काठमाडौँ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा तीन वर्षे युद्धमा रुसले ड्रोन र क्षेप्यास्त्रको व्यापक प्रयोग गरी गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्।
शुक्रबार भएको आक्रमणको निन्दा गर्दै जारी गरिएको विज्ञप्तिमा महासचिव गुटेर्रेसले भनेका छन्, “रुसी महासङ्घले गरेको ड्रोन र क्षेप्यास्त्र आक्रमणको पछिल्लो शृङ्खलाको राष्ट्रसङ्घ कडा शब्दमा निन्दा गर्दै तत्काल र बिनाशर्त पूर्ण युद्धविरामको लागि आह्वान गरिन्छ।”
घन्टौँ लामो रुसी बमबारीपछि देशभरबाट हजारौँ युक्रेनीहरूलाई आश्रयका लागि विदेश पलायन हुन बाध्य पारेको छ। किएभमा रहेका एएफपीका पत्रकारहरूले राजधानीमा ड्रोन आक्रमणको व्यापक आवाज सुनेको र युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले आक्रमणलाई रोक्न रातभरि सक्रिय रहेको बताए।
“महासचिव यो खतरनाक वृद्धि र नागरिक हताहतको बढ्दो संख्याबाट चिन्तित हुनुहुन्छ,” राष्ट्रसङ्घका प्रवक्ता स्टेफन दुजारिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उनले अन्तर्राष्ट्रिय कानुनअनुसार नागरिक र नागरिक संरचनामाथि आक्रमण गर्न निषेध गरिएको र यसलाई तत्काल रोक्नुपर्ने बताए।