पोखरा । पोखरामा ४० वर्षमुनिका छ जना युवालाई पुरस्कृत गरिएको छ । पोखरा महानगरपालिका नगर युवा परिषद्द्वारा आयोजित कार्यक्रममा नगरप्रमुख धनराज आचार्यले उनीहरूलाई पोखरा उत्कृष्ट युवा अवार्ड प्रदान गरेका हुन्।
सामाजिक तथा सरसफाई क्षेत्रका क्रियाशील सन्तोष पौडेल, विज्ञान तथा प्रविधितर्फ ब्ल्याक टेक प्रालिका प्रमुख कार्यकारी निर्देशक स्वदेश नेपाली, कला, साहित्य तथा नाट्य क्षेत्रमा पोखरा थिएटरका संस्थापक मोतीबहादुर कार्की (परिवर्तन), कृषि तथा उद्यमीतर्फ हरिलो ब्रान्डका उत्पादक रोशनी आचार्य, खेलकुद क्षेत्र तर्फ लन टेनिस खेलाडी प्रदीप खड्का र पत्रकारितातर्फ पत्रकार अमृत सुवेदी नगदसहित पुरस्कृत भएका छन् ।
उनीहरूलाई नगर प्रमुख आचार्यले जनही नगद ३० हजार रुपैयाँ नगद पुरस्कार, दोसल्ला र सम्मान पत्र प्रदान गरे ।
सामाजिक रूपमा थप जिम्मेवार र आफ्नो क्षेत्रमा अझ बढी योगदानको भोक जगाउन यो सम्मानले उत्साह प्रदान गर्ने नगरप्रमुख आचार्यले विश्वास व्यक्त गरे ।
पोखरामा रहेर निरन्तर आफ्नो कर्ममार्फत सकारात्मक र अनुकरणीय योगदान गर्ने जो कोहीको उचित मूल्याङ्कन हुने र यसको सामाजिक परीक्षण भइरहने उनले उल्लेख गरे ।
पोखरा महानगरपालिका युवा उद्यमशीलताको प्रवर्द्धन, नेतृत्व तथा व्यक्तित्व विकास र सामाजिक रूपमा युवाको सहभागिता सुनिश्चित गर्ने कार्यमा प्रतिबद्ध रहेको उनले बताए ।
गण्डकी विश्वविद्यालयका डीन डा. कपिल अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिस अनुसार छनोट भएका उनीहरूलाई सम्मानसहित पुरस्कृत गरिएको नगर युवा परिषद्का अध्यक्ष सन्तोष न्यौपानेले बताए ।