arrow

प्रतिनिधि सभामा लिङ्देनको प्रश्न - कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ? [भिडियो]

दुई ठूला दलले सत्ताको सिण्डिकेट बनाएर देश लुटिरहेका छन्,भिजिट भिसाको दुरुपयोगमा आन्दोलन जारी रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
lingden-30.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छ भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले प्रमुख दुई ठूला राजनीतिक दलहरूले सत्ताको सिण्डिकेट बनाएर देश लुटिरहेको गम्भीर आरोप समेत लगाएका छन्। 

अध्यक्ष लिङदेनले राजावादीहरूलाई तह लगाएको भन्दै जनतामा भ्रम छरेर लुट्ने काम भइरहेको आरोप लगाए। उनले संसदमा लामो समयदेखि दुई महत्त्वपूर्ण राजनीतिक दलहरूले विरोध गरिरहेका भए पनि सरकारले दुई तिहाइको शक्ति प्रदर्शन गरिरहेको टिप्पणी गरे। उनले भने, "राजावादी र गणतन्त्रविरोधीलाई तह लगायौं भनेर डंका पिटेर जनतालाई भ्रम छरेको के रहेछ, छट्टु स्यालको कथा पो रहेछ। चिल आयो, चिल आयो भन्ने अनि तल टिप्ने?"

लिङदेनले संसदमा डेढ महिनादेखि विरोध भइरहँदा पनि जबर्जस्ती बैठक चलाइएको भन्दै सभामुखले खेलेको भूमिकाप्रति आपत्ति जनाए। उनले यो समय सभामुखको कार्यकालकै कालो समयको रूपमा रहने टिप्पणी गरे। उनले भने, "जनताको ध्यान एकातिर लगेर दुई ठूला–ठूला पार्टीबीच सरकार बनाएर देश लुटेर बस्ने अनि जनताले टुलुटुलु हेरेर बसनुपर्ने? यो कुरा कदापि सह्य हुँदैन सभामुख महोदय। यसको प्रतिवाद हुन्छ। हामी संसदबाट विरोध गरिरहेका छौँ र आवश्यक पऱ्यो भने हामी सडकबाट पनि प्रतिवाद गरिन्छ।"

अध्यक्ष लिङदेनले भिजिट भिसाको दुरुपयोगका विषयमा पनि सरकारको आलोचना गरे। उनले भने, "दुई दलहरूले भिजिट भिसाको विरोधमा आवाज उठाइरहेका छौँ। यसको गलत व्याख्या नगरियोस्। भिजिट भिसामा जाने मानिसको विरोध गरिएको होइन। विदेश जाँदाखेरि मान्छे भिजिट भिसामै जाने हो। जसरी रकम असुली गरेर बेरोजगार युवाहरूको रोजगारी खोज्ने चाहनामाथि कमाउने सरकारको सुनियोजित धन्दाको हामीले विरोध गरेका हौँ।" उनले बेरोजगार युवाबाट रकम असुली गरेर भिजिट भिसाको दुरुपयोग गरेको विषयमा आफूहरूको आन्दोलन जारी रहने पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ