arrow

चिसोले निमोनियाको सिकार बन्दै भूकम्पपीडित

logo
आदित्य दाहाल,
प्रकाशित २०७३ माघ ९ आइतबार
earthquake-321.jpg.jpeg
मेलम्ची। सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित चिसोले कष्टकर जीवन विताउन बाध्य हुनका साथै निमोनियाको सिकार बन्दै गइरहेका छन्।  विनाशकारी भूकम्प गएको २१ महिना बितिसक्दासमेत जिल्लाका अधिकांश पीडित टहरो, टेन्ट तथा चिसो जमिनमा दिनरात बिताइरहेका छन्।
 
टहरोको चिसो तथा शीत चुहिने छिँडीमा रात कटाउन भूकम्पपीडित बाध्य छन् जसका कारण चिसोले लाग्ने निमोनियाजस्ता विभिन्न रोगको सिकार बन्न विवश छन्। चिसोका कारण टिनको छानाबाट शीत चुहिएर आफू सुतेको ओछ्यानसमेत भिज्ने गरेको भोटेचौर गाविसका स्थानीयवासी रुद्र केसीले बताए।
 
दुई जाडो टिनको छानोमै काटेका केसीले बर्खामा समेत राम्रोसँग निदाउन नपाएको गुनासो गरे। टहरोमा अत्यधिक चिसोका कारण सबैभन्दा बढी वृद्धवृद्धा, बालबच्चा तथा सुत्केरी बढी प्रभावित भएको उनले गुनासो गरे।  पहिलेको तुलनामा भूकम्पपछि जिल्लाभरि निमोनियाका बिरामी अस्पताल भर्ना हुनेको सङ्ख्या बढेको पाइन्छ। भूकम्पपीडित भने वासस्थान गुमेपछि चिसोका कारण निमोनिया भएको बताउँछन्।
 
मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका डा दीपा श्रेष्ठले दैनिक औसत ६० जना बिरामीमध्ये २० जनाभन्दा बढी बिरामी चिसोका कारण उत्पन्न हुने समस्या जस्तैः दम, रुघाखोकी र निमोनियालगायतका समस्या लिएर आउने गरेको बताए।  जागेश्वरी मेडिकल हल, मेलम्चीका डा वैद्यनाथ गुप्ता भन्नुहुन्छ – “भूकम्पअघि र पछि निमोनिया भएर उपचार गर्न आउनेको सङ्ख्यामा ठूलो अन्तर रहेको छ।”
 
गुप्ताका अनुसार भूकम्पपछि उपचार गर्न आउने दोब्बर छन् र दैनिक तीनजना भन्दा बढी उपचार गराउन आउँछन् भने प्राथमिक स्वास्थ्य केन्द्र र अन्य मेडिकलमा पनि उत्तिकै जाने गर्छन्। पुनःनिर्माणमा सरकार लचिलो भएर नलाग्दाको परिणामका कारण निमोनियाको सिकार हुनुपरेको पीडितले आरोप लगाएका छन्। चिसोको चपेटामा मध्यपहाडी भेगको तुलनामा हिमाली गाउँवासीलाई धेरै समस्या हुने गरेको छ। तातोपानीदेखि हेलम्बुसम्म लेकाली भेगका विस्थापित बासिन्दा जाडोको समस्याबाट ग्रसित छन्।
 
जिल्लाभर आवास पुनःनिर्माणका लागि पहिलो किस्ता वितरण भए पनि पुनःनिर्माणको कामले गति लिन सकेको छैन। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ