साहुसँग खाली चेक लिएर भरेका प्रमाण, पीडितसँग प्रहरी र अदालतको ठगी मुद्धाको कागज
नारायण वली,
प्रकाशित २०८२ असार १६ सोमबार
1.9k
Shares
लुम्बिनी । एकाइसौँ शताब्दीमा नेपाली नागरिक मिटर ब्याजको फन्दामा परेर घरबार गुमाउनु रहेको अवस्था र घरको सदस्य बेपत्तासमेत भएका घटना सुन्दा र पढ्दा सायदै पत्याउन मुस्किल हुन्छ ।
कुख्यात मिटर ब्याजको धन्दा चलाइरहेका व्यक्तिको फन्दामा परेका कतिपय व्यक्तिहरुले साँवाभन्दा बढी ब्याज तिर्दा पनि उम्कन नसकेका र कतिपयहरु ऋण नै नलिएको परिबन्दमा परेर मिटर ब्याजीको अनावश्यक मानसिक तनाब खेप्नु परेको पीडा पीडितहरुको छ ।
पैसाको गर्जो टार्न विशेषगरी गरिबहरुले ब्याजमा पैसा लगाउने धन्दा गर्नेहरुसँग प्रचलित दरभन्दा धेरै ब्याज तिर्ने कबोल गरेर पैसा लिन्छन् । यसरी ऋण लिनेमध्ये अधिकांश त गरिबमात्र होइन निरक्षरसमेत भएको पाइएको छ ।
केहीलाई ऋण दिने ऋणीबाट खाली चेक माग्ने र पछि आफैँ भरेर दिएको भन्दा कैयौँ गुणा बढी रकम हालेर प्रहरी र अदालतमा मुद्धा हाल्ने गरेको पाइएको छ । जसले गर्दा ऋण दिनेको नियत नै ऋणीहरुको सर्वस्व हरण लुट्ने मनसाय स्पष्ट देखिएको हो ।
यसरी चर्को ब्याजमा पैसा लगाउनुलाई गाउँघरतिर ‘चोके ब्याज’ पनि भन्ने गरिन्छ । नेपालको प्रचलित कानुनअनुसार यसरी पैसा सापटी दिएर चर्को ब्याजमा पैसा असुल्न पाइँदैन, यो दण्डनीय अपराध मानिन्छ । त्यसो त २०२१ सालमा भूमिसुधार लागू गर्दा चर्को ब्याज तिरेको भए ऋण तिर्न नपर्ने कानुनी व्यवस्था गरिएको थियो ।
नेपाली समाजको संरचना र शासनको मानसिकतामा खासै परिवर्तन नभएकाले अहिले पनि मिटर ब्याजीहरुको बिगबिगी कायमै छ । मिटरब्याजमा पैसा लगाउनेहरुले दलका नेता र प्रहरीसँगको पहुँच र प्रभाव देखाएर मिटर ब्याजको धन्दा चलाउँदै आएको उदाहरण छः कपिलवस्तुको कृष्णनगरमा ।
कृष्णनगर नगरपालिका–२ का अल्ताब हुसेन हलुवाई बेपत्ता भएको करिव अढाई महिना भयो । कृष्णनगरका मोहम्मद रहिस शेष नामका व्यक्तिबाट दुई वर्षअघि २ लाख ५० हजार ऋण लिएका उनले ऋण साहु रहिसले बैंकको खाली चेक मागेपछि आफ्नो भाइले सिद्धार्थ बैंकको खाली चेक दिएको बेपत्ता भएका हलुवाइका दाइ मधुसुदन हलुवाईले बताउँदै अहिले आफ्नो भाइलाई सो खाली चेकमा बीस लाख रुपैयाँ भरेर जिल्ला अदालत तौलिहवामा मुद्धा हालेको बताए ।
मधुसुदन भन्छन्, यही कारणले मेरो भाइलाई दुई महिनाअघि मिटर ब्याज साहुले पैसा माग्दै नदिए ज्यान मार्ने धम्की दिएपछि बेपत्ता भएको छ । खोजबिनको लागि इलाका प्रहरी कार्यालय कृष्णनगर र हुलाक मार्फत जिल्ला प्रहरी कार्यालय तौलिहवामा निवेदन दिए पनि सुनुवाइमा ढिला भएको छ ।
कृष्णनगर नगरपालिका-३ का अब्दुल रहेमानले एकबर्ष अघि कपडा पसलका लागि मिटर ब्याजी रहिससँग दुई लाख रुपैयाँ माग गरे, उनका अनुसार रहिसले आफ्नो नाममा रहेको बैंकको चेकमा मेरो नाम उल्लेख गर्दै दुई लाख रुपैयाँ भरेर चेक साट्न लगाई दुई लाखबाट सोही बखत रहिसले २६ हजार ब्याज कटाएर आफूलाई एक लाख ७४ हजार मात्रै दिए ।
ऋण लिएको प्रमाणको रुपमा रहिसले अब्दुलको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रहेको खाली एउटा चेक लगेर नौ लाख ५० हजार भरी जिल्ला अदालत तौलिहवामा मुद्धा हालेर पीडित बनाएको मिटर ब्याजी पीडित अब्दुलले बताए ।
सोही नगरपालिका वडा न-२ का अकवाल हुसेन हलुवाईको पनि पीडा उस्तै छ । उनी भन्छन्, 'मैले मेरो घर नजिकैको एकजना जुलका नामको भाइलाई एक लाख रुपैयाँ दिनुपर्ने थियो । उक्त पैसा दिनको लागि मैले मेरो सिद्धार्थ बैंकको चेकमा हस्ताक्षर गरेर बाँकी नाम र रकम नभरेरै दिएको थिएँ । त्यो भाइसँग मिटर ब्याजी रहिसले एक लाख रुपैयाँमा मेरो चेक किनेर पन्ध्र लाख रुपैयाँ आफैँ लेखेर जिल्ला अदालत तौलिहवामा मुद्धा दर्ता गरेपछि मलाई अदालतबाट फिराद पत्र आएपछि मात्रै थाहा भयो । जिल्ला अदालतले मविरुद्ध फैसला गरेपछि अहिले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुनरावेदन गरेको छु ।'
वडा नं २ का मुलमा मोहम्मदको पीडा झनै जटिल छ । मिटरव्याज ऋणको फन्दामा परेका उनले दश लाख २० हजार किस्ता किस्तामा दिएको बताउँदै ८ लाख रुपैयाँ ब्याज मात्रै बुझाएको बताए । मुलमाका अनुसार मासिक ८० हजार रुपैयाँ ब्याज बुझाउनु पर्थो । 'कृष्णनगरमा मेरो कस्मेटिक पसल थियो, सोही पसलको लागि ऋण ल्याएको थिए । मसँग त्यही मिटर ब्याज साहु रहिसले चार वटा चेक लगेका थिए । सबै पैसा तिर्दा पनि अझै पैसा बाँकी छ भनेर थप पसल बन्द भएपछि पनि तेह्र लाख रुपैयाँ एभरेष्ट आठ लाख र कुमारी बैंकबाट पाँच लाख रुपैयाँ गरी तेह्र लाख रुपैयाँ दिएको हुँ । यति पैसा दिएपछि तीन वटा चेक फिर्ता गरे तर एउटा चेक दिएनन् । पछि त्यही नदिएको चेकमा ३२ लाख रुपैयाँ आफैँ लेखेर अदालतमा मुद्धा हालेका छन् ।'
उनी भन्छन्, 'मुद्धालाई मिलाउन चार लाख रुपैयाँ देउ, म मुद्धा फिर्ता लिन्छु भनेर मलाई पटकपटक भन्दै आएका छन् । जबकि बत्तीस लाख रुपैयाँ दिएको हुँ भनेर मुद्धा हाल्ने मान्छेले चार लाख मागेर मुद्धा फिर्ता लिन्छु भन्नु उसैले आफ्नो झुट देखाइसकेको छ । हाम्रा कुरा प्रहरी प्रशासन, सीडीओ, अदालत कसैले सुन्दैन । हामी धेरै पीडामा छौं । सम्बन्धित निकायले चेकमा लेखिएको अक्षरको ल्याब जाँच गर्नुपर्यो, एउटै व्यक्तिबाट सयौँ नागरिक ठगिँदा मिटर ब्याजी रहिसको सम्पत्ति शुद्धीकरण गरी उसको आयस्रोत खोज्नु पर्यो ।'
विजयनगर गाउँपालिका-५ ढालपुर नयाँबस्तीकी चन्द्रा पासीले आफूले रहिससँग तीन लाख रुपैयाँ ऋण मागेका थिए । उनी भन्छन्, 'रहिसले पैसा दिनुभन्दा अगाडि मबाट तीन लाखको चेक काटेर लगेर पाँच तारिखको पैसा दिन्छु भनेर ६ महिना बितिसक्दासमेत पैसा नदिएर अहिले चेकलाई आधार बनाउँदै ऋण लगेको पैसा छिटो दिनुपर्यो होइन भने मुद्धा हाल्छु भनेर मानसिक तनाब दिँदै आएका छन्को ।'
उनने आफूहरुको वास्तविक कुरा न सुन्न जनप्रतिनिधि, न सीडीओ कार्यालय कसैले चासो नदेखाएको दुःखेसो पोखिन् । विजयनगर वडा-७ मोहम्मद सलिम पठान, वडा न-३ का मोहम्मद युसुफ दर्जी लगायत कृष्णनगरका करिव ५० जना भन्दा बढि मिटर ब्याजको पासोबाट मुक्ति पाउन सकेका छैनन् । कतिपयले ल्याएको ऋण तिरिसक्दा समेत छुटकरा पाउन मुस्किल गरेको छ भने कतिपय नागरिकहरु ल्याउँदै नल्याएको जालीझेली साहुको ऋणको अंकुशबाट अझै लाखौं रुपैयाँ बाँकी छ भन्दै धम्काइ खाइरहनु परेको पीडितहरुको भनाई छ ।
अप्ठ्यारोमा परेकाहरुलाई मिटर ब्याजमा रकम दिएर छोटो अवधिमै मोटो रकम असुल्ने, ऋणीको जायजेथा नै हडप्ने मिटर ब्याजीको प्रपञ्च मौलाउँदै गएको देखिन्छ । ऋणका कारण ज्यानमार्ने धम्कीले घरमूली बेपत्ता भएपछि परिवार बिचल्लीमा परेकोसमेत पाइएको छ । मुस्लिम समुदायकै व्यक्तिबाट अधिकांश मुस्लिम समुदायकै नागरिकहरु मिटर ब्याजको फन्दामा परेका छन् ।
रहिस र उनका छोरा प्रिन्स भन्ने अफताब शेषले चलाएको मिटर ब्याज धन्दा मुलुकी संहितामा संशोधन २०८० अनुसार गैरकानूनी छ । संहितामा जालसाजीद्धारा अधिक ब्याज लिने, कागजात फर्जी गर्ने, धम्की दिने वा ग्रास्ने व्यवहारमा ७ वर्षसम्म वा ७० हजार रुपैयाँसम्म जरिबाना अथवा दुवै दण्डको व्यवस्था छ । यतिमात्रै होइन, १ लाख रुपैयाँ भन्दा बढी लेनदेनको लिखत स्थानीय वडामा अनिवार्य दर्ता गरी दुवै पक्षका साक्षीको नाम तथा ठेगाना समेत उल्लेख गर्नुपर्ने स्पष्ट लेखिएको छ । यो प्रक्रिया पूरा नगरेकाले रहिसले चलाएको मिटर ब्याजलाई सहजै धन्दाको रुपमा लिन सकिन्छ ।
के भन्छन् मोहम्मद रहिस शेष ?
हाम्राकुरासँगको कुराकानीमा मिटर ब्याजको धन्दा चलाइरहेका भन्ने मोहम्मद रहिस शेषले शुरुमा आफू कतारमा १६ वर्ष बसेको र त्यहाँ बसेर दुई तीन करोड कमाइ गरेको बताए । तीन करोड कमाएर नेपाल पठाएको आधिकारिक बैंक स्टेटमेन्ट देखाउन सक्नुहुन्छ ? भन्ने प्रश्नमा पहिले सक्छु भनेका रहिस पछि पन्छिए ।
पीडित भएका भनिएका व्यक्तिहरुको बारेमा कसरी ऋण दिनुभएको हो ? भन्ने जिज्ञासामा मिटर ब्याजी रहिसले शुरुमा आफूले मिटर ब्याजमा पैसा नलगाउने गरेको बताउँदै पैसा लगेकाहरुले झुटो कुरा गरेको बताए ।
तपाईले प्रहरी र अदालतमा मुद्धा हाल्नु भएको छ नि ? ऋण लगाएको साँवाभन्दा बढी कसरी के प्रमाणका आधारमा मुद्धा हाल्नुभयो ? भनी प्रश्न गर्दा ऋणीसँग लगेको चेकलाई आधार मानेर मुद्धा हालेको बताए ।
ऋणीसँग खाली चेक लगेर आफैँ भर्नुभएको हो ? भनेर सोध्दा आफूले नभरी ऋणीहरुले नै भरेर दिने गरेको जवाफ दिएका रहिसलाई लिएको ऋणभन्दा दोब्बर पैसा कसरी साँवाको रुपमा चेकमा लेखेर दिन्छन् ? तपाईले कति ब्याजदरमा ऋण लगाउनुहुन्छ ? लगायतका प्रश्न गर्दा उनले आफूले ब्याज नलिएर ऋण लगाउने र कोहीसँग पनि ब्याज नलिएको दाबी गरे ।
ऋण लगाएको पैसाको ब्याज नलिने दाबी गरेका रहिसले भने पैसा लगानी गर्नुपूर्व वा लगानी गरेपछि खाली चेक ल्याएर आफैँ पैसा भरेर मुद्धा हाल्ने गरेको पीडितहरुको भनाई जस्तै ठोस जवाफ दिन सकेनन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) निरन्जन दत्त भट्टले प्रहरीमा एक सयमाथि निवेदन उजुरी परेको बताउँदै यीमध्ये कतिपय निवेदनमा मिलापत्र भएको, केही उजुरीमा प्रमाण नपुगेको र केही निवेदनमाथि बुझ्ने काम भइरहेको बताए ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलाई सम्पर्क गर्दा फोन उठेन भने कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहको फोन अफ भएका कारण सम्पर्क हुन सकेन ।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्माले एउटै व्यक्तिका बाउछोराले गर्दै आएको मिटर ब्याज धन्दालाई सामाजिक बहिस्कार गर्दै कानूनी कठघरामा ल्याउन जिल्लास्थित प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरेका छन् ।
उनले गरिबहरुको आवश्यक्तामाथि र झुटो खेल खेलेर फसाउने रणनीति सैह्य नहुने बताए ।
केही साना उद्योगी व्यवसायी पनि मिटर ब्याज चक्रब्यूँहमा परेको गुनासो उद्योग वाणिज्य संघमा आएकाले न्यायिक लडाइँमा कटिबद्ध भएर लाग्ने शर्माले बताए ।