डा कपिलमणि केसीले बुटवलकै मर्सिसिटीमा गरे जटिल हिप जोर्नी प्रत्यारोपण
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
8.4k
Shares
बुटवल । आज भन्दा १५ /२० वर्ष अगाडिसम्म पनि जोर्नी प्रत्यारोपण सर्जरी फाट्टफुट्ट मात्र हुने हुन्थ्यो । त्यो पनि राजधाका सीमित अस्पतालहरुमा मात्र ।
विभिन्न अनुसन्धानहरुले देखाए अनुसार जोर्नी प्रत्यारोपण अपरेशन एउटा सफल अपरेशनहरूमध्ये एकमा पर्दछ । यद्यपि धेरै जना बिरामीहरु जोर्नी प्रत्यारोपणले सफलता दिन्छ भन्ने बारेमा संका ब्यक्त गर्दछन् ।
जो बिरामीहरुलाई जोर्नी प्रत्यारोपण निकै नै आवश्यक छ, त्यस्ता बिरामीहरु पनि यो अपरेशन गर्न हिच्किचाउँछन् । आजको दिनसम्म आउँदा यो अपरेशन १५ वर्ष पहिला भन्दा निकै धेरै संख्यामा र पहिला भन्दा धेरै अस्पतालहरूमा हुने गरेको पाइन्छ।
अहिले पनि जोर्नी प्रत्यारोपण सर्जरी राजधानीकै ठूला अस्पतालहरुमा केन्द्रित छ किनभने यसको लागि विभिन्न विषयहरूका विशेषज्ञ चिकित्सकहरुको टिम आवस्यक पर्दछ । राजधानी बाहिरका सहरहरुमा पनि यो सेवा विस्तार हुँदै गएको छ ।
हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञको रुपमा मर्सिसिटी अस्पताल बुटवलमा कार्यरत डा कपिलमणि केसीले विगत दुई वर्षदेखि यस अस्पतालमा जोर्नी प्रत्यारोपण सर्जरी गरिरहेका छन् ।
खासै धेरै संख्यामा जोर्नी प्रत्यारोपण सर्जरी नभए पनि यो अपरेशन गरेका बिरामीहरुको राम्रो नतिजा भएको डा के सी बताउँछन् ।
डा केसीको नेतृत्वमा हालै मर्सिसिटी अस्पतालमा एउटा कम्प्लेक्स खालको हिप जोर्नी प्रत्यारोपण गरिएको छ । जसमा हिप जोर्नीको एउटा भाग (एसिटाबुलम) मा हड्डी राखेर जोर्नी प्रत्यारोपण गरिएको हो ।
उक्त अपरेशनमा एनेस्थेसिया र क्रिटिकल केयरको विभाग डा समिर आचार्यले सम्हालेका थिए भने फिजिसियनको जिम्मेवारी डा प्रविन शाहीले लिएका थिए । त्यसैगरी सर्जरी विभागमा डा कपिलमणि केसीलाई डा निशान्त बाँस्कोटाले सघाएका थिए ।
राजधानी बाहिर यति ठूलो अपरेशन गर्नको लागि एउटा ठूलो टिमको साथसाथै जोर्नी प्रत्यारोपण अपरेशनमा राम्रो दक्षता र साहसको पनि जरुरत पर्दछ ।
डा केसीले बेलायतबाट एफआरसी एस र अमेरिकाबाट एफएसीएसको उपाधि पाउनुको साथसाथै पेकिङ युनिभर्सिटी चीनबाट जोर्नी प्रत्यारोपणमा फेलोशिप ट्रेनिङ गरेका थिए ।
यसका साथै उनीसँग निजामती कर्मचारी अस्पतालमा दश वर्षसम्म काम गर्दा एक हजार भन्दा बढी जोर्नी प्रत्यारोपण अपरेशनमा सहभागी भएको अनुभव छ ।
डा केसीले जोर्नी प्रत्यारोपण सेवा काठमाडौँमा पनि उनको टिमका सदस्य डा दीर्घराज आरसीसँग मिलेर गरिरहेको बताउँछन् ।
राजधानी बाहिर पनि यो सेवा शुरू हुँदै गर्दा बिरामीहरुलाई काठमाडौँ आउन नपर्ने र आफ्नै क्षेत्रमा रहेर पनि यो सेवा लिन सकिने विश्वास दिलाइरहेका छन् । (अमेरिकाबाट एफएसीएस तथा बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन डा केसी देवदह मेडिकल कलेजका सहप्राध्यापक हुन्, उनी बुटवलस्थित मर्सी सिटी अस्पतालमा आवद्ध छन् । उनी हाम्राकुराका स्तम्भकार हुन्)