा दिने कुरा फेरि पनि आउँदैन। धेरैमा संसदीय छानबिन कसरी बनाउने, के बनाउने भन्नेमा छलफल भइरहेको छ।"

मन्त्री गुरुङले सानोतिनो कुरा उठाएर अफ्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्न नसक्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ