हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचियो, तीन कामदारको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
607
Shares
तस्बिर फाइल
पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको हिजो राति मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार मृत्यु हुनेहरूमा बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो। जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले हिजो राति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिएका छन्। मृतकका शव सोही अस्पतालमा रहेको उनले बताए।
कसरी भयो दुर्घटना ?
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो। हेवा खोलाको फिदिम नगरपालिकातर्फको भागमा बेलिब्रिज जडान गरी स्काभेटरको सहायताले ठेलेर खोला पारिपट्टि हिलिहाङ गाउँपालिकातर्फ टेकाइएको थियो। प्रत्यक्षदर्शीका अनुसार फिदिमतर्फको भागको भार अत्यधिक हुँदा बेलिब्रिज भाँचिएको हो। बेलिब्रिज भाँचिदा जडानको काम गरिरहेका छ जना कामदार बेलिब्रिजसँगै खोलामा खसेर घाइते भएका थिए।
२०८० असार २ गते आएको बाढीले यहाँ रहेको ४५ मिटर लामो सडक पुल बगाएपछि सोही वर्षको साउनमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो। तर, उक्त बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगाएपछि करिब ९० मिटरमुनि नयाँ बेलिब्रिज निर्माण भइरहेकामा कार्य सम्पन्न हुन लाग्दा दुर्घटना भएको जनाइएको छ।
उक्त बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो भने संरचना निर्माण तथा जडान रु तीन करोड ४९ लाखको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले गरिरहेको थियो।