रसुवा बाढीका प्रभावितको उद्धारमा सरकार सक्रिय: गृहमन्त्री लेखक
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
2.3k
Shares
काठमाडौं। गृहमन्त्री रमेश लेखकले हालैको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहत कार्यलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा उनले विपद्मा परेका नागरिकको उद्धार मात्र नभई संकटका बेला सरकार उनीहरूसँगै छ भन्ने आशाको सञ्चार गराउन सफल भएको दाबी गरे।
गृहमन्त्री लेखकले रसुवा बाढीमा फसेका ३० जनालाई हेलिकप्टरमार्फत सफलतापूर्वक उद्धार गरिएको जानकारी दिए। उनका अनुसार, नेपाल–चीन सीमा क्षेत्रबाट चार जना भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई पनि हेलिकप्टरको सहायताबाट समयमै उद्धार गरिएको थियो।
त्यस्तै, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका दुई जना प्रहरी र सात जना स्थानीयवासी गरी ९ जनाको स्थलगत उद्धार गरिएको छ। संयुक्त सुरक्षाकर्मीको टोलीले जोखिमपूर्ण स्थितिमा यो उद्धार कार्य सम्पन्न गरेको उनले बताए। गृहमन्त्री लेखकले रसुवागढी जलविद्युत् आयोजनाको ड्याम साइडमा फसेका एक चिनियाँ नागरिक, १५ जना नेपाली पुरुष र दुई जना महिला गरी १८ जनाको पनि स्थलगत उद्धार गरिएको जानकारी दिए।
"हालसम्म हवाई उद्धारबाट ३० जनाको सफलतापूर्वक उद्धार भएको छ," उनले भने, "विपद्मा फसेका नागरिकको उद्धार मात्रै होइन, विपद्मा परेका नागरिकलाई सरकार हाम्रो साथमा छ भन्ने आशाको सञ्चार समेत सरकारले गराएको छ।" रसुवा बाढीपछिको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ६८२ जना सुरक्षाकर्मी खटिएको पनि उनले बताए।