काठमाडौँ । भारतीय अन्तरिक्षयात्री शुभान्शु शुक्ला २० दिन अन्तरिक्षमा बसेर पृथ्वीमा फर्केका छन् । उनीसहित चार अन्तरिक्षयात्री २० दिन अन्तरिक्षमा बसेर पृथ्वीमा फर्किएका हुन् । लगभग २३ घण्टाको यात्रापछि उनीहरूको ड्र्यागन अन्तरिक्षयान मंगलबार दिउँसो नेपाली समयअनुसार ३ः१५ बजे क्यालिफोर्नियाको समुन्द्रमा अवतरण गरेको थियो ।
चारै जना अन्तरिक्षयात्री एक दिन अघि साँझ ५ बजे आईएसएसबाट पृथ्वीको लागि प्रस्थान गरेका थिए । सबै अन्तरिक्षयात्री जुन २६ मा नेपाली समयअनुसार अपरान्ह ४ः१६ बजे आईएसएस पुगेका थिए ।
तिनीहरू जुन २५ मा मध्यान्ह १२ बजेतिर एक्सियम मिसन ४ अन्तर्गत प्रस्थान गरेका थिए । यो स्पेसएक्सको फाल्कन–९ रकेटमा जोडिएको ड्र्यागन क्याप्सुलमा केनेडी स्पेस सेन्टरबाट उडेको थियो ।
४१ वर्षपछि शुभा्रशु अन्तरिक्षमा गए
अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र भारतीय एजेन्सी ईसरो बीचको सम्झौता अन्तर्गत भारतीय वायु सेनाका समूह क्याप्टेन शुभांशु शुक्लालाई यस अभियानको लागि छनोट गरिएको थियो ।
शुभांशु अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जाने पहिलो भारतीय र अन्तरिक्षमा जाने दोस्रो भारतीय हुन् । ४१ वर्ष पहिले राकेश शर्माले सन् १९८४ मा सोभियत संघको अन्तरिक्षयानमा अन्तरिक्ष यात्रा गरेका थिए।
शुभांशुको यो अनुभव भारतको गगनयान अभियानमा उपयोगी हुनेछ। यो भारतको पहिलो मानव अन्तरिक्ष अभियान हो, जसको उद्देश्य भारतीय अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीको तल्लो कक्षमा पठाउनु र सुरक्षित रूपमा फिर्ता ल्याउनु हो ।
यो २०२७ मा प्रक्षेपण हुने सम्भावना छ। भारतमा अन्तरिक्ष यात्रीहरूलाई गगनयात्री भनिन्छ। त्यस्तै रूसमा यसलाई अन्तरिक्ष यात्री भनिन्छ र चीनमा यसलाई ताइकोनौट भनिन्छ।