हामीले प्लास्टिकको प्रयोगलाई मात्रै पनि न्यूनीकरण गर्न सक्यौँ भने वातावरण संरक्षण र जलवायु परिवर्तनको सन्दर्भमा केही हदसम्म सकारात्मक परिणाम हासिल गर्न सकिन्छ
शशी काफ्ले,
प्रकाशित २०८२ असार ३ मंगलबार
1.5k
Shares
जलवायु परिवर्तनका विषयहरू तीव्र रूपमा उठान भइरहेका छन् । जलवायु परिवर्तन आफैँमा स्वचालित र क्रमशः हुने पद्धति भएता पनि विगतका केही वर्षहरूमा यस परिवर्तनमा देखिएको तीव्रता अहिलेको चासोको विषय हो । विगत २५ वर्षमा विश्व तापमान तीव्र गतिमा बढिरहेको अध्ययनहरूले बताउँछन् ।
समुद्रभन्दा दुई गुणा दरले जमीन तातिरहेको छ । सन् २०२४ मा त विश्वका विभिन्न भूभागमा उच्च तापक्रम रेकर्ड गरिएको थियो जसले वैज्ञानिकहरूले तोकेको सीमाभन्दा पृथ्वीको तापमान वृद्धि पहिले नै १.५ डिग्री सेल्सियसको सीमा नाघिसकेको देखाउँदछ । वैज्ञानिकहरूका अनुसार यो सीमा नाघ्नुले प्रकृति र वातावरण प्रणालीमा गम्भीर असर पार्न सक्छ ।
यस विषयमा नेपाललाई भने खाँदै नखाएको विष लागेको छ भन्दा फरक नपर्ला । धनी तथा ठूला भनिएका राष्ट्रहरूले औद्योगिकीकरण तथा आधुनिकीकरणको नाममा उत्पादन गरेका हरित गृह ग्याँसरूपी विष हामीले सहँदै आउनुपरेको छ । यसलाई एक प्रकारको धनीले गरिबमाथि गर्ने अन्याय र दासत्व प्रवृत्तिको दृष्टान्तका रूपमा देख्नु अनुचित नहोला ।
नेपालले कूल ग्रीनहाउस ग्यास उत्सर्जनमा मात्र ०.०२ प्रतिशत योगदान दिए पनि ग्लोबल क्लाइमेट इन्डेक्स २०२१ अनुसार जलवायु परिवर्तनप्रति नवौँ संवेदनशील राष्ट्रको सूचीमा पर्छ । यसको प्रभाव नेपालका विभिन्न भूभागहरूमा प्रत्यक्ष देखिन थालेका छन् । यसको प्रकोपबाट नेपाललाई बचाउन विभिन्न संघसंस्थाहरू र नेपाल सरकार आफैँ पनि विभिन्न खाले नीति नियम तथा योजनाहरू लिएर अगाडि आइरहेका छन् ।
हालै जेठ २ देखि ४ मा काठमाडौँमा सम्पन्न ‘सगरमाथा संवाद’ ले नेपाल यस संवेदनशील विषयप्रति गहिरो चिन्ता व्यक्त गर्दछ भन्ने सन्देश त दियो तर यसमा के कति काम हुन्छ त्यो भने हेर्न बाँकी छ ।
केही वर्ष अगाडि छलफलको मात्रै विषय बनेको जलवायु परिवर्तन, अहिले यसको प्रभाव हामी प्रत्यक्ष महसुस गर्न थालिसकेका छौँ। अहिले जलवायु परिवर्तनका विज्ञ र यस सम्बन्धी काम गर्ने व्यक्तिहरू मात्र नभई प्रत्येक जनमानस यसका असरबारे कुनै न कुनै रूपमा जानकार र पीडित छन् ।
नेपालमा बेमौसमी वर्षा, अत्यधिक वर्षा, लामो सुखायाम, बढ्दो तापक्रम, हिमालमा घट्दो हिउँ तथा बढ्दो हिमताल फुट्ने जस्ता घटनाहरू अहिलेको जलवायु परिवर्तनले गर्दा भइरहेका ज्वलन्त उदाहरणहरू हुन् । यसले स्थानीय बासिन्दाहरूको दैनिक जनजीवनमा समेत प्रभाव पारिसकेको देखिन्छ। हिमाली भेगमा घट्दो हिउँले यस क्षेत्रमा हुने अन्नबालीमा समेत असर परेको र बाढीले तराईका भेगमा जनजीवन नै अस्तव्यस्त पारेको छ।
जलवायु परिवर्तनको विषय विश्वका धेरै ठूला राष्ट्रहरूसँग जोडिएको विषय भएकाले पनि हाम्रो देश नेपालले छिट्टै निकास पाउला भन्ने कुरामा विश्वस्त हुन सक्ने आधार छैन। विश्वव्यापी रूपमा हामीले सशक्त कदमहरू चाल्न नसके पनि स्थानीय रूपमै भए पनि अरुको आस गर्नुको सट्टा आफू स्वयंबाट सानो परिवर्तनका पहलहरू गर्दा हामीलाई नै राम्रो होला ।
फरेस्ट रिसर्च एण्ड ट्रेनिङ सेन्टर र इसिमोडको २०२२ को रिपोर्ट हेर्दा नेपालको वन र अन्य रूख तथा बुट्यान भएको भूभाग नेपालको जम्मा जमीन क्षेत्रको ४५.३३ प्रतिशतबाट वृद्धि भई ४६.०८ प्रतिशत पुगेको छ। यसमा सामुदायिक वनले कूल वन क्षेत्रको ३० प्रतिशत ओगटेको छ ।
नेपालमा सामुदायिक वन विकासको अवधारणा तथा कार्यक्रम वनका स्रोत तथा साधनको संरक्षण र दिगो उपभोगमा एउटा सफल नमूनाको रूपमा अगाडि आएको छ। यसै अवधारणालाई अझ सशक्त रुपमा अगाडि लैजान सके जलवायु परिवर्तनको मारमा परेका स्थानीयहरूले केही राहत महसुस गर्नेछन् ।
सुख्खायाममा हुने बढ्दो आगलागी तथा डढेलोलाई न्यूनीकरण गर्न सरकारी तवरबाट नै पूर्व तयारी गरी चाहिने स्रोत साधनहरू परिचालन गर्न सके जलवायु परिवर्तनको असर केही न्यूनीकरण हुने थियो । पूर्वाधार विकासका नाममा हुने ठूलो मात्रामा वनजङ्गल क्षेत्रको विनाशलाई न्यूनीकरण गर्न विकासका अन्य विकल्पहरू सोच्न सकिन्छ।
विभिन्न वैज्ञानिक अध्ययनहरू तथा स्नातकोत्तर तहको अनुसन्धानले देखाएको छ कि कृषि-वन उद्यमको प्रवर्द्धनले कार्बन उत्सर्जन घटाउन मात्र होइन, माटोमा कार्बन सञ्चय गर्न पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । सो अध्ययनको निचोड अनुसार बढी मात्रामा कार्बन सञ्चय गर्ने रूखहरू पहिचान गरी लगाउनाले समेत जलवायु परिवर्तनमा केही न्यूनीकरण गर्न सकिन्छ । खाली तथा बाँझो जग्गा राख्नको सट्टा त्यस प्रकारका रुखहरू लगाउनाले त्यहाँको स्थानीय मौसमलाई असर गर्ने र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ।
वन तथा वातावरण मन्त्रालयको सन् २०२० को एक रिपोर्ट अनुसार नेपालमा दैनिक ४,७४६ टन फोहर उत्पादन हुन्छ, जसको झण्डै १२ प्रतिशत प्लास्टिक हो । यस्ता प्लास्टिक तथा प्लास्टिकजन्य सामग्रीहरू गल्न सयौँदेखि हजारौँ वर्ष लाग्छ त्यसैले यसबाट निस्कने कार्बनलाई न्यूनीकरण गर्न विभिन्न कदमहरू चाल्न जरुरी छ ।
सरकारी तवरबाट प्लास्टिकको प्रयोगलाई निष्क्रिय गर्न कदम चाले पनि खासै उपलब्धिमूलक देखिएको छैन । यसका लागि हामी स्वयं सचेत भई प्लास्टिक तथा प्लास्टिक जन्य सामग्रीको प्रयोगमा न्यूनीकरण ल्याउन जरुरी छ । हामीले फलफूल तथा तरकारी किन्न जाँदा कपडाका झोला घरबाटै लिएर जाने बानी मात्र बसाल्न सक्यौँ भने पनि प्लास्टिकको प्रयोगमा निकै कमी आउने थियो ।
कपडाका झोलाहरू घरमा यत्रतत्र फालिरहेको भए पनि तरकारी, फलफूल किन्न जाँदा प्लास्टिकमै झुन्ड्याउँदै ल्याइरहेका हुन्छन् । स्वयं दैनिक तरकारी र फलफूल किन्न जाँदा सधैँ घरबाटै कपडाको झोला लिएर जाने गरेको तथ्य छ । पसलेहरूले सामान्यतः प्लास्टिकको झोलामा जोखेर सामान दिन्छन् तर ती सबै सामान आफ्नै झोलामा खन्याउने गरेको देखेर पसलेहरू अचम्म पर्छन् । धेरै ग्राहकले त्यसो नगर्ने भएकाले होला पसलेहरू यो व्यवहार देख्दा अचम्म मान्छन् ।
कतिपयले त ठट्टा गर्दै भन्छन्, “अरू मान्छेहरू त एउटा प्लास्टिक दिएपछि अर्को झोला पनि थपिदिनुस् भन्छन्, तपाईं चाहिँ प्लास्टिक नै लानुहुन्न ।” हामीले दैनिक रूपमा सरदर पाँच–छ वटा प्लास्टिकको झोला प्रयोग गरिरहेको हुन्छौँ । यस्ता स-साना अभ्यासहरूमार्फत यदि हामीले प्लास्टिकको प्रयोगलाई मात्रै पनि न्यूनीकरण गर्न सक्यौँ भने वातावरण संरक्षण र जलवायु परिवर्तनको सन्दर्भमा केही हदसम्म सकारात्मक परिणाम हासिल गर्न सकिन्छ भन्नेमा विश्वास गर्न सकिन्छ ।
त्यस्तै कुहिने र नकुहिने फोहरको वर्गीकरण त हामीले घरमै सजिलै गर्न सक्छौँ । कुहिने फोहर—जस्तै तरकारीका छिल्का, फलफूलका बोक्रा, चियापत्ति, पाकेको खाना आदिलाई घरमै कम्पोस्ट बनाउने विभिन्न तरिका अपनाएर मलमा रूपान्तरण गर्न सकिन्छ । यसले न केवल फोहरको मात्रा घटाउँछ, बरु माटोको उर्वरता बढाउने प्राकृतिक उपाय पनि हो ।
उता नकुहिने फोहर—जस्तै प्लास्टिक, बोतल, र्यापर, कन्टेनरजस्ता वस्तुहरूलाई छुट्टै संकलन गरेर पुनः प्रयोग वा पुनःप्रशोधन गर्न सकिने सम्भावना हुन्छ, जसले वातावरणमा पर्ने नकारात्मक असरलाई कम गर्न सहयोग पुर्याउँछ ।
हालै मात्र वातावरण दिवसको अवसरमा जलवायु परिवर्तन सम्बन्धी कार्यमा संलग्न संघ–संस्थाहरूले संयुक्त रूपमा आयोजना गरेको ‘इको-हाइक’ कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । हाइकिङको क्रममा हामीले जंगलको बाटोमा भेटिएका प्लास्टिकका बोतल, स्न्याक्सका खोल, चाउचाउ र बिस्कुटका प्याकेट, प्लास्टिक गिलास र झोलाजस्ता फोहरहरू बटुल्दै फर्कियौँ ।
हामीले ठूलो परिमाणमा प्लास्टिकजन्य फोहर संकलन गर्यौं, जुन देख्दा एकातिर दुःख लाग्यो र अर्कोतिर चेतनाको आवश्यकता झन् गहिरिएर महसुस भयो। त्यसबेला लाग्यो—प्रकृतिमा रमाउन निस्केका मानिसहरूले नै सोच बिनाको क्रियाकलापबाट प्रकृतिलाई बिगारिरहेका छन् ।
कमसेकम आफूले खाएर रहेका प्लास्टिकका खोल र बोतलहरू आफ्नै झोलामा राखेर वा नजिकै कुनै डस्टबिनमा राखिदिएको भए जंगलमा असर पर्ने थिएन । त्यसरी फालिएका प्लास्टिकजन्य सामग्रीहरूले माटोको उर्वरता घटाउनुका साथै जंगलको सम्पूर्ण वातावरणीय सन्तुलनमा समेत नकारात्मक असर पार्दछन् ।
त्यस्ता साना जस्ता देखिने व्यवहारिक कुरामा हामीले लापरबाही गर्दा दीर्घकालीन रूपमा गम्भीर पर्यावरणीय समस्या निम्तिन सक्छ। त्यसैले, हामी प्रत्येक व्यक्तिले आफ्नो जीवनशैलीमा स-साना तर असरदार परिवर्तनहरू ल्याएर वातावरण संरक्षणमा योगदान गर्न सक्नेछौँ । उदाहरणका लागि बारम्बार प्रयोग गर्न मिल्ने पानीको बोतल वा झोला बोक्ने, डिस्पोजेबल सामग्रीको सट्टा पुनः प्रयोग गर्न मिल्ने वस्तुहरूको प्रयोग गर्ने, र सार्वजनिक स्थानहरूमा फोहर नफाल्ने जस्ता कार्यहरूले पनि ठूलो सकारात्मक प्रभाव पार्न सक्छन् ।
त्यसैले हामीले आफ्नो नै बानी परिवर्तन गरेर जलवायु परिवर्तनको असर तथा त्यसबाट हुने हानिलाई न्यूनीकरण गर्न सक्दछौँ । साना-साना व्यवहारगत परिवर्तनहरू — जस्तै बिजुली बचत गर्ने, पानीको दुरुपयोग नगर्ने, स्थानीय उत्पादन र मौसमी तरकारी तथा फलफूलको उपभोग गर्ने, साइकल वा सार्वजनिक यातायातको प्रयोग गर्ने — जस्ता अभ्यासले पनि दीर्घकालीन रूपमा जलवायु सुधारमा ठुलो योगदान दिन सक्छ।
त्यस्तै विद्यालय तथा समुदायस्तरमा वातावरणीय शिक्षा तथा सचेतना कार्यक्रमहरू सञ्चालन गरेर नयाँ पुस्तालाई प्रकृति प्रतिको जिम्मेवारीबोध गराउन सकिन्छ । स्थानीय सरकार तथा सरोकारवाला निकायहरूसँग मिलेर वृक्षरोपण, स्वच्छता कार्यक्रम, र फोहर व्यवस्थापन प्रणालीलाई मजबुत बनाउन सकिन्छ।
टोलछिमेकमा रहेका खुला स्थानहरूमा सामूहिक रूपमा फलदायी तथा कार्बन संचित गर्न सक्ने प्रजातिका रुखहरू लगाउने कामले वातावरणलाई सकारात्मक ऊर्जा दिनेछ। बालबालिकालाई शुरु देखिनै यस्ता अभ्यासमा संलग्न गराउँदा दीर्घकालीन रूपमा हरित सोच विकास हुन्छ।
अन्ततः, जलवायु परिवर्तन जस्तो विश्वव्यापी चुनौतीसँग लड्न हामीले ठूला निर्णयकर्ताहरूको मात्र प्रतिक्षा गर्नु हुँदैन। बरु प्रत्येक व्यक्तिको सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वाससहित आजबाट नै हामीले आफूबाट थालनी किन नगर्ने ? (वनस्पति शास्त्र तथा ग्रामीण विकास शास्त्रमा स्नातकोत्तर काफ्ले स्वतन्त्र अनुसन्धानकर्ता हुन्)