arrow

नेपाली क्रिकेटको विकास: कर छुटको व्यवस्था गरे कसो होला ?

logo
गौरव पोखरेल,
प्रकाशित २०७३ माघ ९ आइतबार
Sompal_Article_Cricket.jpeg
काठमाडौं। पछिल्लो दशकमा नेपालको परिवेश हेर्ने हो भने राजनीति पछि सबैभन्दा चर्चामा रहेको क्षेत्र बनेको छ क्रिकेट। चाहे नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको सफलताबाट होस् या त नेपाल क्रिकेट स‌ंघ (क्यान)को विवादको कारणले नै किन नहोस्,  नेपाली क्रिकेटको चर्चा यत्रतत्र सर्वत्र हुने गरेको छ। 
 
क्रिकेटको इतिहास नियाल्दा नेपालले सफलताको पहिलो ठुलो खुड्किलो टि-२० विश्वकपमा पाएको सफलताबाट टेकेको थियो । त्यतिबेला नै नेपाली क्रिकेटले नेपालको पहिचान बन्न सक्ने संभावनाको ढोका समेत खोलेको थियो। तर, पछिल्लो समय क्रिकेट स‌ंघको विवादका कारण भने यो क्षेत्रमा समेत बिस्तारै सम्भावनाको ढोका बन्द हुने चिन्ता बढ्न थालेको छ। अहिले नेपाली राष्ट्रिय टोलीको कुनै पनि प्रतियोगिता अघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले रेखदेख वा छनौट गर्ने गरेको छ। यस्तो कार्यले नेपाली क्रिकेटलाई लामो समय जोगाउन नसक्ने निश्चित छ। 
 
अहिले क्यानको विवाद सकिएला अनि यो क्षेत्रमा समेत नयाँ आशाका किरणहरु पलाउलान् भनेर कुरेर बसेका नेपाली क्रिकेटप्रेमीहरुलाई सधै‌ निराशा बाहेक अरु केही हात पर्नसकेको छैन र छिट्टै अपेक्षित उपलब्धिको लक्षण पनि देखिएको छैन। हामीकहाँ कुनै पनि विधाले प्रगति गर्ने लक्षण देखाउने वित्तिकै राजनीतिक दलहरु त्यसै तर्फ आकर्षित भैहाल्छन् । त्यसपछि त उनीहरुले त्यसभित्र के गर्छन् र के हुन्छ लेखिरहनु पर्दैन्। यसमा हामी सबै जानकार नै छौं। 
 
राम्रो नियतले राजनीति प्रवेश गरे कुनै पनि क्षेत्रले प्रगति गर्न खासै गाह्रो हुँदैन होला। नेपाली क्रिकेटले जहिल्यै अन्तर्राष्ट्रीय सफलता हात पार्दा हाम्रा नेताहरु सबैले क्रिकेटको विकास गर्नुपर्छ भनेर थाक्दैनन्। तर भनाई एकातिर छ भने गराईमा माखो नमार्ने प्रवृत्ति देखिएको छ। 
 
के गर्न सकिन्छ होला? 
नेपाली क्रिकेटको विकासकालागि धेरै अवधारणाहरु अगाडि सारिएका छन्। सबै भन्दा धेरै दोहोरिने शब्द भनेको  ‘पुर्वाधार’ रहेको छ। पुर्वाधारको कुरा आउँदा सुविधा सम्पन्न क्रिकेट स्टेडियमको कुरा सबैभन्दा बढी हुने गरेको छ। त्यसलगायत अरु भौतिक सुविधाका कुराहरु पनि आउने गरेका छन्। 
 
क्रिकेट खेल्नकालागि सबैभन्दा बलियो पुर्वाधार भनेको क्रिकेट खेल्न जान्ने वा क्रिकेट मनपराउने मानव संशाधनको कुराहरु खासै चर्चा गरिँदैन। हुनत: भनिएला राम्रो स्टेडियम, नियमित प्रतियोगिता हुन थाले राम्रा खेलाडीहरुले मौका पाउनेछन्। तर एउटा खेलको व्यवसायिक विकास गर्नकालागि विद्यार्थी एवं किशोर-किशोरीहरुलार्इ जति आकर्षित गर्न सकियो त्यती नै द्रुतगतिमा उक्त खेलले प्रगतिको बाटो समात्छ।  त्यसैले किशोर-किशोरीहरुलाई आकर्षित गर्ने सके र खेल्ने मौका दिनसके नेपाली क्रिकेटलाई अगाडि बढ्नकालागि कसैले रोक्न सक्दैन। 
 
कसरी गर्ने ?
नेपाली क्रिकेटले जहिल्यै सफलता पाउँदा नेपाल सरकारको नेतृत्व विभिन्न राजनीतिक दलले गरेका छन्। सबैले तारिफ र यसको विकासकालागि ठोस कदम चाल्ने पनि भनेका थिए तर नतिजा दिलाउन महत्वपूर्ण भूमिका खेल्ने क्यान नै मुर्छित अवस्थामा छ। 
 
नेपालका सबै दलहरु क्रिकेट विकासप्रति प्रतिबद्ध छन् भने सरकारले आफ्नो क्रिकेट नीतिमा आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ। अझ खासगरी कर नीतिमा विशेष व्यवस्था गरे केही राम्रो हुनसक्छ। 
 
क्रिकेटमा लगानी गर्ने व्यवसायीलाई कर छुटको व्यवस्था गर्न सके धेरै व्यवसायीहरु क्रिकेटमा लगानी गर्न प्रोत्साहित हुने थिए। अहिलेको आयकर ऐनले पनि नेपाल सरकारलाई नीतिगत निर्णय गरेर कर छुट दिनसक्ने व्यवस्था गरेको छ। 
 
एकछिनलाई मानौं दार्चुलाको एक व्यवसायीले कुनै क्लबलाई वा स्कुललाई क्रिकेटका सामागीहरु उपलब्ध गराउँछ भने उल्ले उक्त सामाग्रीहरुको मुल्यमा कर छुट पाउनेछ वा कुनै व्यवसायीले क्रिकेट प्रतियोगितामा प्रायोजन गर्छ वा क्रिकेट खेलाडीलाई विज्ञापनमा खेलाउँछ भनेपनि कर छुट पाउने व्यवस्था भए व्यवसायीहरु आफैं यसको विकासमा अघि सर्ने वातावरण बन्ने थियो। 
 
साना व्यवसायीले सानो तथा ठूला व्यवसायीले ठुला लगानी गर्न थाले भने क्रिकेट रोकिने थिएन । जति धेरै क्रिकेट उती धेरै खेलाडीहरुको जन्म हुने थियो। देशभर क्रिकेट भैरहनु भनेको क्रिकेटमा प्रतिस्पर्धा बढ्नु हो र प्रतिस्पर्धाबाट खारिएर आएका खेलाडीहरुले नै हो राम्रो खेल्ने। 
 
सुविधाको दुरुपयोग !
कर सुविधाको दुरुपयोग हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको हुँदा सरकारले व्यवसायीहरुसँग छलफल गरेर कार्ययोजना बनाउने र अनुगमनको कार्य समेत राम्रोसँग गर्नसके कर छुटले नेपाली क्रिकेटलाई फाईदा गर्ने निश्चित छ। चुहावट हुन्छ वा चोरी हुन्छ भन्ने डरले कुनै नयाँ कार्य अगाडि नबढाउने भन्ने हुँदैन। कुनै पनि नयाँ कार्य शुरु गरेपछि त्यसमा आउने समस्याहरुको समाधान पनि निस्किँदै जानेछ। 
 
क्रिकेटमा कर छुटको योजना ल्याएर सकारात्मक प्रगति देखिएको खण्डमा त्यही कार्य फुटबल लगायत अरु खेलहरुमा पनि लागुगर्न सकिन्छ। नेपाली राष्ट्रिय क्रिकेटको स्वरुप बिना कुनै हस्तक्षेप समावेशी रहेको छ। नेपालमा पछिल्लो समयमा भैरहेको राष्ट्रिय एकताको बहसलाई मुर्त रुप दिन क्रिकेट सक्षम हुनसक्छ। त्यसैले पनि क्रिकेटमा सरकारले सीधा लगानी भन्दा करछुटको लगानीले क्रिकेट लाभान्वित हुनसक्छ। यसो गरे कसो होला ?
 
 
 
सम्बन्धित:
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ