बुटवलको चौराहा-गोलपार्क सडक विस्तार: दलहरूलाई जस लिने होड, ठेकेदारलाई 'सब वेश' को सकस
नारायण वली,
प्रकाशित २०८२ साउन ६ मंगलबार
1k
Shares
लुम्बिनी । बुटवलस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चौराहादेखि सिद्धार्थ राजमार्गमा पर्ने गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक विस्तारको काम ९ वर्षअघि सुरु भए पनि अझै सम्पन्न हुन सकेको छैन। यसमा दलका कार्यकर्ताहरूले जस लिने होडबाजी गरिरहेका छन् भने ठेकेदारले निर्माणका लागि आवश्यक 'सब वेश' पाउन नसक्दा काममा थप ढिलाइ भएको छ।
२०७३ चैत १३ गते (९ वर्षअघि) २०७६ सालसम्म विस्तार सक्नेगरी द कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार ४ सय ६७ रुपैयाँमा ठेक्का दिइएको थियो। तर, सुरुमा सडक क्षेत्राधिकारभित्र पर्ने घर भत्काउन सुरु गर्दा घरधनीले अदालतमा मुद्दा हालेर अवरोध गरे।
ठेकेदारको लापरबाही र नयाँ ठेक्का
अन्तर्राष्ट्रियस्तरको अस्फाल्ट प्रविधिबाट पिच गर्ने योजनासहित ठेक्का लगाइएको सडक विस्तार कोरोना महामारीले मात्रै प्रभावित भएन, निर्माण कम्पनीकै लापरबाहीका कारण पटक पटक म्याद थप गरियो र समय लम्ब्याइयो। समयावधि थपिएको हिसाब गर्दा पनि जेभीले नाली खन्ने र केही घर भत्काउने काम मात्रै गरेर गुमनाम भयो, प्रगति शून्य रह्यो। अधकल्चो सडक हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे भएपछि राजमार्गका घरधनी र व्यवसायीहरू प्रताडित बने, पैदलयात्रीले सास्ती खेपे र यातायात व्यवसायीले दुर्घटनाको जोखिमसँगै सवारी बिग्रिने समस्याको हैरानी बेहोर्नुपर्यो।
८ वर्षमा पनि सम्पन्न नभएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडेर गत वर्ष असोजमा बाबुल दर्शन मालिका जेभी भैरहवालाई २०८१ असोज १८ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी ३३ करोड रुपैयाँमा ठेक्का दिएको छ।
काममा तीव्रता र ठेकेदारको चुनौती
अहिले सर्भिस लेनको कालोपत्रे गर्ने काम धमाधम सुरु भएको छ। राजमार्ग चौराहादेखि हस्पिटल लाइनको भुट्कीचोकसम्म पूर्वी सर्भिस लेनको कालोपत्रेको काम सकिएको छ भने पश्चिम तर्फ नयाँ बसपार्कसम्म पुगेको छ।
गत असोजमा एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा अहिले निर्माण कार्यले तीव्रता पाएको छ। दुवै लेनको कुल दूरी ६ किलोमिटरमध्ये ३.८ किलोमिटर कालोपत्रे भइसकेको छ। पुष्पलाल पार्क र ट्राफिक चोकको पूर्वतिर छोडेर नाली बनाउने ९६ प्रतिशत काम सम्पन्न भएको छ भने खन्ने र सब वेश हाल्ने काम जारी छ।
बाबुल दर्शन मालिका जेभीका प्रोजेक्ट इन्जिनियर प्रवीण मिश्रले भने, "यो नौ महिनाको अवधिमा निर्माण कार्यले जति फट्को मार्नुपर्ने थियो, त्यति अगाडि बढ्न सकिन। हामीले लिएको लक्ष्य अनुसार काम गर्न कोसिस गर्दा पनि सकेनौं, यसमा सम्बन्धित निकाय र सरोकारवालाको साथ पाइएन। चैत महिनामा हामीले सर्भिस लेनको कालोपत्रे सक्ने थियौं, जतिबेला सब वेश पाएनौं।" उनले बुटवल उपमहानगरसँग समन्वयका लागि धेरै बिन्ती गर्दा पनि एक ट्यांकर पानीसमेत सहयोग नभएको गुनासो गरे। स्थानीय तिनाउ नदीबाट नदीजन्य पदार्थको निकासीका लागि ठेक्का हालेर लिने भन्दा पनि कुनै वास्ता नगरिएको र सब वेशका लागि छिमेकी दुई जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र कपिलवस्तुसम्म खोज्नुपरेको बताए। "थोरै पाएको महंगो ल्याएर केही काम गर्यौँ, पर्याप्त नपाएपछि केही समय काम रोक्न बाध्य भयौं," मिश्रले थपे।
इन्जिनियर मिश्रले आफूहरूले तोकिएकै समयमा सक्ने गरी जनशक्ति र प्रविधि लगाएर दिनरात काम गरिरहेको बताए। उनले वित्तीय प्रगति ३६ प्रतिशत र भौतिक प्रगति ४० प्रतिशत सकिसकेको जानकारी दिँदै असोज १७ गते (७४ दिन) म्याद सकिने मितिभित्र निर्माणकार्य सक्नेगरी कामलाई तीव्रता दिएको बताए। उनले पछि थपिएको डिजाइनले ढिलाइ हुने देखिएको र आफ्नो तर्फबाट कुनै कमिकमजोरी नभएको दाबी गरे। एक किलोमिटरमा टायलसमेत लगाउने काम भइसकेको पनि उनले जानकारी दिए।
सडक डिभिजन कार्यालयको धारणा र डिजाइनको समस्या
सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले निर्माण कम्पनीले उत्साहपूर्ण तरिकाले निर्माणलाई गति दिएको बताए। उनले तोकिएको समयमै सक्नेगरी निर्माणमा जुटेको बताउँदै सडक विभागबाट थप गरिएको डिजाइनको भिओ भेरिएसन हुन कतै ढिलाइ भएर एक पटक म्याद थप्नुपर्ने बाध्यता आउने होकी भन्ने डर पैदा भएको बताए। त्यो काम छिट्टै भएमा उक्त कार्यलाई पनि सुरु गर्ने बताए।
निर्माण कम्पनीका अनुसार, सुरुमा बनाइएको सडक विस्तारको डिजाइन पछिल्लो समय फेरबदल भएकाले निर्धारित समयमा ठेक्का सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ढिलाइ हुनेछ। पुरानो डिजाइन अनुसार हुन्थ्यो भने निर्माण समयमै सकिन्थ्यो, तर पछि फुटपाथ, रेलिङ र सडक बत्ती थपिएकाले त्यसको डिजाइन अझै भिओ एप्रुभ नभएकोले तोकिएको मितिभन्दा थप एक महिनापछि मात्रै निर्माण कार्य सकिने निर्माण कम्पनीको भनाइ छ।
राजनीतिकरण र जस लिने होडबाजी
ठेक्का प्रकरणदेखि नै राजनीतिक रङ्ग देखिएको यो सडक विस्तारमा अहिले झन् बढ्दै गएको देखिन्छ। ठेकेदारको चरम लापरबाही, घरधनीहरूको रोकावट लगायत विषयमा खुलेर बोल्न नसकेका दलहरू पछिल्लो समय निर्माण कम्पनीले विस्तार कार्यलाई निरन्तरता दिँदै गएपछि यतिबेला कालोपत्रे हुँदै गरेको सडकमा पुगेर 'हाम्रा योजना र हामीले गर्दा भएको हो' भन्ने 'फेसबुके अलोकप्रियताको होड' मात्रै होइन, वर्तमान सत्ता गठबन्धनका दुई ठूला पार्टीका स्थानीय नेता कार्यकर्ताले फोटो प्रदर्शन गर्दै राजनीतिक अनुगमनसमेत गर्न भ्याएका छन्।