काठमाडौं। आज आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा र व्यास जयन्ती पर्व देशभर मनाइँदै छ। यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान प्रकट गरिन्छ।
'गु' को अर्थ अन्धकार र 'रु' को अर्थ प्रकाश हुन्छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकार नाश गराउने व्यक्तिलाई गुरु भनिन्छ।
हाम्रा शास्त्रहरूले गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेका छन्। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ:
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ः।
गुरु ः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम ः ।।
माता-पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ। गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्छन्।
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइँदै छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।
व्यासले पुराण र उपपुराणका माध्यमबाट मानवतावादी सन्देश दिएका छन्:
‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय, पापाय परपीडनम् ।।
अर्थात्, अरूको उपकार गरे धर्म हुन्छ, अरूलाई पीडा दिए पाप लाग्छ। पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन्। यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घसंस्थाले पनि गुरु पूर्णिमा पर्व मनाउने जनाइएको छ।